समाज

एसिड पीडित भन्छन् : कमजोर सजायँका कारण घटना बढे

तेजाब (एसिड) प्रहार गर्नेलाई कडा कानुन बनाई कारबाही गर्न पीडितहरुले माग गरेका छन्। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमबारको बैठकमा उपस्थित एसिड आक्रमणका पीडितहरुले कडा कानुन बनाउन माग गरेका हुन्।  

उनीहरुले एसिड प्रहार गर्ने व्यक्तिलाई जन्म कैद गर्नुपर्ने अथवा एसिडको बदलामा एसिडबाट नै कारबाही हुनुपर्ने माग राखेका छन्। कमजोर दण्ड सजायँका कारण एसिड प्रहार गर्ने घटनाहरु बढिरहेको र अरुको जीवन बर्बाद पार्नेगरी आक्रमण गर्नेहरुलाई सामान्य दण्ड सजायले नपुग्ने भन्दै कडा कानून बनाउन माग गरेका हुन्। एसिड आक्रमणबाट पीडित भएकी जेनी खडकाले कानूनमा दण्ड सजायको व्यवस्था कम हुँदा एसिड अक्रमणको घटना नरोकिएको बताइन्। कमजोर कानून देख्दा आफुलाई अदालत जान समेत मन नलागेको उल्लेख गर्दै सामान्य कानूनबाट न्याय नपाएकाले आक्रमण गर्नेहरुलाई पनि एसिडको बदला एसिडबाटै कारबाही गर्ने व्यवस्था गर्न माग गरिन्। उनले भनिन्, 'पढ्दा दुईवटा कानुन के थियो भने एक त ५ वर्षदेखि ८ वर्षसम्मको सजाय त्योपनि अनुहार नै कुरुप भएको छ भने अरु सरिरको कुनै अर्थ नै छैन्। मेरो त हातभरी छ घाँटीभरी छ अनुहार त मेरो बचेको छ त्यो मेरो लक्किले बचेको हो। जहाँ परेपनि आखिर पीडा त उस्तै नै हो। अदालतमा के छ भने अरु बाँकी पार्टको तीन वर्ष देखि ५ वर्ष सम्मको र अनुहार नै कुरुप भएको छ भने ५ वर्षदेखि ८ वर्ष सम्मको छ। क्षतिपूर्ति पनि एक लाखदेखि ५ लाखसम्मको भन्ने छ। क्षतिपूर्ति चहिँदैन किन भने त्यो क्षतिपूर्तिले हुनेवाला केही छैन। एसिड आक्रमण हुन्छ सरकारले पुरै जिम्मा लिओस उसको स्वास्थ्यको उपचार गर्ने पुरै जिम्मा लिओस। अनि कानूनमा, हजुरहरुलाई सायद सुन्दा बदलाको भावना हुन्छ तर एसिडको बदला एसिड नै भयो भने एक जना पनि महिला कसैमाथि पनि आक्रमण हुँदैन।

एसिड आक्रमणबाट पीडित भएकी मुस्कान खातुनले एसिड प्रहार गर्ने अपराधीलाई जन्म कैद हुनुपर्ने माग गरिन्। ८ वर्षसम्म कैद सजाय हुने भएपनि दिन रात गणना गर्दा चार वर्ष मै उन्मुक्ति पाउने भएकाले सजाय कम भएको बताइन्। उनले भनिन्, 'अपराधीलाई जन्म कैद हुनपर्यो। किनकी कानुनमा ५ वर्षदेखि ८ वर्षसम्म सजाय छ। रात दिन गिन्ति गरेर आठ वर्ष सजाय भयो भने चार वर्ष मै निस्किन्छ र तिनिहरुले पीडा के हो भनेको बुझ्दै बुझ्दैन। हाम्रो यो दाग कहिले पनि जाँदैन। यो दाग हाम्रो जीवन भरिका लागि नै बस्छ। त्यसैले म भन्न चाहन्छु की अपराधिलाई जन्म कैद नै हुनुपर्छ।’

एसिड आक्रमणबाट पीडित भएकी संगीता मगरले सजाय कम हुँदा प्रतिशोध लिने काम बढेको बताइन्। उनले अरुको जीवन बर्बाद गरेपछि पनि आठ दश वर्ष मात्रै कैद सजाय भोगेर बाहिरिन पाइन्छ भने एसिड प्रहार किन नगर्ने भन्ने सोच आएकाले घटनाहर घटिरहेको बताइन्। उनले भनिन्, 'मैले त्यसको जिन्दगी बर्बाद गर्नु थियो मैले गरिसके मलाई कति नै सजाय हुन्छ। धेरै भए आठ वर्ष दश वर्ष के नै हुन्छ र मेरो जीन्दगी ? म आठ दश वर्षमा बुढो त हुँदिन, सायद त्यो पछि पनि मेरो जिन्दगी छ, म केही गर्छु त्यसको जिन्दगी त मैले डामाडोल गरेर मेरो इच्छा पुरा भयो। मेरो जिन्दगी अझै बाँकी छ भन्ने सोचको कारणले गर्दापनि अपराधीहरुको झन् मनोबल बढ्छ की। कानून हाम्रो देशमा छैन।’

मुलुकी अपराधसंहिताको दफा १९३ अनुसार तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी अनुहार कुरुप हुनेगरी आक्रमण गर्नेहरुलाई ५ देखि ८ वर्ष सम्मको कैद र एक लाख रुपैयाँ देखि ५ लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा पीडा पुर्याएमा तीन वर्षदेखि ५ वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ।

 

 

 

प्रकाशित: १९ श्रावण २०७७ ११:४० सोमबार

एसिड प्रहार