समाज

सडकमा उत्रेर आफैं मास्क बाड्दै सिडिओ

दोलखाको सदरमुकाम चरिकोट स्थित सातदोबाटो चोकमा शुक्रबार सर्वसाधारणलाई मास्क बाड्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा । तस्बिर सौजन्य : गोकण भण्डारी

कोरोना भाईरसको संक्रमण बढ्दै गएपनि मास्क लगाउन अटेर गरेर बाहिर निस्केका सर्वसाधारणलाई सम्झाउन  शुक्रबार दिउँसो दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा आफैं सडकमा निस्किएका छन् ।

स्थानीय प्रशासनले महिना दिन यता मास्क अनिवार्य लगाउन सर्वसाधारणलाई निरन्तर सुचित गर्दै आएपनि त्यसरी मास्क नलगाई निस्किने क्रम नरोकिएपछि स्थानीय अधिकारीहरू शुक्रबार आफैं सडकमा निस्केर सर्वसाधारणलाई मास्क लगाउन आग्रह गरेका हुन् ।

झण्डै दुई घण्टा सडकमा बसेर प्रजिअ शर्मा सहित स्थानीय अधिकारीहरूको टोलीले पाँच सय ओटा मास्क सर्वसाधारणलाई वितरण गरेको थियो । जिल्ला स्तरीय संकट व्यवस्थापन समितिका संयोजक समेत रहेका प्रजिअ शर्माले मास्क अनिवार्य गराउने स्थानीय प्रशासनको कार्यक्रम अनुसार आफुहरूले सर्वसाधारणमा सचेत तुल्याएको सुनाए ।

‘मास्क लगाएर मात्र घर बाहिर निस्कनुस र सचेत बन्नुस भनेर सम्झाउन यो कार्यक्रम गरेका हौं,’ उनले भने । शर्माले प्रहरी भ्यानले नियमित रुपमा माईकिङ गरिरहेको समेत सुनाए ।

प्रजिअ शर्मा सहित जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डे, जिल्लाका प्रहरी प्रमुख डिएसपी रेवतीरमण पोखरेल, सशस्त्रका प्रहरी प्रमुख लगायतका अधिकारीहरू करिब २ घण्टा सम्म सातदोबाटो चोकमा बसेर उक्त अभियान सञ्चालन गरेका थिए ।

यसै बीच स्थानीय प्रशासनले आईतबारबाट मास्क नलगाई हिड्ने सर्वसाधारणलाई जरिवाना गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी शर्माले आईतबारबाट मास्क नलगाई हिड्ने सर्वसाधारणलाई कारवाही स्वरुप जरिवाना गरिने सुनाए । मास्क लगाउन सर्वसाधारणलाई सम्झाउन स्थानीय सुरक्षा अधिकारीहरू आफैं सडकमा आएर ५ सय थान मास्क वितरण गरेका थिए ।

प्रकाशित: १६ श्रावण २०७७ १२:१३ शुक्रबार

सिडिओ मास्क बाड्दै