समाज

कुटपिटबाट एकजनाको मृत्यु

पश्चिम रोल्पाको होलेरी नजिकै एक गाउँमा कुटपिटका कारण एकजनाको ज्यान गएको छ । रुन्टीगढी गाउँपालिका वडा नं. ६ डुब्रिङको सालडाँडाका २४ वर्षीय इश्वर बस्नेतको स्थानीयको कुटपिटबाट मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी चित्रबहादुर गुरुङका अनुसार रुन्टीगढी–६ सालबाङका ६५ वर्षीय गोठे बुढा शुक्रवार साझ दाङको हापुरबाट घर आउँदै गर्दा रुन्टीगढी गाउँपालिकाको झनझ्याङ खोलामा मृतक इश्वर बस्नेतले बुढाको साथमा रहेको पाँचहजार रुपैयाँ र हातमा लगाएको घडी लुटपाट गरेका थिए ।

लुटपाटपछि घरमा पुगेर गोठे बुढाले स्थानीयलाई खबर गरेपछि राति करिब एक दर्जन स्थानीयहरु मृतक बस्नेतको घरमा पुगेको प्रहरीको भनाइ छ । घरमा पुग्दा बस्नेत झ्यालबाट भाग्ने क्रममा उक्त समूहले नियन्त्रणमा लिई कुटपिट गरेको प्रहरीको प्रारम्भीक अनुसन्धान छ ।

कुटपिटबाट घाइते इश्वर बस्नेतलाई सोही समूहले स्वास्थ्य चौकी डुब्रिङमा उपचारका लागि लगेका थिए । प्रहरीका अनुसार स्वास्थ्य चौकिले थप उपचारका लागि रिफर गरेपछि दाङ लैजाँदै गर्दा शनिबार  बिहान १० बजे मृत्यु भएको थियो ।

कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले रुन्टीगढी गाउँपालिका वडा नं. ६ सालबाङका ६ जनालाई नियन्त्रणमा लिएको र अन्यको खोजी भइरहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १५:२१ शनिबार

कुटपिट मृत्यु