समाज

‘पर्यटन चले गाइड, नत्र किसान’

बबरसिंह दुलाल, पर्यटनमा लागेको दुईदशक भयो। लमजुङको मध्यनेपाल नगरपालिका–३ सुर्यपालमा उनको स्थायी घर छ। पोर्टर (भरिया) बाट उनले पदयात्रा थाले, कोरोना भाईरस महामारी फैलिनुअघिसम्म उनी पदयात्राका अनुभवि गाइड बनिसकेका थिए। यो अवधिमा उनले नेपालका सबैजसो साहसिक पदमार्गमा सयौं विदेशीलाई घुमाएर नेपाल चिनाइसकेका छन्।

कोरोना भाईरस महामारीसँगै उनको रोजगारी गुम्यो, त्योसँगै दैनिक आम्दानी पनि रोकियो। पोखरामा तीनछोरी, भतिज र श्रीमतिसहित ६ जनाको परिवार पाल्ने जिम्मा उनको काँधमा छ। विदेशी पाहुनासँग जोडिएर हुने आम्दानी रोकिएपछि दुलालले अहिले पेशा परिवर्तन गरेका छन्। ‘म अहिले बाटो बनाउने काममा व्यस्त छु। कहिले घर बनाउने काममा इट्टा र सिमेन्टको गाह्रो लगाउनु पुग्छु, कहिले बाटो बनाउन जान्छु,’ दुलालले भने, ‘मजदुरी नगरी खान पाइएन। अहिले नै पदयात्रा चल्ने अवस्था नभएकोले केही न केही त काम गर्नैपर्योल। काम नगरे भोकै पर्ने अवस्था आयो।’

पदयात्रामा जाँदा उनको दैनिक कमाई १५ सय रुपैयाँ हाराहारीमा हुन्थ्यो। त्यो आम्दानी रोकिएपछि गुजारा चलाउन सकस भएकोले पेशा नै फेर्न बाध्य भएको उनले बताए। ‘काम नगरे बालबच्चा भोकै पर्छन। त्यही भएर जे पाए पनि गर्नैपर्ने अवस्था थियो। दैनिक ज्यालादारीकै काम साथी मार्फत पाए’ उनले भने, ‘यो काम पनि नगर्ने हो भने बालबच्चा भोकै पर्छन।’ उनी जेठको अन्तिमदेखि सडक र घर बनाउने काममा खटिएका छन्। ‘हिजोसम्म गाइड बनेर चिनियौं, अब कता थाहा छैन,’ उनले भने, ‘पदयात्रा चले गाइड, नत्र किसान हुनुको विकल्प छैन।’

निर्मा राईको घर सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका हो। राई पनि १८ वर्षदेखि पदयात्रामा सक्रिय छिन्। उनी पोर्टरबाटै पदयात्रा पेशामा हाम फालेकि थिइन। पोर्टरबाट सुरु भएको पदयात्रा पेशा अहिले फूलगाइडमा पुगेर पूर्णबिराम लागेको छ। अहिले कोरोनाले गर्दा उनी फुर्सदिलो बनेकी छिन्।

‘पदयात्रा चलुन्जेल परिवार पाल्न कुनै सकस थिएन। कोरोनाले आम्दानी रोकिएपछि दैनिक हातमुख जोर्न पनि समस्या हुने अवस्था आयो,’ उनले भने। अहिले दैनिक १२ सय रुपैयाँ आम्दानी गरिरहेको उनले बताए। ‘सापटी पनि कतिन्जेल माग्ने भन्ने भयो। अहिले सापटी लिएपनि तिर्ने दिन निश्चित छैन,’ दुलालले भने। अझै केही समय विदेशी आउने अवस्था नदेखे परिवारै लिएर घर फर्किने अवस्था आउने उनले बताए।

निर्मा राईको घर सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका हो। राई पनि १८ वर्षदेखि पदयात्रामा सक्रिय छिन्। उनी पोर्टरबाटै पदयात्रा पेशामा हाम फालेकि थिइन। पोर्टरबाट सुरु भएको पदयात्रा पेशा अहिले फूलगाइडमा पुगेर पूर्णबिराम लागेको छ। अहिले कोरोनाले गर्दा उनी फुर्सदिलो बनेकी छिन्। अन्नपूर्ण फेरो, अन्नपूर्ण आधारशिविर सहित एभरेष्ट क्षेत्रको पदयात्रामा उनी कैयौंपटक विदेशी लिएर गएकी छिन्। ‘सयौं विदेशीको संगत गरियो, अहिले त पुरै बेरोजगार बनेकी छु,’ राईले भनिन, ‘खुरुखुरु काम चलेको थियो। एकाएक आम्दानी शून्यमा झर्नेगरि काम रोकियो। काम त रोकियो नै आम्दानी रोकिँदा गुजारा चलाउन गाह्रो भयो।’ उनी पछिल्लो समय फ्रिलान्सर गाइडको रुपमा काम गर्दै आएकी थिइन्। सुरुका केही वर्ष कम्पनिमा आवद्ध भएपछि पछिल्लो समय आफैले विदेशीलाई सम्पर्कमा ल्याएर विभिन्न रुटको पदयात्रामा लैजाने उनको पेशा थियो।  

‘उठ्नै नसक्ने गरि बेरोजगार बनाइयो। अघिल्लो सिजन पनि खेर गयो, अब आउने सिजन पनि खेर जाने पक्का भईसक्यो,’ उनले भनिन्, ‘पहिलेको बचतले अहिलेसम्म घरखर्च चलेको छ।’ उनका अनुसार नेपाल आउन चाहेका कतिपय विदेशीले उनलाई एडभान्समा रकम पनि पठाएका थिए। त्यही रकमले अहिले गर्जो टरेको राईले बताईन्। ‘यो सिजनमा आउने भनेर केहीले एडभान्स रकम पठाएका थिए। त्यो रकमले घरखर्च चलेको छ,’ उनले भनिन, ‘त्यो पैसा पनि नपाएको भए त अहिले बिजोग हुन्थ्यो।’  

उनी पनि पोखरामा डेरा बस्छिन्। बहिनी, भतिजाभतिजि र आफु सहित चारजनाको खर्च उनले बेहोर्नुपर्छ। तर, काम कतै छैन। पदयात्रामा रहँदा उनले पनि दिनमा दुईहजार रुपैयाँसम्म कमाउँथिन्। त्यो कमाईले सहजै घर चलेका थियो। त्यही कमाईमा टिप्स थपिँदा उनलाई घरखर्चको पिरलो हुँदैनथ्यो। ‘कोरोना सकिएपछि घुम्न आउँछु भन्ने विदेशी छन। तर, त्यसको दिन यकिन छैन,’ उनले सुनाईन।  

पदयात्रा पेशा तत्काल पहिलेको चरणमा फर्किने अवस्था नभएपछि उनले अहिले स्वेटर बुनेर दिन बिताउने गरेकी छिन्। भविश्यमा त्यही स्वेटर बुन्ने सिप पनि गतिलो पेशा बन्न सक्ने उनको अनुमान छ। ‘यो अवस्था लामो समय रहिरह्यो भने विकल्पमा घर फर्किनु बाहेक केही हुने छैन,’ उनले सुनाईन, ‘अझै केही महिना हेरौ, त्यसपछि पनि पहिलेको काममा फर्किने माहोल नभए गाउँ फर्किनु नै उपयुक्त हुनेछ।’

लम्जुङका दुलाल र सोलुखुम्बुकी राईको जस्तो अवस्था पर्यटन क्षेत्रमा सक्रिय अधिक मजदुरको छ। ती सबैलाई कोरोना भाईरसले नै यो अवस्थामा ल्याइदिएको हो। लामो समय पर्यटन क्षेत्रमा खटिएका उनीहरुको अवस्था अहिले अप्ठेरो हूँदै गएको छ। पर्यटन मजदुर हेमराज अधिकारी भन्छन, ‘सकसपूर्ण अवस्था आएको छ। कोरोनाले सबैलाई गालेको छ। त्यसमा पनि पर्यटन मजदुर अझै अप्ठेरोमा छौ। ती मजदुर पर्यटन नउकासिएसम्म उठ्न सक्दैनन।  

अधिकारी पनि डेढदशकदेखि पर्यटन क्षेत्रमा सक्रिय छन्। उनी पनि सुरुमा पदयात्रामा थिए, पछि टुरगाइडको लाइसेन्स लिएर पर्यटकलाई देशका विभिन्न भागमा घुमाउँदै आएका थिए। तर, अहिले कोरोनाले गर्दा उनको पनि काम रोकिएको छ। काम मात्र नभई दाम पनि रोकिँदा भविश्य नै अन्योलमय बनेको उनी बताउँछन्। ‘पर्यटनमा लागेका मजदुरको आम्दानी शून्य भयो। पहिले काम गरेका कम्पनिले पनि पैसा दिएका छैनन्। पैसा माग्ने अवस्था पनि छैन,’ अधिकारीले भने।  

अधिकारीको घर कास्कीको अन्नपुर्ण गाउँपालिका–२ शेराचौरमा हो। पर्यटनमा काम नपाएपछि उनी पोखराबाट करिब २५ किलोमिटर टाढाको घरसम्म आउजाउ गर्छन्। फुर्सदमा घरमा खेती किसानीमा सघाउँछन। कहिले पोखरा सहरमा त कहिले गाउँमा उनको बास हुन्छ। पोखरामा दुईजना बच्चा र श्रीमतिसहित चारजनाको डेरा बसाई थियो। पर्यटनमा यो अवस्था रहिरहे अधिकारी अबका केही महिनापछि सपरिवार गाउँ फर्कने योजनामा छन्। भन्छन, ‘पहिला पहिला गाउँमा काम गर्न खेताला खोजिन्थ्यो। यो पटक आफै फुर्सदिलो बनियो, खेताला आफै बनेर घरको खेती किसानी सकियो,’ उनले भने, ‘अब केही महिना यही अवस्था रहे सबै परिवार नै गाउँ फर्किनुको विकल्प छैन।’ उनले पनि पर्यटनमा रहँदा दिनमा दुईहजार रुपैयाँको हाराहारीमा कमाई गर्दथे। निजी विद्यालयमा पढाउने श्रीमति र आफ्नो कमाईले उनको दैनिकी सहज थियो। तर, अब भने अनिश्चिततातर्फ धकेलिएको उनले बताए।  

पर्यटन मजदुरको संस्था यूनियन अफ ट्रेकिङ, ट्राभल,र्‍याफ्टिङ, एयरलाइन्स मजदुर यूनियनका (युनिट्राभ) गण्डकी अध्यक्ष विजय केसीका अनुसार पदयात्रा, टुर, ट्राभल, र्‍याफ्टिङ क्षेत्रका मजदुर दैनिक ज्यालादारीमा काम गर्छन। पर्यटन क्षेत्रमा गण्डकी प्रदेशमा करिब २५ हजार मजदुर रहेपनि पदयात्रा, टुर, ट्राभल, ‍र्यायफ्टिङ क्षेत्रमा भने करिब दुई हजार मजदुर मात्र रहेको उनले बताए। ‘पर्यटन क्षेत्रमा रहेपछि होटल, रेस्टुरेन्ट क्षेत्रमा काम गर्नेले मासिक पारिश्रमिक पाउँछन। तर, पदयात्रा, टुर, ट्राभल क्षेत्रमा दैनिक ज्यालामा काम गर्छन्,’ उनले भने, ‘त्यसले गर्दा मजदुर बढी मारमा छन्।’ उनका अनुसार अहिले कोरोना मारमा परेका ती मजदुर सधैंका लागि पलायन हुने जोखिम छ। ‘धेरैजसो मजदुर गाउँ फर्केका छन्। पदयात्रा चल्ने अवस्था नहुँदा पलायन हुने र भविश्यमा सक्षम मजदुर नपाउने जोखिम पनि उत्तिकै छ,’ उनले भने, ‘अनिश्चित भविश्यमा पर्यटन मजदुर छन्।’  

 

 

 

 

 

प्रकाशित: ३२ श्रावण २०७७ १०:१६ आइतबार

पर्यटन