समाज

कर्णालीका सात जिल्लामा निषेधाज्ञा

नगेन्द्र उपाध्याय/गणेश बिशु

विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण समुदायस्तरमा फैलिन थालेपछि कर्णालीका सात जिल्लामा निषेधाज्ञा गरिएको छ। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट र रुकुम पश्चिममा निषेधाज्ञा गरिएको हो।

निषेधाज्ञाले कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण बढ्दै गएको छ भने कोरोना परीक्षणको दायरा खुम्चँदै गएको छ। जाजरकोटको भेरी नगरपालिकाका वडा नम्बर ३ र ४ मा सोमबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ। आइतबार जिल्ला सदरमुकाम खलंगामा १९ जनालाई कोरोना संक्रमणको पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी विष्णु साहनीले जानकारी दिए। उनका अनुसार जाजरकोटका ७२ वटा आइसोलेसन निर्माण गरिएको छ। तर जाजरकोटमा गम्भीरखालका कोरोना संक्रमित व्यक्तिको उपचार गर्न भेन्टिलेटर निर्माण गरिएको छैन। भेन्टिलेटर निर्माण कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। हालसम्म जाजरकोटमा ४८ जना कोरोना संक्रमित छन्।

जुम्लाका हिमा गाउँपालिका र चन्दननाथ नगरपालिकामा साउन ३२ गते रातिदेखि अर्काे निर्णय नहुँदासम्मका लागि सिल गरिएको छ। अन्य क्षेत्रमा आवश्यकताअनुसार निषेधाज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय २० वेडको आइसोलेसन निर्माण गरिएको छ भने यहाँका प्रत्येक पालिकामा ५० वेडको आइसोलेसन निर्माण कार्य भइरहेको उनले जनाए। ‘लक्षणसहितका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा राख्छौं,’ उनले भने, ‘लक्षण नदेखिएका बिरामीलाई पालिकास्तरका आइसोलेसनमा राख्ने तयारी गरेका छौं। कालीकोटमा पनि भदौ ५ गतेदेखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ। १० गते जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसेपछि पुनः निषेधाज्ञा बढाउने र खुकुलो बनाउने निर्णय हुने प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए। यहाँ बिहान ७ देखि ९ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म किनमेलका लागि बजार खुला गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

मुगुमा पनि भदौ १ गतेदेखि दुई हप्तासम्मका लागि आंशिक निषेधाज्ञा जारी गरिएको छ। एक पालिकाबाट अर्काे पालिकामा जान पूर्णरूपमा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले जानकारी दिए। उनका अनुसार पसल पनि दुई सिप्टमा खुला गर्ने व्यवस्था गरिएको छ। बिहान १० बजेसम्म र दिउँसो ४ बजेदेखि साँझसम्म पसल खुला गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ। ‘यहाँ कोरोना फैलिएको छैन,’ उनले भने, ‘तर बजारमा भीडभाड बढेपछि आंशिक निषेधाज्ञा लगाएका छौं।’ कोरोना परीक्षण राम्रोसँग हुन नसक्दा पनि यहाँ संक्रमणको अवस्था थाहा नभएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ।

रुकुम पश्चिमका तीन स्थानीय तहमा निषेधाज्ञा गरिएको छ। जिल्ला सदरमुकाम मुसीकोट र आठवीसकोट नगरपालिकासँगै सानीभेरी गाउँपालिकामा निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ। कर्णालीभन्दा बाहिरको प्रदेशबाट सल्यान प्रवेश गर्नेले पिसिआर रिपोर्ट अनिवार्य देखाउनु पर्ने सल्यानका प्रमुख जिल्ला अधिकारी थमन खड्काले जानकारी दिए। यता डोल्पा र हुम्लामा पनि निषेधाज्ञा लगाइएको छैन। हुम्लामा जिल्ला बाहिरबाट भित्रिने क्रम बढेकाले निषेधाज्ञा लगाउने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले जानकारी दिए। ‘काठमाडौंलगायतबाट मान्छे आइरहेका छन्,’ उनले भने, ‘जिल्लामा संक्रमण नभए पनि बाहिरबाट आउनेबाट जटिल हुने हुँदा निषेधाज्ञाको तयारी गर्दैछौं।’ डोल्पाका मुख्य दुई नाका जुफाल र खदाङमा कडा गरिएको छ। जुफाल सवाइ र खदाङ पैदल यात्राका मुख्य नाका हुन। ‘नाकाबाट जिल्ला बाहिरका सर्वसाधारण आउने हुँदा त्यहाँ कडा गरेका छौं,’ सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले भनिन्, ‘अन्य क्षेत्रमा सतर्कता अपनाएका छौं।’ अहिलेसम्म डोल्पामा स्वाब परीक्षण गर्दा संक्रमित नभेटिएकाले निषेधाज्ञा गर्न अवस्था नभएको उनको भनाइ छ।  

प्रदेश सरकारले कर्णाली प्रदेश प्रवेश गर्दा अनिवार्य पिसिआर रिपोर्ट देखाउनु पर्ने निर्णय गरेको छ। जसबाट कोरोना संक्रमित व्यक्ति कर्णालीमा छिर्न नपाउने र कोरोना संक्रमण नफैलिने अपेक्षा गरिएको छ। जुन ठाउँमा कोरोना संक्रमित देखिन्छन सोही ठाउँमा सिल गर्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशनसमेत दिएका छन्। ‘भीडभाड हुने क्षेत्रमा निषेधाज्ञा गर्न भनेका छौं,’ उनले भने, ‘संक्रमित देखिएका ठाउँमा सिल गरिरहेका छौं।’ प्रदेश सरकारको सबै शक्ति कोरोना भाइरस न्यूनीकरणका प्रयासमा लागि रहेको उनको भनाइ छ। निषेधाज्ञा र सिल भएका क्षेत्रमा अत्यावश्यक सेवा भने सञ्चालन हुने छन्। शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत्, दूरसञ्चार, खानेपानी, दुग्धजन्य पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि पसल, खाद्यान्न तथा तरकारी आपूर्ति, विपद् र मुद्दासम्बन्धी काम गर्ने क्षेत्रहरू खुला रहने छन्। त्यसैगरी एम्बुलेन्स, शव बहान, झन्डावाला सवारी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधान, सवारी अनुमति पास साधनहरू पनि सञ्चालन हुने जिल्ला प्रशासन कार्यालयहरूले जनाएका छन्।

सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतमा ७२, दैलेखमा ५०, जाजरकोटमा २३, सल्यानमा ३५, रुकुम पश्चिममा ३०, जुम्लामा ७५, कालीकोटमा ११, मुगुमा एकजना आइसोलेसनमा छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ९५ पुगेको छ। हुम्लामा पाँच, मुगुमा १०, डोल्पामा पाँच, जुम्लामा एक सय १५, कालीकोटमा ८२, जाजरकोटमा ४८, दैलेखमा एक हजार तीन, सुर्खेत ६ सय १३, रुकुम पश्चिममा ५७ र सल्यानमा दुई सय ६१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ। त्यस्तै प्रदेश बाहिरका ९६ जनामा कोरोना देखिएको छ। यीमध्ये एक हजार नौ सय ९२ जना उपचारपछि डिस्चार्ज भएका छन्। कर्णालीमा अहिलेसम्म छ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा तीन, सुर्खेतमा दुई र डोल्पामा एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।  

आवश्यकताका आधारमा आइसोलेसन निर्माण भइरहेको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। उनका अनुसार कर्णालीमा १७ वटा भेन्टिलेटर र ४० वटा आइसीयू निर्माण गरिएको छ।

प्रकाशित: ८ भाद्र २०७७ ११:४३ सोमबार