आज मलाई उहाँ (ससुराबुवा)को याद धेरै आएको छ ।
उहाँलाई म बुवा भन्थेँ, उहाँलाई मैले पहिलोपटक २०५९ सालमा भेटेकी थिएँ । त्यतिबेला मेरो बिहे भएको थिएन, तर चेतन (अहिलेका मेरा श्रीमान्)ले उहाँसँग मलाई भेट गराएका थिए ।
‘यी केटी धेरै लच्छिनकी छिन्, तिमीले उनलाई भित्र्याउनुपर्छ,’ बुवाले चेतनलाई भन्नुभएछ । त्यसको केही दिनमै म बेलायत गएँ, पढ्नका लागि । म गएको थाहा पाएर बुवा खिन्न हुनुभएको थियो रे । घरमा कोही केटी मान्छे नभएकाले बुवालाई तुरुन्त बुहारी भित्र्याउने इच्छा थियो । बुवासँग एकपटक मात्र भेटेर म बेलायत गएकी थिएँ, तर उता गएपछि पनि उहाँसँग बेला–बेला फोनमा कुरा हुन्थ्यो । यसरी ससुराबुवा र मेरो सम्बन्ध सुरुबाटै राम्रो थियो । बेलायत बसाइ मेरो लामो भएन, दुई वर्षपछि नेपाल फर्कें । त्यसपछि हाम्रो विवाह गर्ने तयारी भयो ।
उताबाट फर्कंदा क्रेडिट कार्ड, बैंकको ऋण सबै तिर्नुपर्दा मसँग खासै पैसा थिएन र केही समय विवाह सार्ने कुरा मैले गरेँ, विशेषगरी आर्थिक भारका कारण । मैले चेतनसँग सल्लाह गरेकी थिएँ । हाम्रो सल्लाह बुवासम्म पुगेछ । उहाँले आफ्नै छोरीजस्तो गरेर भन्नुभयो, ‘विवाह भोजको खर्च हामी सबै व्यहोर्छौं ।’
मेरो बुवा नभएकाले पनि उहाँले एउटा बुवाले गर्ने कर्तव्य निभाउनुभयो, आफ्नै छोरीजस्तै सम्झेर । विवाहमा हामीले संयुक्त पार्टी ग-यौँ । पार्टीको सबै खर्च बुवाले व्यहोर्नुभयो । विवाहपछि घरमा भित्रिएपछि उहाँ र म राम्रो साथीजस्तो भयौँ ।
वर्षौंदेखि बुवा र चेतन रेस्टुराँमा स्टाफ मेसमै खाना खानुहुन्थ्यो । मेरो विवाहपछि बल्ल हाम्रो आफ्नै सानो भान्छा बनेको थियो, बुवालाई खाना बनाउन र खुवाउन ठूलो सोख थियो । पहिलो दिन मैले खाना बनाउँदा त्यति राम्रो बनेको थिएन, तर उहाँ केही नबोली चुपचाप खानुभयो । उहाँ र म मिलेर हामी भान्छामा खाना बनाउँथ्यौँ । उहाँले सधैँ मलाई अगाडि राखेर खान बनाउन सिकाउनुहुन्थ्यो । खाना बनाउँदा सधैँ साग, तरकारी, मसला आदिको गुण बताउनुहुन्थ्यो ।
चेतन कामको सिलसिलामा धेरैजसो बाहिर जाने हुनाले घरमा बुवा र म नै खाना खाने साथी हुन्थ्यौँ । म खानामा अलिक मन लगाएर खाने बानी थिएन । उहाँले मेरो इच्छाअनुसारको खाना र तरकारी बनाउनुहुन्थ्यो । उहाँ आफैँ कृषिविज्ञ भएकाले पनि होला खानेकुराका बारेमा धेरै ज्ञान थियो । उहाँले मलाई पछि व्यापार–व्यवसायमा प्रेरित गराउनुभयो । कामप्रति उहाँको एकदमै अनुशासन र निष्ठा थियो । उहाँले नै रेस्टुराँमा पाक्ने खानाको विधि तयार पार्नुहुन्थ्यो, आफूले खाना बनाउँदा सिकेका अनुभव मलाई पनि सिकाउनुहुन्थ्यो ।
झापाबाट काठमाडौं आएर दीनानाथ भण्डारीले आफ्नो परिश्रम र लगावले बाजेको सेकुवालाई हुर्काउनुभयो र आज हामी यसलाई देश–विदेशमा लैजान प्रयासरत छौँ । ससुरा बुवा मेरा लागि बुवा हुनुहुन्थ्यो र सदैव हौसला र प्रेरणा दिनुहुन्थ्यो ।
उहाँले सेकुवाको मसला बनाउने तरिका मलाई रमाइलो लाग्थ्यो । उहाँका कान्छादाइ र जेठादाइ भन्ने दुई सहयोगी हुनुहुन्थ्यो । कान्छादाइले सेकुवा पोल्ने गर्नुहुन्थ्यो, जेठादाइले बुवालाई मसला बनाउन सघाउनुहुन्थ्यो ।
सेकुवाको मसला किन्न जाँदा बुवा सधैँ जेठादाइलाई लिएर जानुहुन्थ्यो, सबैभन्दा राम्रो नेपाली मसला र जडिबुटी लिएर आउनुहुन्थ्यो । त्यसलाई पखालेर सुकाउने, बनाउने सबै काम जेठादाइले गर्नुहुन्थ्यो । मसला सुकाउँदा बुवा आफैँ छाता ओढेर कुर्नुहुन्थ्यो, चराहरूले नखाओस् भनेर । त्यो मसला सही तापक्रममा भुटेर पिन्न मिलसम्म जाँदा जेठादाइले एक मिनेट पनि छाड्नुहुन्नथ्यो, सबै प्रक्रिया बुवाको आँखाअगाडि नै गर्नुपथ्र्यो । बुवालाई खानेकुरामा हेलचक्य्राइँ गरेको पटक्कै मन पर्दैनथ्यो । ‘घरमा होस् या रेस्टुराँमा, खानेकुरा राम्रोसँग बनाउनुपर्छ । ग्राहक भगवान् हुन् भन्ने भित्रैबाट मनन गर्नुपर्छ’ भन्नुहुन्थ्यो । आफ्नो परिश्रमको मूल्य लिइसकेका हुनाले ग्राहकलाई सही खाना दिनुपर्छ भन्ने मान्यता थियो उहाँको ।
माओवादी द्वन्द्वको चरम समय थियो । बुवाले आफ्नो छोरा चेतनले सेकुवा व्यवसायबाहेक अरू केही गरोस् भन्ने इच्छा थियो । सायद एक्लो छोरा भएकाले उहाँलाई डर पो थियो कि ? चेतन विदेशमा गएर केही गरोस् वा सरकारी सेवामा जाओस् भन्नुहुन्थ्यो । ‘तिमीहरू बरु केही समयका लागि विदेश गए पनि हुन्छ,’ उहाँले हामीलाई भन्नुभएको थियो । उहाँले टोलछिमेकमा आफ्नो बुहारी बेलायतबाट कम्प्युटर पढेर आएको भन्ने कुरा गर्वका साथ सुनाउनुहुन्थ्यो । भन्नुहुन्थ्यो, ‘बुहारीले अब कम्प्युटरबाटै हाम्रो व्यवसाय चलाउने सिस्टम बनाउँछिन् ।’
विवाह भएको केही समयमै चेतनले बाजेको सेकुवा विस्तार गर्न लागिसकेको थियो । ‘म्यान्युल’ बिलमा समस्या आइरहेको थियो । रेस्टुरेन्ट राम्रो चल्थ्यो, ग्राहकको भीड धेरै हुन्थ्यो । हामीले २०६२ भदौबाट सम्पूर्ण हिसाब–किताबलाई कम्प्युटर सिस्टमबाट गर्न थाल्यौँ । सम्भवतः कम्प्युटर सिस्टमबाट रेस्टुराँ व्यवसाय चलाउने हामी पहिलो हौँ । कम्प्युटर सिस्टम राखिसकेपछि बुवालाई गल्लामा बसिरहनुपर्ने कामबाट अलिक फुर्सद मिलेको थियो । राजनीतिमा चाख राख्ने हुनाले गफगाफका लागि त्यतिबेला समय पाइरहनुभएको थियो । रामराजा प्रसादसिंहसँग मिलेर पार्टी पनि खोल्नुभयो । उहाँले जहिले पनि मलाई ‘सबै परिवार एउटै व्यवसायमा नलागौँ’ भन्नुहुन्थ्यो । सोही सिलसिलामा उहाँले मलाई आफ्नो व्यवसाय गर्न १० हजार रूपैयाँ पैसा दिनुभयो, सगुन भनेर । मैले कुर्ता–सुरुवालको व्यापार सुरु गरेँ, तर एक महिनामै बन्द गरेँ । मलाई लाग्यो, त्यसमा मेरो ज्ञान नै थिएन ।
केही समयपछि दुई–तीनजना साथीसँग मिलेर मैले विज्ञापन व्यवसाय सुरु गरेँ । त्यसमा बुवाले मलाई पूर्ण सहयोग गर्नुभयो । त्यतिबेला मेरी छोरी दश महिनाकी थिई, बुवाले उसको धेरै हेरविचार गर्नुहुन्थ्यो, र म अफिस जान पाउँथे । यो व्यवसाय मैले अर्को बच्चा हुन लागेकाले छाडिदिएँ ।
यसै क्रममा बाजेको सेकुवालाई फ्रेन्चाइज मोडलमा लैजान थाल्यौँ । हरेक स्थानमा खानाको स्वाद, गुणस्तर एकरूपता हुनुपर्ने भएकाले हामीले ‘सेन्ट्रल किचेन’ खोल्यौँ र वरिष्ठ सेफहरूलाई राख्यौँ, तर हाम्रो परम्परागत बाजेको सेकुवाको खानालाई वरिष्ठ सेफहरूले न्याय गर्न सकेनन् ।
बुवासँग सिकेको सीप र परिवारको ‘सेक्रेट रिसिपी’लाई निरन्तरता दिन अन्ततः सन् २०१४ तिर म पाँच वर्षको अन्तरालपछि सेन्ट्रल किचेनमा आएँ । मैले बुवाबाट सिकेका ‘रेसिपी’लाई ‘फम्र्याट’मा राखेर चलाउन थालेँ । बुवाले बनाएको स्वादलाई निरन्तरता दिन आखिर परिवारबाटै सहयोग चाहियो, त्यसैले म आउने निर्णय गरेँ । सेन्ट्रल किचेन चलाउँदा चलाउँदै मलाई मसलाको व्यवसाय गर्ने सोच आयो । मैले कम्पनीलाई यो प्रस्ताव राखेँ । २०७२ असोजबाट हामीले मसला व्यवसाय सुरु ग-यौँ । त्यतिबेला बुवा शारीरिक अस्वस्थताका कारण झापातिर बस्नुहुन्थ्यो । मैले मसलाको व्यवसाय सुरु गरेको कुराले उहाँ धेरै खुसी हुनुभएको थियो । पछि हाम्रो उत्पादन नेपाल लगायत विदेशमा पनि धेरैले राम्रो प्रतिक्रिया दिन थाले । यसबाट बुवा निकै खुसी हुनुभएको थियो । ‘परिवार’ मासिकमा ‘बुहारीले सम्हालेको मसला’ शीर्षकको फिचर आयो । त्यतिबेला इटहरीको गोरखा डिपार्टमेन्ट स्टोरमा ‘बाजेको मसला’ पाइन्थ्यो । टोलछिमेकीले बुवालाई बधाइ दिए । त्यो समाचार आएको केही दिनपछि मलाई फोन गर्नुभयो, उहाँको स्वर भारी थियो । ‘दुलही, तिमीले मलाई आज अमर बनाइदियौ । मलाई आज प्रत्येक मानिसका घर–घरमा पु-याइदियौ र मेरो स्वाद घरघरमा पु-याइदियौ ।’ मेरो मन धेरै नै खुसी भयो त्यो दिन ।
झापाबाट काठमाडौं आएर दीनानाथ भण्डारीले आफ्नो परिश्रम र लगावले बाजेको सेकुवालाई हुर्काउनुभयो र आज हामी यसलाई देश–विदेशमा लैजान प्रयासरत छौँ । ससुरा बुवा मेरा लागि बुवा हुनुहुन्थ्यो र सदैव हौसला र प्रेरणा दिनुहुन्थ्यो । आजको यो कुशेऔँशी उहाँले धर्ती छोड्नुभएको पनि नौ महिना भएको छ, तर उहाँले सिकाएका जीवनका सुन्दा सरल लाग्ने तर लागू गर्न ध्यानमग्न हुनुपर्ने सत्यको बाटोमा हिँड्न हामी प्रयासरत छौँ ।
बुवाको सम्झनामा !
प्रकाशित: ३ भाद्र २०७७ ०३:११ बुधबार