समाज

सधैं पहिरोको त्रासमा सुुदूूरपहाड

बर्खा सुरु भएसँगै सुदूरपहाडी जिल्लामा पहिरोको जोखिम बढ्ने गरेको छ। पहाडी धरातल, सडक निर्माणलगायत मानवीय संरचनाका कारण बर्खायाममा पहिरोले जनधनको क्षति गर्दै आएको छ। बाढीपहिरोका कारण एक महिनाको अवधिमा बझाङ, दार्चुुला, अछाममा मात्रै २३ जनाले ज्यान गुमाएका छन् भने लाखौं रूपैयाँको धनमाल क्षति भएको छ। पहिरोका कारण एकजना बेपत्ता भएका छन् भने करिब १ सय ८० घरपरिवार विस्थापित भएका छन्। सुदूरपहाडी क्षेत्रका अधिकांश जिल्लाका गाउँ नै गाउँ पहिरोको उच्च जोखिममा रहेका छन्।

पहिरोका कारण गत महिना बझाङको केदारस्यु गाउँपालिका–४ मल्लेसिीमा ६ जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। जयपृथ्वी नगरपालिका–७ मा एक बालकको पहिरोमा च्यापिएर मृत्यु भएको थियो भने जिल्लाका विभिन्न भागमा खोलामा नुहाउने क्रममा पानीको बहाव बढेर चारजनाले ज्यान गुमाएका छन्। दार्चुलाको नौगाड गाउँपालिकामा पाँचजना, मालिकार्जुन गाउँपालिकामा दुईजना दहुँ गाउँपालिका–३ मा पहिरोले घर पुरिँदा दुईजनाले ज्यान गुमाएका छन् भने पहिरोका कारण धेरै परिवार विस्थापित हुनुका साथै सयांै घर जोखिममा छन्।

यस्तै बाजुराकोे बूढीगंगा नगरपालिका–२ अम्कोटमा पहिरोमा च्यापिएर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन् भने नदीमा डुबेर एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। अछाममा मात्र पहिरो र नदीका कारण ४५ परिवार विस्थापित भएका छन् भने ६५ परिवार उच्च जोखिममा छन्। विकासका नाममा गाउँगाउँमा सडक पुु¥याउने भन्दै मेसिनले सडक काट्ने क्रम बढेपछि बर्खामा पहिरोको जोखिम बढेको हो। पहाडी क्षेत्रमा जथाभावी डोजर चलाउँदा बढी जोखिम देखिएको छ। गाउँगाउँमा सडक पु¥याउने भन्दै स्थानीय तहदेखि प्रदेश र संघले सडक खन्न थालेपछि सुदूरपहाड पहिरोको जोखिममा परेको हो।

अछामको रामारोसन गाउँपालिका–५ र ६ मा बाढीले अलेडी गाउँका ४२ परिवार विस्थापित हुनुका साथै ६५ परिवार जोखिमा परेका छन्। बाढीले चारवटा लघुजलविद्युत् योजना र १६ वटा पानीघट्टा बगाउनुका साथै चारवटा झोलुंगे पुल जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बाजुराको मार्तडीदेखि अछामको साँफेबगरसम्मको सडकखण्डमा पर्ने अम्कोट र पानी नाउलामा पहिरो जानुका साथै ताप्रीसेरामा पक्की पुल बगाउँदा दुई सातादेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको बाजुरा प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए।  

यस्तै बझाङको केदारस्यु गाउँपालिकामा २१ परिवार विस्थापित र १५ परिवार उच्च जोखिममा रहेका छन्। बझाङको चैनपुर ताक्लाकोट सडकखण्डको सुनिकोट र बयाधारमा पहिरोका कारण सडक भत्केर एक सातादेखि यातायातका साधन चल्न सकेका छैनन्। सडक अवरुद्ध हँुदा यहाँका स्थानीय दैनिक उपभोग्य सामग्री महँगोमा खरिद गर्न बाध्य भएका छन्। सडक कटानले पहिरो जाँदा थलारा गाउँपालिका–३ मा रहेको बस्ती नै जोखिममा छ।

दार्चुलाको महाकाली नगरपालिका–१ कलौनमा आइतबार बिहान आएको पहिरो खस्दा दार्चुला–तिंकर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरो खस्दा मानिसहरूको आवतजावत बन्द भएको प्रहरीले जनाएको छ। जिल्लाका दुहु, व्याँसबाट जिल्ला सदरमुकाम आउनेहरू र खलंगाबाट गाउँ जाने स्थानीय बीच बाटामै रोकिएको प्रहरीले जनाएको छ।

कमजोर भौगर्भिक अवस्था भएको पहाडी जिल्लामा जथाभावी डोजर चलाएका कारण पहिरोको खतरा दिनप्रतिदिन बढ्दै गएको छ। पहिरोकै कारण बर्सेनि मानवीय क्षति हुनका साथै खेतीयोग्य जमिनसमेत बगाउने गरेको छ।  बर्खा सुरु भएपछि यहाँका स्थानीय सधैं चिन्तामा हुन्छन्। कम वर्षा हुँदासमेत पहाडको माथिबाट खस्ने पहिरोले जोखिम निम्त्याएको बैतडीको पुर्चौडी नगरपालिका–८ का नरेन्द्रसिंह साउदले बताए। बढी वर्षा हुँदा पहिरोको त्रासले रातभर जाग्राम बस्नुपर्ने बाध्यता रहेको उनी बताउँछन्।  

जथाभावी सडक खनेपछि आएको पहिरोले जिल्लाको खानेपानी र सिँचाइ सञ्जालमा क्षति पुगेको छ। राज्यकै संयन्त्रहरूबाट जथाभावी डोजर चलाएर सर्वसाधारणको उठीबास लगाउने काम हुने गरेको छ। जथाभावी सडक खन्दा बैतडीमा पनि सयौं रोपनी खेतीयोग्य जमिन उजाड बनेको छ। एउटै गाउँ पुग्न दुईतीनवटा सडक खनिएका छन्। दशरथचन्द नगरपालिका–७ का महेश बडूले भने, ‘राजनीतिक पहुँचका कारण पार्टीपिच्चे अलगअलग सडक खनेकाले गाउँमा पहिरोको जोखिम छ।’ बर्सेनि खेतीयोग्य जमिन पहिरोले पुर्दै आएको छ। जथाभावी डोजरले सडक खनिएपछि पहिरोको जोखिम बढेको हो। पानी पर्दा गाउँ माथिबाट ढुंगा र पहिरो खस्ने सम्भावनाले सधैं त्रासमा बस्नुपर्ने मेलौली नगरपालिका–९ विशालपुरका महेश भट्टले बताए।

पछिल्लो समय वातावरणीय प्रभावको विश्लेषण नगरी डोजर लगाएर सडक खन्ने काम तीव्र रूपमा भइरहेका कारण पहिरोको खतरा बढेको छ। वन क्षेत्र र खेतीयोग्य जमिनमा सडक काटिएको स्थानीय बताउँछन्। वन डिभिजन कार्यालय बैतडीले धेरै ठाउँमा वन क्षेत्रमा काटिएका सडक रोकेको डिभिजन वन अधिकृत केशव पराजुलीले बताए।

पहिरोका कारण प्रत्येक वर्ष धनजनको क्षति हुने गरेको स्थानीय बताउँछन्। स्थानीय तहहरूसँग विपद् व्यवस्थापन योजना नहुँदा विपद्को समयमा के गर्ने कसो गर्ने भन्ने अलमल हुने गरेको नेपाल रेडक्रस सोसाइटी बैतडीका रमेशसिंह भण्डारीले बताए। विपद् व्यवस्थापन योजनाको अभावमा राहत, उद्धार तथा अन्य कार्यहरू परिचालन गर्न समस्या हुने गरेको छ। बैतडीको दोगडाकेदार गाउँपालिका–६ डोलमा करिब २५ परिवार पहिरोकै जोखिममा बसेको स्थानीय लोगसिंह भाटले बताए।  

२०१८ सालदेखि आउन थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन। ‘वर्षात्को समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहा नै हुँदैन। हरेक वर्षात्मा अनिँदै रहेर रात काट्नुपर्छ,’ स्थानीय भोजराज जोशीले भने, ‘भित्रभित्रै जमिन भासिएपछि हाम्रो गाउँका हरेक घर बांगा छन्। पहिरोको जोखिममै बाध्यता बस्नुपरिरहेको छ।’ यस्तै पुर्चौडी नगरपालिका–८ को लामुनी पहिरोले पनि प्रत्येक वर्ष स्थानीयको घरखेत बगाउने गरेको छ। पहिरोका कारण गाउँ नै जोखिममा रहेको स्थानीय गणेश साउदले बताए। मेलौली नगरपालिका–८ र ९ का करिब ६ सय परिवार पनि पहिरोको जोखिममा रहेको स्थानीय महेशदत्त भट्टले बताए।

प्रकाशित: २० श्रावण २०७७ ०२:५२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App