समाज

संक्रमण समुदायमा फैलिँदा प्रदेश २ का सात सहरमा निषेधाज्ञा

संक्रमण फैलिँदै, परीक्षण खुम्चिँदै

झन्डै चार महिना लामो देशव्यपी लकडाउन अन्त्य भएलगत्तै प्रदेश २ मा कोरोना संक्रमित र मृतकको ग्राफ डरलाग्दो रुपमा बढेको छ । संक्रमित र मृतकको संख्या बढ्न थालेपछि प्रदेशका मुख्य सात सहरमा निषेधाज्ञा र लकडाउन जारी गरिएको छ ।

पछिल्लो समय कोरोना संक्रमणबाट मृत्यु भएका र संक्रमितसँग सम्पर्कमा नआएका समुदायका व्यतिmमा संक्रमण पुष्टि भएको छ ।  कुनै यात्रा इतिहास नभएकामा पनि संक्रमण देखिएको छ । चिकित्सक, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्मचारी, पत्रकार, समुदायका सर्वसाधारणलगायत संक्रमित पाइएको छ । मृतकको संख्या बढ्दै जानु र समुदायमा संक्रमित थपिदै जानुले प्रदेशमा कोरोना महामारीको फैलावट काबु बाहिर गइरहेकोप्रति स्वास्थ्य विज्ञहरूको चिन्ता छ ।  

समुदायमा संक्रमणको साइकल ब्रेक गर्न यस प्रदेशका जनकपुर, वीरगन्ज, राजविराज, बारा र जलेश्वरमा निषेधाज्ञा जारी गरिएको  छ । सप्तरीमा मंगलबार बिहान ५ बजेदेखि जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । जनकपुरमा पनि संक्रमण अनियन्त्रित बनेपछि सोमबार राति १२ बजेदेखि निषेधाज्ञा लगाउने निर्णय गरिएको  प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले थप संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न साउन २५ गतेसम्म निषेधाज्ञा लगाइएको उनले जानकारी दिए ।

राजविराजमा कोरोना संक्रमितको मृत्यु भएपछि साउन ८ देखि लागेको निषेधाज्ञा मंगलबारबाट जिल्लाभरी विस्तार गरिएको छ । वीरगन्जमा संक्रमित थपिएसँगै मृत्यु हुनेको संख्या उच्च बनेपछि साउन १० देखि निषेधाज्ञा लागू गरिएको छ । सीमावर्ती सहर जलेश्वरमा साउन १६ देखि र बाराका अधिकांश स्थानमा आइतबारदेखि निषेधाज्ञा लागू गरिएको छ । प्रदेश २ मा संक्रमण र मृत्युदर बढ्दै गएपछि आवश्यक समन्वयका लागि स्वास्थ्य मन्त्रालयले दीपेन्द्ररमण सिंह नेतृत्वको टिम वीरगन्ज र जनकपुरका लागि खटाएको छ ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमणको संख्या सोमबारसम्म ५ हजार ९ पुगेका छन । संक्रमणबाट सबैभन्दा बढी १२ जना वीरगंजमा, बारामा २ , रौतहटमा २, धनुषामा १, महोत्तरीमा १, सप्तरीमा १ गरी १९ जनाको प्रदेश २ मा मृत्यु भइसकेको छ । क्वारेन्टाइनमा १ हजार ५ सय ८८ र आइसोलेसनमा ६ सय २६ जनाको उपचार भइरहेको छ । ३ हजार १ सय ८४ जना निको भएर घर फर्किएका छन ।  

परीक्षण बढेन

प्रदेश २ को आठ वटै जिल्लामध्ये सिरहामा स्वाब परीक्षण सबैभन्दा कम छ । हालसम्म ४ हजार २ सय २ स्वाब संकलन गरिएकोमा २ सय १४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । १ सय ७५ जनाको रिपोर्ट आउन बाँकी छ ।  

स्वास्थ्य प्रमुख कृष्णदेव यादवकाअनुसार प्रदेश आपूर्ती महाशाखाबाट मागअनुसारको भिटिएम उपलब्ध नहुँदा परीक्षणको आयतन बढाउन सकिएको छैन । अर्को समस्या संकलित स्वाब परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल प्रयोगशाला पठाउँदा नलिइदिनाले पनि परीक्षण बढाउन नसकिएको यादवले बताए ।

आइतबार डिसिएमसि सिरहाको निर्णयअनुसार यस महिनाभित्र समुदायका ९ हजार जनाको परीक्षण गर्ने निर्णय गरेको यादवले बताए । जसका लागि ४ हजार भिटिएम प्रादेश आपूर्ति महाशाखासँग माग गरिएको उनले बताए । तर, प्रदेशबाट पाँच सय भिटिएम मात्र उपलब्ध गराउन सकिने आश्वासन दिएको छ । प्रदेशबाट मागअनुसारको भिटिएम आपूर्ति नहुने भएपछि प्रत्येक पालिकालाई कम्तीमा एक हजार भिटिएम खरिद गर्न डिसिएमसिले आग्रह गरेको छ ।  

कोरोनाको पछिल्लो हटस्पट पर्सा जिल्लामा सोमबारसम्म ११ हजार ३ सय ६७ स्वाब संकलन भएको छ । समुदायमै संक्रमण फैलिएपनि प्रदेशमा परीक्षणको दायरा र आयतन नबढाइनु चिन्ताको विषय भएको नारायणी अस्पताल वीरगंजका प्रमुख डा. मदन उपाध्याय बताउँछन । संक्रमितको दायरा बढ्दै गएपछि परीक्षणको दायरा बढ्न नसक्नुले समुदायमा भयावह अवस्थाको संकेत गरेको उनले बताए । सोमबारसम्म प्रदेशभर ६१ हजार ६ सय ९२ स्वाब संकलन भएको छ ।

प्रकाशित: १९ श्रावण २०७७ १४:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App