समाज

विदेशमा अलपत्र ४५ हजारभन्दा बढीको उद्वार

सरकारले विदेशमा अलपत्र परेका ४५ हजारभन्दा बढी नेपाली नागरिकको उद्वार गरेको छ । कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज परस्थितिमा विश्वका ५८ देशबाट हालसम्म ४५ हजार ६६२ जनाको उद्वार गरिएको हो ।

उद्वार गरिएकामध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार २५ र सबैभन्दा कम इरान, आर्मिनिया र चेक गणतन्त्रबाट दुई–दुईजना छन् । त्यसैगरी साउदी अरेबियाबाट ६ हजार ५८२, मलेसियाबाट ६ हजार ४६४, कुवेतबाट ६ हजार ३२० र कतारबाट चार हजार ७१८ जनाको उद्वार भएको छ ।  

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका अनुसार हालसम्म प्रदेश नं १ का नौ हजार ४१८, प्रदेश नं २ का सात हजार ३५६, वाग्मती प्रदेशका १२ हजार ५७०, गण्डकी प्रदेशका पाँच हजार ७८२, प्रदेश नं ५ का सात हजार ४७९, कर्णाली प्रदेशका एक हजार २६ र सुदूरपश्चिम प्रदेशका एक हजार १६८ जनालाई उद्वार गरिएको छ ।

शुक्रबारमात्र ८६३ जनाको उद्वार गरिएको र संयुक्त अरब इमिरेट्सको दुबईबाट १५१ जनाको शव ल्याइएको उक्त केन्द्रले जनाएको छ ।

प्रकाशित: २४ श्रावण २०७७ ०७:५९ शनिबार

विदेशमा अलपत्र नेपाली