समाज

आलोचना गर्नेलाई तर्साउन मलाई कारबाही गरियो : गोविन्दराज जोशी

नेपाली कांग्रेसको अनुशासन समितिबाट कारबाहीमा परेका नेता गोविन्दराज जोशीले विरोधी कार्यकर्तालाई तर्साउन आफुलाई कारबाही गरिएको टिप्पणी गरेका छन्।  

आफ्ना मान्छेलाई पार्टीमा टिकट दिएर कार्यकर्तालाई रुवाउनु हुँदैन भन्ने आवाज उठाउने र अन्यायको विरुद्धमा बोल्नेहरुलाई तर्साउन आफुमाथि कारबाही भएको उनको भनाई छ। बिहीबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता जोशीले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको कदमका विरुद्धमा बोल्नेलाई तर्साउन आफुलाई कारबाही गरिएको बताएर। उनले भने, 'मैले त अन्यायको विरुद्ध धेरै अगाडिदेखि बोलिराखेको छु। यिनिहरुलाई के रैछ भन्दाखेरी गोविन्दराज जोशीलाई अ्याट्याक गर्नेकुरामा निर्णय गर्ने कुरा एउटा कुरा हो। मलाई अ्याट्याक गरिसकेपछि अरुलाई तर्साउन सजिलो भयो।’

नेता जोशीले आफुमाथि कारबाही गर्ने निर्णय र पार्टीमा केही मानिसहरुलाई प्रवेश गराउने कार्यले पार्टीभित्र इमान्दार र निष्ठावान कार्यकर्ताको उपस्थिति नहुने निश्चित भएको बताए। उनले पार्टीका नेताहरुको स्वर्गारोहणको बेलामा मात्रै उपस्थिति जनाउन पाउने व्यक्तिलाई पार्टीभित्र प्रवेश गराइएकाले लामो समयदेखि योगदान दिएका इमान्दार कार्यकर्ताको आत्मसम्मानको अन्त्य भएको बताए। यो विषयमा आवाज उठाउँदा पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बिझेकाले आफुमाथि कारबाही गरिएको उनले बताए।  

पार्टीलाई केही मान्छेहरुको नियन्त्रण र गठबन्धनको गुटको रुपमा विकास गरिएको नेता जोशीले आरोप लगाए।  कांग्रेसमा न्याय हराएको टिप्पणी समेत नेता जोशीले गरे। उनले न्याय बिनाको निर्णयको विरुद्ध, प्रवृतिको विरुद्ध र न्याय विनाको निर्णय गर्ने पदाधिकारीहरुको विरुद्ध कार्यकर्ताहरु एकस्वरले उभिन नसक्दा सम्म कांग्रेस जोगिन नसक्ने बताए।  

 

प्रकाशित: १५ श्रावण २०७७ ११:४५ बिहीबार

नेपाली कांग्रेस