समाज

कोरोनाको जोखिम बढेपछि उपत्यका भित्रिने नाकामा कडाई

क्याप्शन

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको सख्या बढेसँगै उपत्यका भित्रिने नाकाहरूमा चेकजाँचमा कडाई गरिएको छ । सरकारले लकडाउन केही खुकुलो गरेसँगै विभिन्न नाका हुँदै काठमाडौं छिर्नेहरूको संख्या बढ्दै गएपछि केही दिन नाकामै स्वाब संकलन गरेको सरकारले अहिले भने सवारी पास जाँचमा पनि कडाई गरेको हो ।  

उपत्यका प्रवेश पास नभएका सवारी साधनलाई प्रहरीले नाकाबाटै फिर्ता पठाएको छ । यसअघि नाकासम्म एउटा सवारी सधानमा आएर पैदल हुँदै उपत्यका प्रवेश गर्ने उपत्यका छिरेपछि अर्को गाडीमा आउने गरेका यात्रुहरूलाई पनि रोक लगाइएको छ । प्रहरीले आज पैदल हिडेर प्रवेश गर्न खोज्ने विना पासका यात्रुहरू सबैलाई फर्काएको छ । उपत्यका छिर्ने साँगा नाकामा बुधबार अपरान्हसम्म मास्क नलगाका २५ जनालाई प्रहरीले कारबाही गरेको छ । पास नभएका गाडीहरूलाई फिर्ता पठाइएको छ ।

उपत्यका छिर्ने नाका साँगा हुँदै काठमाडौं छिर्ने पास विनाका गाडीहरूलाई फिर्ता गरिएको छ । भने, मास्क नलगाई यात्रा गर्ने यात्रु र पैदल यात्रुहरू प्रहरी कारबाही समेत गरिरहेको छ । नागढंगा नाका हुँदै दैनिक ४ देखि ६ सयसम्म सवारीहरू भित्रिने गरेका छन । बुधबार दिउँसो नागढुंगा नाकामा उपत्यका प्रवेश गर्ने सवारी र प्रहरी चेकिङको दृश्य यस्तो देखिन्थ्यो ।

उपत्यका बाहिरबाट आउनेमा संक्रमण देखिन थालेपछि सरकारले प्रवेशमा कडाई गरेको हो । मंगलबारमात्रै उपत्यकामा ६२ जना संक्रमित थपिएका थिए । नागढुंगा, साँगा र फर्पिङहुँदै नागरिक ठुलोसंख्यामा उपत्यका प्रवेश गरिरहँदा जोखिम बढेको निष्कर्ष सहित सरकारले प्रवेशमा कडाई गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार उपत्यका भित्रिने नाकाहरूमा गरिएको परीक्षणमा ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । नाकाहरूमा गरीएका १० हजार ८ सय ५३ वटा पिसिआर परीक्षणमा ४० जनामा संक्रमण पोजेटिभ देखिएको हो ।

प्रकाशित: २१ श्रावण २०७७ ०९:५० बुधबार

नाकामा कडाई उपत्यका भित्रिने