समाज

हिंसा पीडित महिलाका लागि सुरक्षित आश्रय गृह

सुरक्षित आश्रय गृह संचालनका लागि छलफल कार्यक्रम । तस्बिर: दिनेश/नागरिक

लैगिंक हिंसा, घरेलु हिंसा वा अन्य हिंसाबाट पीडित महिलाहरुका लागि अल्पकालीन सुरक्षित आश्रय गृह संचालनमा आईरहेकोमा त्यसलाई ब्यवस्थित गर्न भन्दै सोमबार रोल्पा सदरमुकाम लिवाङमा सरोकारवाला बीच बृहत छलफल गरिएको छ । जिल्लाका १० वटै स्थानीय तहका उपप्रमुखसंगै सरोकारवालको उपस्थितिमा भएको कार्यक्रममा सुरक्षित आश्रय गृह संचालनका विषयमा छलफल गरिएको थियो ।  

हिंसा पीडित महिलालाई पर्याप्त सुरक्षित र संरक्षित वातावरण प्रदान गर्ने, सेवामा पहुँच बढाउने, महिला अधिकार सम्बन्धी शिक्षा र जनचेतना अभिबृद्धि गर्ने तथा हिंसा पीडित महिलाहरुका लागि जीबिकोपार्जनमा सहयोग गरि आत्मनिर्भर बनाउने विषयमा छलफल केन्द्रित थियो । २०७१ सालबाट सुरु गरिएको अल्पकालीन सुरक्षित आश्रय गृह संचालनमा समस्या आएपछि बृहत छलफल गरिएको हो ।

हाल स्थानीय एक संस्थाले संचालनमा ल्याएको आश्रय गृहमा अहिले सम्म ४ सय ९२ जना हिंसा पीडितले सेवा लिएको तथ्याङ छ । उनीहरुसंग ९८ जना बालबालिका पनि आश्रय गृहमा आमासंगै बसेका थिए । बिभिन्न तरिकाबाट पीडित महिला मध्ये ३ सय १५ जनालाई मनोबिमर्श सेवा दिनुपरेको थियो ।  

आश्रय गृह संचालनका लागि आर्थिक जोहो गर्न समस्या भएपछि जिल्ला समन्वय समिति र युएनएफपिएको सहयोगमा सबै स्थानीय तहका उपप्रमुखहरुलाई राखेर बर्तमान अवस्थाको जानकारी गराउनुका साथै सहयोगका लागि पनि अनुरोध गरिएको हो । सोमबार सम्पन्न कार्यक्रममा स्थानीय तहका उपप्रमुखसंगै जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, रोल्पा प्रहरी प्रमुख लगायत सरोकारवालको उपस्थिति रहेको थियो ।  

अल्पकालीन सुरक्षित आश्रय गृह संचालन कार्यबिधि तयार गर्न नगर उपप्रमुख मनकुमारी घर्तीको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी नबराज शर्मा, प्रहरी निरीक्षक संकर खड्का, सरकारी वकिल नुमराज खनाल, रोल्पा अस्पतालका डा. प्रकाश बुढा, नेपाल महिला सामुदयीक सेवा केन्द्रका मनोबिर्मषकर्ता दिपा धिताल, सेफ हाउसकि तिर्था आचार्य, पत्रकार महासंघ अध्यक्ष महेश न्यौपाने, अधिबक्ता दामोदर सुवेदी, युएनएफपिएका खगेन्द्र भट्ट सदस्य रहेको समिति गठन गरिएको छ । जसको सदस्य सचिबमा जिल्ला समन्व अधिकारी टंक गौतम रहेका छन् ।

प्रकाशित: २८ श्रावण २०७७ ०७:०६ बुधबार