समाज

बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने २ सयजना कारवाहीमा

नेपाल–भारत सीमा नाका जोडिएको बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने करीब २०० जनालाई नियन्त्रणमा लिएर कारवाही गरिएको छ । बाँकेमा कोरोना संक्रमितको संख्या बढेपछि जिल्लामा जारी गरिएको निषेधाज्ञा कार्यान्वयन गराउन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना आफैँ फिल्डमै खटेर आदेश अवज्ञा गर्नेलाई कारवाही गर्न थालेका छन् ।  

यसै क्रममा आज बिहानदेखि निषेधाज्ञाको उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगञ्जको विभिन्न स्थानमा होल्डिङ गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाइएको प्रहरी प्रमुख रानाले जानकारी दिए । निषेधाज्ञाको अटेरी गर्ने पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उल्लंघन ऐनअन्तर्गत १०० रुपैयाँ जरिवाना लिएर छाडिएको छ ।

कोरोना संक्रमित पाँच सय

नेपाल–भारत सीमा नाका जोडिएको यस जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेकोे संख्या ५०० नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार बाँके जिल्लाका ४९८ र अन्य जिल्ला घर भई बाँकेमा कार्यरत चारसहित जिल्लाभित्र संक्रमित हुनेको संख्या ५०२ पुगेको जानकारी दिइएको छ । तीमध्ये विभिन्न क्वारेन्टिनमा २१३ रहेका छन् । दुई जनाको ज्यान गइसकेको छ । तीन सय ९८ जना कोरोनामुक्त भई घर गएका छन् । अब विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका चार गरी १०२ जना उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइसोलेसन सेन्टर आदर्शनगर नेपालगञ्जबाट नेपालगञ्ज–११ र १२ का ४० र १८ वर्षीय दुई पुरुष र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराबाट कोहलपुर–९ का २१ र २७ वर्षीया दुई महिला कोरोनामुक्त घर जान लागेको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: २३ श्रावण २०७७ ०९:२० शुक्रबार