विराटनगर स्थित वीरेन्द्र सभागृह पुनर्निर्माणको तयारी थालिएको छ । लामो समय देखि मर्मत नहुँदा जिर्ण बनेको सभागृह पुनर्निर्माण गरी अत्याधुनिक सुविधा सम्पन्न बनाउन लागिएको विराटनगर महानगरपालिकाले जनाएको छ ।
नगरविकास कोसको सहयोगमा महानगरपालिकाले दुई वर्ष भित्रै सभागृहलाई आधुनिक स्वरुपमा निर्माण सम्पन्न गर्ने लक्ष राखेको विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले बताए । पराजुलीकाअनुसार बीरेन्द्र सभागृहलाई रेक्ट्रो फिडिङको विधिमार्फत आधुनिक स्वरुपमा बदल्ने प्रकृया अगाडि बढिसकेको छ । महानगरपालिकाले बीरेन्द्र सभागृह पुनर्निर्माणको काम तत्कालै अघि बढाउन नेपाल सरकारको नगर विकास कोषसँग ऋण सम्झौता गरी ठेक्काप्रकृया अघि बढेको नगरप्रुमख पराजुलीले बताए। उनका अनुसार महानगरपालिकाले कोषबाट १२ करोड ऋण सहयोग लिएर सभागृहको पुननिर्माण अगाडि बढाउन लागेको हो ।
बीरेन्द्र सभागृह पुनर्निर्माण गर्न करिब २७ करोड लाग्ने अनुमान गरिएको छ । विस्तृत परियोजना प्रतिवेदन अनुसार सभागृहको अहिलेको स्वरुपमा व्यापक परिवर्तन गरिनेछ । सभागृह मर्मत गरी बिशिष्ट पाहुनाकक्ष, सञ्चार कक्ष(मिडिया क्याबिनेट), केन्द्रीय वार्तानुकुलित सुविधा (सेन्ट्रल एसी) आदिको प्रवन्ध गरिने छ । प्रमुख पराजुलीले सभागृह प्रदेशकै नमूना बन्ने बताए । दुई वर्ष भित्रमर्मतको काम सम्पन्न गर्ने सम्झौता भएपनि डेढ वर्षमै काम सक्ने पराजुलीको दाबी छ । उनले भने‘दुई वर्षमा सक्ने लक्ष राखिएपनि डेढ वर्षमै काम सम्पन्नगर्ने हाम्रो योजना छ ।’
प्रदेशको राजधानी बनिसकेको विराटनगरमा सुविधा सम्पन्न सभाहलको अभाव छ । २०३३ सालमा निर्माण भएको सभागृह मर्मत सम्हारको अभावमा कुरुप बनेको छ । सभागृहका कुर्सि भाँचिएका छन् । शौचालयहरू शौच गर्न योग्य छैनन् । बत्ती, खानेपानीलगायतका पूर्वाधारको पनि सभागृहमा अभाव छ । सभागृह परिषरको पोखरीलाई भने निजी क्षेत्रसँगको सहकार्यमा विराटनगर महानगरपालिकाले इको पार्कका रुपमा विकास गरेको छ । सभागृह परिषरको पोखरीलाई इको पार्कका रुपमाविकास गरिए पनि वर्षभरी सभा सम्मेलन आयोजना हुने वीरेन्द्र सभागृहको पुनर्निर्माणमा भने वेवास्था गरिंदै आएको थियो ।
प्रकाशित: १९ श्रावण २०७७ १२:२६ सोमबार