समाज

बुटवलमा प्लाज्मा थेरापी गरिएकी महिलाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत एक जना महिलाको आज मृत्यु भएको छ। तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० बर्षे बृद्धाको आज बिहान १० बजेपछि उपचारकै क्रममा मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिए।  

साउन २६ गते कोरोना पुष्टि भएपछि घरमै आइसोलेसनमा राखीएकी ती महिलालाइ स्वास्थ्य समस्या देखिएपछि साउन ३१ गते अस्पताल लगीएको थियो। डा थापाका अनुसार स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि  ६ गतेदेखि भेन्टिलेरको सहायतामा उनको उपचार भइरहेको थियो। ती महिलालाइ थाइराइडको समेत समस्या रहेको डा थापाले बताए।  बुटवलकी एक महिलाको मृत्यु संस्कारमा सहभागी हुने क्रममा घोत लिएर गएकी ती बृद्धालाइ त्यहीबाट संक्रमण सरेको स्वास्थ्यकर्मीहरुले बताएका छन्।  

ती महिलालाइ भदौ ८ गते प्लाज्मा थेरापीबाट उपचार गरीएको थियो। त्यसकालागि प्रादेशिक अस्पतालकै एक जना चिकित्सकले रगत दिएका थिए। ती चिकित्सक यसअघि नै कोरोना संक्रमणबाट मुक्त भएका थिए। प्लाज्मा दिएपछि स्वास्थ्यमा सुधार आएको भनिएकी ती महिलाको  बुधबार साँझदेखि स्वास्थ्य अबस्था बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।  

यो अस्पतालमा गएराती कपिलबस्तुका एक पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको छ। अस्पतालमा हालसम्म ७ जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ। जसमा ३ जना रुपन्देहीका, ३ जना कपिलबस्तुका र एक जना प्युठानका छन। यो अस्पतालमा गम्भिर अबस्थाका १५ जना संक्रमितको सघन उपचार कक्षमा उपचार भइरहेको छ भने ३ जनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

 

 

प्रकाशित: ११ भाद्र २०७७ ०७:११ बिहीबार

कोरोना भाइरस