समाज

कोरोना संक्रमित डाक्टरको वेदना : यस्ता छिमेकी हुनुभन्दा नहुनु जाती !

हामी ‘सो सिल’ भई बसेका छौँ, हामीलाई हौसला दिनुको साटो कोरोना सङ्क्रमितको घर भन्ने फ्लेक्स व्यानरसहित एक झुण्ड समाजसेवी मेरो घर बाहिर आएको देख्दा म अच्चम्मित भएको छु,’ कोभिड–१९ बाट सङ्क्रमित चितवनको बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले केही दिनअघि आफ्नो फेसबुक स्टाटसमा लेखे, ‘यस्ता मानसिकता भएका छिमेकी हुनुभन्दा नभएकै जाती, तपाइको छिमेकी यस्ता नपरुन् हाम्रो शुभकामना ।’

उनको स्टाटसको अन्त्यमा छ, ‘सामाजिक बहिष्कारको पीडा अरूलाई नपरोस्, आत्मबल कमजोर भएका तिमीहरूका हर्कतबाट नमरुन् ।’

अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट डा. बगाले कोभिड–१९ का सङ्क्रमितको उपचारमा अहोरात्र खटिँदा पोजेटिभ भए । त्यसबारे कसरी जोगिने भनेर उनलाई राम्रो ज्ञान छ । समुदायमा नजाओस् भनेर आफैँ घरभित्र सुरक्षित भएर बसिरहेका बेला कोरोना सङ्क्रमण भएको भनेर सामाजिक बहिष्करणमा परे ।  

यस्ता सामाजिक बहिष्कारले मानिसलाई आत्महत्यासम्म पुर्‍याउन सक्नेतर्फ सचेत गराउनकै लागि उनले स्टाटसमार्फत सन्देश प्रवाह गरेका हुन् । होम आइसोलेसनमा बसेका उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ । यसअघि पनि कुनै लक्षण भने नदेखिएको डा. बगालेले बताए ।  

उनले भने, ‘मान्छेका गतिविधि समस्याग्रस्त छन् भने त्यसलाई निगरानी गर्ने हो, गतिविधिप्रति सचेत छ भने सङ्क्रमित पनि घरमै बस्दा राम्रो मान्नुपर्नेमा समाजले ब्यानर राखेरै झन् पीडा थप्नु हुँदैन ।’

लक्षण देखिएकालाई मात्रै अस्पताल लानुपर्ने सुझाव उनको  छ । घरमा बसेको अनुभव सुनाउँदै उनले अब होम आइसोलेसन विकास गर्नुपर्ने टड्कारो आवश्यकता महसुस गर्छन् ।  

सरकारले त्यस्ता व्यक्तिका लागि घरमा राख्न मिल्ने गरी मापदण्डसमेत तयार पारिसकेको छ । लक्षण नदेखिएका र बस्न सक्ने जति घरमै बस्दा राम्रो हुने र समाजले पनि त्यसैगरी सहयोग गर्नुपर्ने धारणा उनको छ । दुई हप्ताअघि उनको घरवरपर टोल सुधार समितिका प्रतिनिधिले ठाउँठाउँमा खतरा भनेर लेखिएको ब्यानर टाँग्न थाले । त्यसपछि डा. बगालेकै घरमा टाँस्न थाले  । उनले यसो नगर्नुस् भन्दाभन्दै पनि राखेर गए ।  

यस्ता गतिविधिले कमजोर मानिसले मनोसामाजिक समस्यामा फस्नेतर्फ कसैल हेक्का पनि राखेनन् । ‘आफ्नो गतिविधि मान्छेले हेर्दैन, अरूका गतिविधि र कुरामा धेरै चासो दिन्छ र गफ मात्र दिन्छ, ऊ भने गाउँमा गफ लडाएर डुलिरहेको हुन्छ,’ कुराकानीका क्रममा डा. बगालेले भने, ‘एकजना पोजेटिभ देखियो भने घर घेर्न हिँड्छ मान्छे ।’

काठमाडौँको मैतीदेवीको एक घरमा त्यसैगरी कोरोना देखियो । त्यस घरलाई पनि समाजले त्यही रूपमा हेरिरहेको छ । आफू दिनभर डुल्ने अनि त्यस घरका मानिसको कुरा काट्न भने पछि नपर्ने अवस्था छ भन्छन्, यहाँका स्थानीय नै ।  

केही दिनअघि भक्तपुरको मध्यपुरथिमी नगरापलिका–५ मा पनि त्यस्तै घटना भयो । सङ्क्रमित देखिएपछि छिमेकीले बाहिर जान नपाओस् भनेर बाहिरबाटै चुकुल लगाइदिए । नगरापलिकाको टोली तथा स्वास्थ्यकर्मी आएर सम्झाएपछि मात्रै समुदाय चुकुल खोल्न तयार भए ।  

यसले मानिसमा नकारात्मक सोचको विकास हुने नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ बताउँछन् । जति भने पनि समुदायले स्वीकार गर्न गाह्रो पर्ने देखिएको उनको अनुभव छ ।

त्यही गाउँमा एउटा परिवारका व्यक्ति बाहिरबाट आएका थिए । बिहान पाउरोटी किन्न जाँदा पसलवाला नै दोकान छाडेर भागेको तीतो अनुभव सुनाए उनले ।  

यस्ता घटना मुलुकका धेरै ठाउँमा भए पनि मानिस बोल्न सकिरहेका छैनन् । हेलत्व र पीडा सहेर बसिरहेका छन् । टोलटोलमा सामाजिक तिरस्कार सहेर बस्नु परिरहेको छ ।  

शनिबार साँझ पनि बानेश्वरको सिभिल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी राखिएको एक घरमा स्थानीय गएर घेरा हाले । यो घटना यस्तो अमानवीय प्रकृतिको थियो कि रोगको राउपचार गर्ने चिकित्सकलाई नै त्यहाँबाट निकाल्नुपर्ने स्थानीयको माग थियो ।  

सुन्दा पनि अचम्म लाग्ने र दया जाग्ने यस्तो घटना मुलुकको राजधानी कै मुटु मानिने बानेश्वरका बासिन्दाले गर्छन् भने देशका अन्य भागमा हुने घटनालाई के भन्ने ? मान्छेले लापर्बाही पनि गरिरहेकाले शङ्का उब्जेको पाइन्छ ।

‘कन्ट्याक्ट ट्रेसिङमा भएको मान्छे बेपर्बाह गर्दै हिँड्न पनि भएन, प्रमुख श्रेष्ठले भने, ‘समाजले पनि सङ्क्रमितलाई घृणा नगरी सावधानी अपनाएर माया दिनुपर्छ ।’

यी प्रतिनिधि घटना हुन् । तर यस्ता घटना बढ्दो छ । यसतर्फ सामाजिक अगुवाको ध्यान नजाँदा अवस्था जटिलतातर्फ जाँदै छ ।  

कोभिड–१९ सरुवा रोग हो । मानिसबाट सजिलै सर्न सक्ने भएकाले मानिसले अपराध गरेको झैँ घृणा गर्नु भनेको सामाजिक अपराध हो । यसले मानिसलाई विक्षिप्त बनाउने र अपराध कर्म अर्थात आत्महत्यसम्म पुर्याउने हुँदा समाजका प्रतिनिधि झनै सचेत हुनुपर्ने मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना बताउँछन् । उनी समाजले त्यस्ता व्यक्तिलाई घृणा होइन, सहयोग र माया गर्नुपर्ने बताउँछन् ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम हामी जो कोही पनि सङ्क्रमित हुन सक्ने हुँदा सङ्क्रमित हुँदैमा बर्बादै भयो भन्ने सोचनाई राख्नु गलत हो भन्छन् । यो रोग ८० प्रतिशत आफैँ निको भएर जान्छ । सरकारले जटिल रोग नआएकालाई घरमै क्वारेन्टिनमा बस्ने गरी मापदण्ड बनाएको अवस्थामा त्यसलाई स्वीकार गर्न समाज तयार हुनुपर्छ ।

‘यो सङ्क्रमितको घर हो भनेर लेखेर टाँस्दा समाज कति असामाजिक भइरहेको छ भन्ने देखाउँछ, यस्ता भेदभावजन्य क्रियाकलापले समाजमा धेरै नकारात्मक असर पार्छ,’ डा गौतमले भने, ‘यसले सङ्क्रमण लुकाउने अवस्था आउने र मनोसामाजिक समस्या बढ्ने हुँदा भेदभावजन्य क्रियाकलापमा संलग्न नहुन र त्यस्ता गतिविधि निरुत्साहित गर्नुपर्छ ।’

अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, सरसफाइकर्मीलाई सबै अग्रपङ्तिमा खटिनेलाई कोभिड–१९ देखिने गरेको  छ। उनीहरूलाई कसरी सर्यो भनेर कन्ट्रयाक्ट ट्रेसिङ गराउन सम्भव छैन । त्यसैले हामी आफैँ सावधानी अपनाउनु नै यसको महत्वपूर्ण उपचार हो । अझै स्थिति जटिल बन्दै छ ।  

मङ्गलबार मात्रै एकैदिन एक हजार बढीमा सङ्क्रमण देखियो । एकै दिनमा ११ जनाको मृत्यु हुनु सामान्य होइन । विवरणले निक्कै सावधानी अपनाउनु पर्छ भनेर देखाएको छ, भन्छन्, डा. गौतम ।  

सङ्क्रमितलाई समुदायले पनि सकारात्मकरुपमा सोच्नुपर्छ । खाली क्षेत्रमा वडा र नगरपालिकाले व्यवस्थापन गरी घरमा बस्न नमिल्ने भएमा लक्षण नदेखिएकालाई त्यहाँ राख्ने संरचना विकास गर्नु पर्ने आवश्यकता छ । अस्पताल भरिँदै आएको अवस्थामा समाजका अगुवाले सङ्क्रमण फैलिन नदिन हाम्रो पनि सहभागित महत्वपूर्ण छ भन्ने सोचको विकास गर्नुपर्छ । तब मात्रै सभ्य समाज निर्माण गर्न सकिन्छ।  

सरकारले मात्रै गर्छ, उसको मात्रै जिम्मेवारी हो भनेर समाजले आफ्नो भूमिका निभाउन नसके अवस्था जटिल हुँदै जाने जनस्वास्थ्यविद्को भनाइ छ । जनस्वास्थ्यविद् डा. अनिल भट्टराई सबैले स्वास्थ्य मापदण्ड इमान्दारीपूर्वक प्रयोग गरेमा रोगबाट जोगिन सकिने बताउँछन् ।  

उच्च मनोबल नभएमा कडा रूप लिने भएकाले मानिसलाई रोग लाग्दैमा हेय भाव पैदा गराउन नहुनेमा उनले जोड दिए । यो बेलामा अत्यावश्यक बाहेक घर बाहिर नस्किन सरकारले अनुरोध गरेको छ । निस्किए अनिवार्य मास्क लगाउन, दुई मिटरको दुरी कायम गर्न, भीडभाडमा नजान, राम्ररी सावुन पानीले हात धुन वा सेनिटाइजर लगाउन मन्त्रालयले सबैमा अनुरोध गरिरहेको छ ।  

प्रकाशित: ७ भाद्र २०७७ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App