समाज

सर्लाहीमा दोस्रो पटक थपियो निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय सर्लाहीले आईतबार जारी गरेको निषेधाज्ञा आदेश ।

कोरोना भाईरसको संक्रमण बढ्दो अवस्थामा रहेको भन्दै सर्लाहीमा स्थानीय प्रशासनले भोली सोमबारदेखि सात दिनका लागि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरेको छ । भदौ १ गते बिहान ६ बजेदेखि ७ गते राती १२ बजेसम्मका लागि पुनः निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । स्थानीय प्रशासनले यसअघि साउन २६ गतेबाट सात दिनका लागि पहिलोपटक निषेधाज्ञा आदेश जारी गरेको थियो ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्ला स्तरीय कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (डीसीसीएमसी) को आइतबार दिउँसो सदरमुकाम मलंगवामा बसेको बैठकले सिफारिस गरेपछि दोस्रो पटक निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए । प्रजिअ पौडेलका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रामक रोग ऐन, २०२० बमोजिम औषधी पसल लगायत अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु समेत बन्द गर्ने र अत्यावश्यक काम बाहेक सर्वसाधारणलाई घर बाहिरै निस्कन नपाउने गरी निषेधाज्ञा जारी गरिएको हो ।

यसअघिको निषेधाज्ञा आदेशमा खाद्यान्न र फलफुल एवं तरकारी पसललाई दैनिक दिउँसो २ देखि साँझ ७ बजेसम्म खोल्न दिने भनिएपनि सोमबार, बुधबार र शुक्रबार मात्र दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म खाद्यान्न, फलफूल एवं तरकारी पसल खुला राखी भौतिक दूरी कायम गराई खरिद बिक्री गर्ने भनिएको छ । त्यस्तै स्वास्थ्य, विद्युत्, दुरसंचार, खानेपानी, दुध, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी, पशुपंक्षीको दाना र कृषि कार्य बाहेकका अन्य बैंक तथा वित्तीय संस्था र कार्यालयहरुबाट प्रदान गरिने सेवा पनि बन्द गर्ने आदेशमा उल्लेख छ । त्यसैगरी आदेशमा छिमेकी मित्र राष्ट्रहरुबाट हुने सामग्री ढुवानी बाहेकका सबै प्रकारका आवागमन पूर्ण रुपमा विषेध गर्ने र सीमा नाका पूर्ण रुपमा सिल हुने आदेशमा भनिएको छ ।

परीक्षणको दायरा बढाइएसँगै पछिल्लो एकसातायता मलंगवा, बरहथवा, ईश्वरपुर, हरिवन, लालबन्दी लगायतका स्थानमा जनप्रतिनिधि, सञ्चारकर्मी, राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मी र वित्तीय संस्थामा कार्यरत कर्मचारीमा संक्रमण पाइएकाले समुदाय स्तरमै संक्रमण फैलिसकेको डीसीसीएमसी को बैठकले ठहर गरेको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा हालसम्म ९६२ जना कोरोना भाईरसबाट संक्रमित भईसकेका छन् भने एकजनाको मृत्यु भएको छ ।

प्रकाशित: ३२ श्रावण २०७७ १२:०६ आइतबार

निषेधाज्ञा