समाज

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेनको यस्तो छ विगत

सुन तस्करी र जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीको विशेष टोलीले उनलाई बाराबाट पक्राउ गरेको हो।

सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन प्रकरणमा उनको कनेक्सन देखिएको थियो। उक्त घटनामा प्रयोग भएको बा ६ च ५५११ नम्बरको स्कोर्पियो गाडी उनको हो। साउन १३ गते प्रहरीले कमलादीबाट सुनको जलप लगाइएको १५ किलो ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुन बरामद गरेको थियो। उक्त समय धातु भएको झोला फालेर स्कर्पियो भागेको बताइएको थियो। प्रहरीले गाडी यस अघिनै नियन्त्रणमा लिइसकेको छ। उनी बारा, प्रस्टोकाका हुन्।  

को हुन् इल्ताफ हुसेन अन्सारी ?

इल्ताफ बारा, प्रस्टोकाका हुन्। भारतीय नक्कली रुपैयाँ कारोबारमा समेत उनलाई जेलसजाय सुनाइएको थियो। अन्सारीलाई ललितपुर जिल्ला अदालतले २०६७ मा नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न ठहर गर्दै ३ वर्ष कैद र २ करोड ६१ लाख जरिवाना असुल्ने फैसला सुनाएको थियो। त्यस पछि फरार रहेका उनलाई प्रहरीले अघि २०७२ जेठ ३० गते पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धान क्रममा अन्सारीले दुवै देशका सुरक्षा अधिकारीका लागि सुराकीको काम गरिरहेको रहस्य फेला परेको थियो। अन्सारीले नेपाल र भारतका सुरक्षा अधिकारीका लागि सूचना दिने ‘डबल एजेन्ट' का रुपमा सक्रिय रहेको रहस्य प्रहरीले फेला पारेको थियो।

अन्सारीले आफुलाई पेट्रोल पम्प सञ्चालक एवं जग्गा प्लटिङ व्यवसायी भन्ने गरे पनि नक्कली भारतीय मुद्रा तस्करीमा समेत उनी संलग्न रहेको प्रहरी बताउँछ।  

उनले वीरगन्ज बसेर पाकिस्तानबाट हवाई मार्ग हुँदै नेपालसम्म नक्कली भारतीय मुद्रा वीरगन्ज हुँदै स्थलमार्गबाट भारत पुर्याउने गरेका थिए। कक्षा ७ सम्म पढेका उनी पछि ट्रक ड्राइभर बने। सुरुमा सीमा क्षेत्रमा पोके तस्करी थालेका उनी पछि नक्कली नोटको कारोबारमा लागे।

जाली नोटका कारोबारी युनुस अन्सारीकै समूहमा रहेका उनले पछि आफ्नै समूह बनाएर तस्करी थालेका थिए। भारतीय नक्कली नोटको कारोबारमा अन्सारी अहिले जेलमा छन्। फैजान अहमद, महमुद आलमलगायतकाको हत्या एवं युनुस पक्राउपछि इल्ताफ कारोबारमा सक्रिय भएका थिए। युनुस कारागार पुगेपछि काठमाडौंमा पक्राउ परेका नक्कली भारुका कारोबारीबाट इल्ताफ को नाम खुलेको थियो।  

इल्ताफले भारतीय नक्कली नोटको कारोबार गरेरै करोडौं मूल्यको घर, जग्गा र गाडी जोडेका थिए। प्रहरी स्रोतका अनुसार पाँच वर्षअगाडि उनले किनेको बा६च ५५१९ नम्बरको स्कार्पियो गाडी यसपटक नक्कली सुन बोक्न प्रयोग भएको थियो। प्रहरीले सो गाडी बरामद गरिसकेको छ। जेलमा रहेका अन्सारीसँग हुसेनको पारिवारिक सम्बन्ध रहेको देखिन्छ।  

 

 

प्रकाशित: २९ श्रावण २०७७ ०६:०२ बिहीबार

पक्राउ तस्करी