पछिल्लो समयमा कोराना भाइरसको संक्रमणको फाइदा उठाउँदै यहाँका यातायात व्यवसायीले मनपरी भाडा अशुल्न थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्ला कठोर बन्न थालेको छ । हाल जिल्लामा रहेका यातायातका साधनहरुमा मनपरीतन्त्र चलेको जनगुनासो आएपछि जुम्ला प्रशासन कार्यालयले यातायात व्यवसायीलाई प्रशासनमै बोलाएर मनपरी रोक्न निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय र यातायात व्यवसायी बीचको छलफलमा प्रमुख जिल्ला अधिकारी थापाले सेवा दिने नाममा पिडा महसुस नगराउन आग्रह गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी थापाले यहाँका यातायात व्यवसायीले यात्रु ठग्न नपाउने बताए । उनले भने,’‘अब अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउँदै यातायात सेवालाई सहज र प्रभावकारी बनाउनको लागि भरमग्दुर पहल थालिनेछ ।’ जुम्ला सदरमुकाम खलंगादेखि जिल्लाका विभिन्न स्थानसम्म चल्ने सवारी साधनले नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्नु पर्ने छलफलबाट निर्णय भएको छ । साविकमा भएको भाडादरमा थप ५० प्रतिशत नबढाई यातायात सेवा सञ्चालन गर्ने र मनपरी भाडा अशुलेको विषयमा नियमित रुपमा अनुगमन गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।
उनका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाको संयोजकत्वमा ९ सदस्यीय अनुगमन समिति गठन भएको छ । जसमा प्रहरी निरीक्षक, सशस्त्र प्रहरी निरीक्षक, यातायात व्यवस्था कार्यालय प्रमुख निरविक्रम शाही, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख, जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख कलकबहादुर शाही, तिला कर्णाली यातायात प्रा.लि का देवी रोकाया, भैरवनाथ यातायात सेवा प्रा.लि का अध्यक्ष नन्दबहादुर तिरुवा र नेपाल पत्रकार महासंघका प्रतिनिधि रहेका छन् ।
यो समितिले जुम्लामा सञ्चालन हुने सवारी साधनले सडक अनुमति लिए नलिएको अनुगमन गर्ने छ । पञ्जिकरण भए नभएको बारेमा ट्राफिक प्रहरी र यातायात व्यवस्था सेवा कार्यालयबीच आपसी समन्वय गरि अनुगमन गर्ने निर्णय भएको छ । अनुगमन समितिलाई आवश्यक पर्ने सहयोेग जिल्लास्थित यातायात व्यवसायी प्रा.लि र सुरक्षा निकायको समन्वयमा आवश्यक कारवाही हुनेछ ।
तिला कर्णाली प्रा. लि अध्यक्ष मीनबहादुर थापाले जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड कार्यान्वयनका लागि व्यवसायीलाई परिपत्र गरिएको बताए । उनले भने,‘सवारी साधनभित्र सामाजिक तथा व्यक्तिगत दूरी कायम गर्न, ५० प्रतिशत नबढाइकन भाडा उठाउन भनिएको छ, तर व्यवसायीले अटेर गरिरहेका छन् । यो राम्रो भएन । अब फेरी पनि कोभिड १९ संक्रमण हुन नदिनको लागि सजक गराउनेछौँ ।’ तिला कर्णाली यातायातले मास्क र सेनिटाइजर हरेक सवारी साधनमा उपलब्ध गराएको बताए ।
जिल्ला ट्राफिक कार्यालय जुम्लाका प्रमुख कलकबहादुर शाहीले सवारी साधनको बेथिती रोक्न हदैसम्मको पहल भइरहेको बताए । उनले जनशक्ति अभावका कारण समस्या आइरहेको भन्दै सबैको सामूहिक प्रयासको खाँचो रहेकोमा जोड दिए । कर्णाली राजमार्गका तीन ठाउँमा चेक गर्ने व्यवस्था गर्न पनि प्रमुख जिल्ला अधिकारी थापाले निर्देशन दिए । उनका अनुसार शुरुवाती बिन्दु, मध्य विन्दु र गन्तव्यमा सवारी चेकजाँच गर्नु पर्ने छ ।
यातायात व्यवसायीले मनपरी भाडा अशुले, सामाजिक व्यक्तिगत दूरी कायम नगरे, जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना नगरेको खण्डमा स्थानीय प्रशासनलाई जानकारी दिनको लागि जुम्लाबासीलाई आग्रह गरिएको छ ।
प्रकाशित: १८ श्रावण २०७७ १४:११ आइतबार