समाज

वीरगन्जमा कोरोनाबाट थप एक महिलाको मृत्यु

वीरगन्जमा कोरोना संक्रमणले पुनः एक जना महिलाको मृत्यु भएको छ । गण्डक चोक नजिकै रहेको नारायणी वयोधा अस्पतालमा उपचारका लागि भर्ना रहेको क्रममा मृत्यु भएकी महिलामा कोभिड–१९ पुष्टि भएको छ ।  

शुक्रबार बिहान सवा १० बजे मृत्यु भएकी ५० वर्षीया महिलाको नारायणी अस्पतालको प्रयोगशालाबाट राति ११ बजे आएको स्वाब परीक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखियो । राति ११ बजे आएको रिपोर्टमा ६४ जना संक्रमितमध्ये ३ महिला रहेको उल्लेख छ । संक्रमण पुष्टि महिलामा मृतक पनि रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए । महिलाको मृत्युको कोरोनाको कारणले भएको उनले जनाएका छन् ।  

वीरगन्ज १६, नगावा निवासी महिला निमोनियाले ग्रसित भएर उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । शुक्रबार विहानदेखि उनको स्वास प्रस्वासमा समस्या बढेको थियो । मृत्यु हुनुअघि उनको कोरोनाको संक्रमण परीक्षणका लागि उनको स्वाब नमुना संकलन गरिएको थियो । मृतक महिलाको शव शनिबार साँझ ४ सम्म अस्पतालमै थियो । वीरगन्जमा कोरोनाका कारण अहिलेसम्म ११ जनाको ज्यान गएको छ ।

प्रकाशित: १७ श्रावण २०७७ १२:४१ शनिबार

कोरोनाबाट मृत्यु