समाज

निजीमा रेबिज बिरुद्धको खोप लाउने तीनको मृत्यु

दोलखाको मेलुङ गाउँपालिकाका तीनजनाको रेबिजका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा मेलुङ गाउँपालिका–६ का ८ वर्षीय बालक कुशल नेपाली, ५ का १५ वर्षीय सुरज विक र ६ का ३२ वर्षीय रामचन्द्र भण्डारी छन्। उनीसहित १० जनालाई गत असार २६ गते एकै दिन कुकुरले टोकेको थियो। निजी मेडिकलबाट गलत समय र तरिकाले खोप लगाउँदा मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान छ।  

शाखाका अनुसार मृतक आठ वर्षीय बालक कुशलको साउन २३, सुरज विकको भदौ २ मा काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको थियो। त्यसैगरी रामचद्र भण्डारीको भदौ १० गते पाटन अस्पतालमा मृत्यु भएको हो। एउटै गाउँपालिकामा पालैसित मृत्यु भएपछि स्वास्थ्य शाखाले घटनाबारे खोजी गरेको थियो। मृतक भण्डारीले चारवटा र नेपालीले दुईवटा मात्र खोप लगाएका थिए।  

घटना विवरणअनुसार १० जनामध्ये मृतक सुरज विकले रेबिजविरुद्धको खोप लिएका थिएनन् र बाँकी नौजनाले वडा ८ का सदस्य कृष्णकुमार कार्कीले सञ्चालन गरेको निजी मेडिकलबाट खोप लगाएका थिए। विक र नेपालीको मृत्यु हुने बेलासम्म घटनाले गम्भीर रूप लिएको थिएन। भदौ ८ मा काठमाडौं पुगेका भण्डारीको स्वास्थ्य अवस्था गम्भीर भएर अस्पताल भर्ना भए। पाटन अस्पतालमा भर्ना गरेलगत्तै भदौ १० मा उनको मृत्यु भएपछि घटनाबारे विस्तृत खोजी भएको शाखाले जनाएको छ।  

सोही मेडिकलबाट खोप लिनेमा वडा ६ का ६२ वर्षीय जनार्दन पोखरेल, ४७ वर्षीय रेलिमाया तामाङ, मैया तामाङ, ५० वर्षीय भीमबहादुर श्रेष्ठ, १० वर्षीय बालिका कृतिका श्रेष्ठ र ६७ वर्षीय तुलमाया श्रेष्ठ छन्। उनीहरू सबैले पाँचवटा खोप लिनुपर्नेमा चारवटा मात्र सोही मेडिकलबाट लगाएका छन्। उनीहरूमध्ये १० वर्षीय बालिकालाई मेडिकलले भदौ १८ गते पाँचौं खोपका लागि बोलाएको उनका हजुरबा मानवबहादुर श्रेष्ठले बताए। खोप लगाउने अवधिभन्दा परको समयमा खोप लगाउन बोलाएको त्रुटि देखिएको शाखाका प्रमुख चापागार्इं बताउँछन्।  

मेडिकल सञ्चालक कार्कीलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयले बुधबार नै पक्राउ गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले बिहिवार स्वास्थ्य टोली खोप लिएर घटनास्थल गएको जनाएको छ। महाशाखाको जुनसोसिस शाखाका प्रमुख उत्तम ओझाले घटनामा त्रुटि भए÷नभएको घटनास्थल अध्ययनबाट मात्र भन्न सकिने बताए। शुक्रराज सरुवा रोग अस्पतालका अनुसन्धान विभागका संयोजक डा. शेरबहादुर पुनका अनुसार पाटन अस्पतालमा भण्डारीको मृत्युपछि अन्यले पनि सम्पर्क गरेका थिए। अध्ययनबिना केही भन्न नसकिने डा. पुनले बताए।

प्रकाशित: १२ भाद्र २०७७ ०१:५५ शुक्रबार

रेबिज बिरुद्धको खोप