समाज

पुनः तयार गर्न सांसदको लोगो फिर्ता

नयाँ नक्सासहित संघीय संसद् सचिवालयले सांसदका लागि तयार पारेको लोगोमा समेटिएको नेपालको नक्सा विरोधपछि संशोधनका लागि फिर्ता पठाइएको छ । नयाँ निर्माण गरिएको गोलो नसुहाउने र जथाभावी बनाइएको भन्दै सांसददेखि सबैतिरबाट विरोध भएपछि संसद् सचिवालयले वाग्मती प्रदेश सरकारअन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरलाई पुनः तयार गर्न फिर्ता पठाएको हो ।

सचिवालयले संघीय संसद्का पदाधिकारी र सदस्यले लगाउने संघीय संसद्को लोगो ३ सय ५० थान तयार गर्न असार २१ गते सो कार्यालयलाई जिम्मा दिएको थियो । लोगो तयार भएपछि आइतबार संघीय संसद्का महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका थिए । सांसदलाई एसएमएस पठाएर लिन आउन भनिएको थियो । लोगो भद्दा भएकाले सांसदले लगाउन नमानेपछि संसद् सचिवालयले लोगो स्तरीय र निर्धारित मापदण्डअनुसार निर्माण गर्न पुनः फिर्ता पठाएको हो ।

यो पनि पढ्नुहोस्

नयाँ ‘लोगो’बारे सांसद भन्छन्: नेपालको नक्सा स्कुल पढ्दा बनाएजस्तो पनि छैन

संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेले विज्ञप्ति प्रकाशित गरी लोगो फिर्ता गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट प्राप्त ब्याचपिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले सो सुधार र परिमार्जनका लागि फिर्ता गरिएको छ ।’ संघीय संसद्को नयाँ लोगोमा साविकमा प्रयोग भएको लोगोमा रहेको नेपालको नक्साको सट्टा नयाँ परिमार्जित नक्सा राखिएको छ भने संघीय संसद् नेपाल थप गरिएको छ । मंगलबार सभाभुख अग्निप्रसाद सापकोटासहित बसेको संसद् सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो ।

लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको र भद्दा भएको भन्दै आलोचना भइरहेका बेला लोगो डिजाइनर टेकवीर मुखियाले पनि आफ्नो कलामाथि घोर अन्याय भएको बताएका थिए । सांसदको लोगोमा दुई लाल सुनको जलप लगाइएको छ भने १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास छ । एउटा लोगो बनाउन ५ हजार ५ सय २७ रुपैयाँ खर्च भएको थियो । पुनः निर्माण गरिने लोगो पुरानै खर्चमा गरिने सहमति भएको सचिवालयले जनाएको छ ।

प्रकाशित: ४ भाद्र २०७७ ०३:२४ बिहीबार

सांसदको लोगो नयाँ लाेगाे