समाज

प्रदेश १ मा संक्रमित र मृतक संख्या बढेको बढ्यै

समुदाय तहमै फैलिसकेको र फरक ठाउँमा संक्रमित भेटिने क्रम पनि तीव्र रहेको प्रदेश १ मा बुधबार ४८ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमित संख्या थपिने क्रम जारी रहँदा मृतकको संख्या पनि प्रदेशमा बढिरहेको छ।  

बुधबार मोरङको बुढिगंगा २ का कोरोना संक्रमित पुरुषको सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ । योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ। मृत्यु हुनेहरु सबै मोरङका हुन्। यस्तै प्रदेश बाहिरका २ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भइसकेको छ।  

झापा मेचीनगरको आम्दा अस्पतालमै कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि अस्पताल नै सिल भएको छ। मेचीनगरले एक साता लकडाउन गर्ने निर्णय गरेको छ। यसअघि नै विराटनगर, इटहरी, धरान  लगायत प्रदेशका मुख्य सहरमा लकडाउन भइसकेको छ।  

बुधबार थप भएकासहित प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा मोरङमा २४, सुनसरीमा १४, झापामा ९ र प्रदेश बाहिर ठेगाना भएका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।  

प्रदेशमा अहिलेसम्म कोरोनामुक्त भएर १ हजार ११८ जना डिस्चार्ज भएका छन्। गएको २४ घण्टामा अहिलेसम्मकै धेरै १ हजार ८७८ जनाको पिसिआर बिधिबाट कोरोना परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ।  

 

प्रकाशित: २८ श्रावण २०७७ १०:१५ बुधबार

कोरोना भाइरस