समाज

गोरखाको आरुघाट र लक्ष्मीबजारमा फैलियो कोरोना

गोरखा नगरपालिका वडा नम्बर ९ लक्ष्मीबजार र आरुघाट गाउँपालिका–९ मा समुदायमा कोभिड–१९ को संक्रमण फैलिएको छ। लक्ष्मीबजारमा ब्यूटिपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गर्दा थप तीन जनामा संक्रमण पुष्टि भएको हो।  

५१ जनाको पिसिआर परीक्षण गर्दा तीन जनाको पोजेटिभ रिपोर्ट आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए। एकै परिवारका दुई बालक र एक महिलामा कोरोना संक्रमण देखिएपछि समुदायमा कोरोना फैलिएको हुन सक्ने आशंका गरिएको छ। उनीहरुको नजिक सम्पर्कमा रहेकाहरुको पिसिआर परीक्षण गर्ने योजना रहेको नगरपालिकाले जनाएको छ। उनीहरुलाई उपचारका लागि आइसोलेसन लगिएको छ। समुदायमा कोरोना फैलिएपछि गोरखा नगरपालिका वडा नम्बर ९ को कार्यालयले सेवा बन्द गरिएको वडा अध्यक्ष कुलबहादुर कुँवरले बताए। जिल्ला स्तरीय कमाण्ड पोष्टको बिहिवार बसेको बैठकले लक्ष्मीबजार र आसपासको क्षेत्र ‘सिल’ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी हर्क रोकाले बताए।  

भारतबाट आई दुईदिन घर परिबारसँग बसेर आरुघाटको भीमोदय माविको क्वारेण्टाइनमा बस्न गएका ४६ बर्षका पुरुषमा कोरोना पोजेटिभ देखिएको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठका अनुसार उनलाई संक्रमण पुष्टि भएसँगै स्थानीय त्रासमा छन्। भारतिय सेनामा कार्यरत उनी गत साउन १७ गते आएका थिए। उनको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङको तयारी गरिएको छ।  

प्रकाशित: २२ श्रावण २०७७ ११:४९ बिहीबार

संक्रमण फैलियो कोरोना