समाज

एक हप्ता बढाउन प्रस्ताव

काठमाडौंमा निषेधाज्ञाको छैटौं दिन

उपत्यकाका तीनै जिल्लामा अर्को एक सातासम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते रातिसम्म लम्ब्याउन सिफारिस गरेको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको गृह मन्त्रालयमा बसेको बैठकले भदौ १७ सम्म थप गर्ने प्रस्ताव गरेको हो । तर मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरिसकेको छैन ।  

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित काठमाडांै उपत्यकाका मेयरहरूले निषेधाज्ञा कडा गर्दै एक साता लम्ब्याउन सिफारिस गरेका थिए । मंगलबार दिउँसोको बैठकले गरेको यो सिफारिसलाई तीनै जिल्लाका सुरक्षा समितिले पनि अनुमोदन गरिसकेका छन् । प्रमुख जिल्ला अधिकारीको अध्यक्षता रहने डिसिसिएमसीमा जनप्रतिनिधि पनि रहेका हुन्छन् । यसअघि भदौ ३ गतेदेखि १० गते मध्यरातिसम्म तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । सुरक्षा अधिकारीहरूले अहिलेको निषेधाज्ञा प्रभावकारी रहेको र जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी पनि भइरहेकाले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । बैठकमा काठमाडौंभित्र अझै फैलिनसक्ने र पिसिआर परीक्षणका दायरा नपुगेको तथा फ्रन्टलाइनमा बसेर काम गर्ने सुरक्षा निकायका कर्मचारी र स्वास्थ्यकर्मीलाई अझ जोगाउनुपर्ने आवश्यकता रहेको जोड दिइएको थियो ।

प्रकाशित: १० भाद्र २०७७ ०२:१० बुधबार

निषेधाज्ञा