समाज

पशुचौपायामा अज्ञात रोग

सिन्धुलीको कर्णाली भनेर चिनिने हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा पशुचौपायामा अनौठो खालको रोग देखापरेको छ। पशुचौपायामा देखापरेको अनौठो रोग हरिहरपुरगढी–५ तथा दुधौली वडा नं ४, ५ र ११ मा देखापरेको जनप्रतिनिधिले बताएका छन्।

पशुचौपायाको गोडा सुनिने, घाँस नखाने र झोक्राएर बस्नेजस्ता समस्या देखिएको हरिहरपुरगढी–५ का वडाध्यक्ष झलककुमार माझीले जानकारी दिइन्। उनका अनुसार सो वडामा करीब ४५/५० किसानले पालेका पशुचौपायामा यस्तो पहिचान नै हुन नसकेको रोग देखापरेको छ।

अचानक देखापरेको सो रोग कस्तो खालको हो भन्ने अहिलेसम्म पशु चिकित्सकले पनि पहिचान गर्न सकेका छैनन्। पहिचानको काम भइरहेको पशु प्राविधिक नम्रजय अधिकारीले बताए। उक्त रोगको लक्षण देखापरेका पशुचौपायामा छालामा डाबर देखिने, र्‍याल बगाउने र उच्च ज्वरो आउने गरेको पनि पाइएको पशु चिकित्सक विपीनजङ्ग राईले बताए।

प्रकाशित: २५ श्रावण २०७७ ०७:१४ आइतबार

अज्ञात रोग