समाज

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत दुई जनाको आज मृत्यु भएको  छ। मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ की  एक महिला र सम्मरीमाइ गाँउपालिका २ का एक पुरुष छन्। उनीहरु दुवै जनाको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालको आइसीयु कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  

बुटवल १ की  ६७ बर्षे महिलालाई साउन ३१  गते सो अस्पताल ल्याइएको थियो। अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार अस्पताल आउँदा उनमा निमोनीयाको समस्या थियो। बुटवलको एक नीजि अस्पतालमा तीन दिन भर्ना गरेर उपचार गराइरहेकी ती बृद्धामा कोरोना पोजेटिभ रिर्पोट आएपछि कोरोना अस्पताल ल्याइएको डा थापाले बताए। ती बृद्धालाइ हाइब्लड प्रेसर र किड्नीको समस्या रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्। मृत्तक महिलाको ट्राभल हिष्ट्रि नभएको र उनलाइ समुदायबाटै कोरोना सरेको अस्पतालले जनाएको छ।  

त्यस्तै सम्मरीमाइ २ का ३८ बर्षे पुरुषको पनि आज दिउँसो १ बजेपछि मृत्यु भएको हो। उनलाइ १ गते अस्पताल ल्याइएको थियो। ज्वरो रुघाखोकीले ग्रस्त भएका उनलाइ गाँउपालिकाले नै एम्बुलेन्समा राखेर लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको हो। रिर्पोट पोजेटिभ आएपछि  कोरोना अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। ती युवकमा कुनै  दिर्घ रोग नरहेको डा थापाले बताए।  

मृत्तक दुवै जनाको गएराती  देखि नै स्वास्थ्य अबस्था जटिल बन्दै गएको र दिउँसो १ बजे मृत्यु भएको डा थापाले नागरिकलाइ बताए। चिकित्सकहरुका अनुसार मृतक अस्पताल ल्याइनु भन्दा हप्ता दश दिन अघि मल र अन्य सामान लिन भारतीय बजारमा गएका थिए।  

बुटवलको कोरोना अस्पतालमा यो सँगै ५ जना संक्रमितको मृत्यु भइसकेको छ। यस अघि दुइ जना कपिलबस्तुका, २ जना रुपन्देहीका र एक जना प्युठानका व्यक्तिको मृत्यु भएको थियो।  

यो अस्पतालमा अहिले  ३५ जना उपचारत छन। ती मध्ये १४ जनाको गम्भिर अवस्थामा आइसीयुमा उपचार भइरहेको छ। बाँकी आइसोलेसन वार्डमा छन।

चिकित्सकहरुका अनुसार प्रदेश नं. ५ मा समुदायमै सामान्य अवस्थाका अधवैंशे व्यक्तिहरुमा कोरोनाको गम्भिर लक्षण देखा परीरहेको छ। अस्पतालका  डा सुर्दशन थापाले समुदायमा पसेको लक्षण सहितको संक्रमणले गम्भिर अवस्था निम्त्याउन सक्ने संकेत देखा परिसकेकाले सावधानी अपनाउन सबैलाइ अग्रह गरे। यही अबस्थामा लक्षण सहितका बिरामीको संख्या बढ्ने हो भने उपचारमा गम्भिर समस्या निम्तन सक्ने पनि उनले बताए।

 

 

प्रकाशित: ७ भाद्र २०७७ १०:३१ आइतबार

कोरोना भाइरस