समाज

क्यानडा पठाइदिन्छु भन्दै २१ लाख ठगेको आरोपमा काठमाडौंमा ३ जना पक्राउ

प्रतिकात्मक तस्बिर

क्यानडा पठाइदिने भनी २१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ ।  

महानगरीय अपराध महाशाखाको टोलीले सुर्खेतका २९ वर्षीय ध्रुव थापा, २४ वर्षीय सन्ध्या थापा र सुनसरीका ४६ वर्षीय राजेन्द्रकुमार श्रेष्ठलाई बुधबार दिउँसो धापासीबाट पक्राउ गरेको हो ।  

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले मोरङ शनिश्चरे घर भई कपन सरस्वतीनगर बस्ने नारायण खड्कालाई क्यानडा पठाइदिन्छु भनी २१ लाख ठगी गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए ।  

प्रारम्भिक रूपमा खड्कासँग २१ लाख ठगे पनि उनीहरूले अरू पनि धेरै व्यक्तिलाई ठगेको हुन सक्ने प्रहरीको आशंका छ ।  

पक्राउ परेका तीनै जनालाई अनुसन्धान तथा कार्बाहीका लागि बुधबारै महानगरीय प्रहरी परिसर (टेकु) पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित: १० भाद्र २०७७ १३:५९ बुधबार

ठगी पक्राउ