समाज

कोरोना संक्रमित लुकाएको भन्दै जगदम्बा स्टिल सिल, ६ संक्रमित सम्पर्कविहिन

उद्योग सिल गर्ने क्रममा प्रशासनको टोली

जिल्ला प्रशासन कार्यालय बाराले बिहिबार जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल प्रालिलाई सिल गरेको छ। उद्योगमा कार्यरत ११ जना कोरोना संक्रमित कामदार मध्ये   ६ जना संक्रमितलाई सम्पर्क बिहिन बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय बाराले उद्योगमा सिल गरेको हो।

साउन २५  गते आईतबार जगदम्बार स्टिल प्रालिले उद्योगमा कार्यरत श्रमिक, कामदार कर्मचारीको  स्वाब संकलन गरि परीक्षणको लागि काठमाडौ पठाएको थियो।

साउन २७ गते आएको परीक्षणको रिपोर्टमा  ११ जनामा कोरोना  पोजेटिभ देखिएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितले उद्योगमा कार्यारत ११ जना संक्रमित मध्ये पाँच जना सम्पर्कमा आएको र बाँकी छ जना सम्पर्क बिहिन रहेको बताएका छन्।

उद्योगमा कोरोना संक्रमित भेटिए पछि सम्बन्धीत स्थानीय, राजनीतिक दल, नागरिक समाज लगाएतकोबाट कोरोना संक्रमण फैलिन नदिनको लागि व्यवस्थ गर्न अनुरोध गरिएकोले साउन ३२ गतेसम्मको लागि उद्योगलाई सिल गरिएको प्रजिय पण्डितले बताए।

जगदम्बा स्टिलका संचालक पवनबाबु गुप्ताले उद्योगले कुनै पनि कोरोना संक्रमितलाई सम्पर्क बिहिन नबनाएको बताएका छन्। उद्योगमा कार्यरत केही मजदुरहरु स्वाब संकलन गरिएकै दिन आफ्नो घर भारत फर्किए पछि रिपोर्ट आएकोले उनीहरु सम्पर्कमा आउन नसकेको दावी गुप्ताले गरे।

संक्रमित मध्ये पाँच जना भारतीय मजदुर रहेकाले उनीहरु भारत फर्किएको र एक जना सप्तरीको राजबिराज घर भएकाले उनी राजबिराज गएको बताएका छन्।  

भारतीयहरुको बारेमा भारतीय दूतावास मार्फत र राजबिराजकालाई बारा प्रहरी मार्फत जानकारी गराइएको दावी गुप्तले गरे।

 

 

 

 

 

 

 

 

 

प्रकाशित: २९ श्रावण २०७७ १६:०४ बिहीबार

कोरोना भाइरस