समाज

रोल्पामा अपराध: यस्तो छ घटनाको तथ्यांक

रोल्पामा पछिल्लो समय आत्महत्याका घटना बढेको एक तथ्यांकले देखाएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिगत ५ वर्षमा ३ सय २० जनाले आत्महत्या गरेका थिए । आर्थिक वर्ष २०७६/०७७ मा मात्र ७७ जनाले आत्महत्या गरेका थिए । त्यसैगरि २०७५/०७६ मा ५५, २०७४/०७५ मा ५३, २०७३/०७४ मा ६६ र २०७२/०७३ मा ६६ जनाले आत्महत्या गरेको तथ्यांक छ ।

जिल्लामा किन र के कारणले आत्महत्याका घटना बढिरहेको छ भन्ने कुरामा कोहि कसैको चासो र बहसको विषय बन्न सकेको छैन । अधिकारसहितको स्थानीय सरकारले पनि यो विषयलाई आजसम्म महत्व दिएको पाइदैन । वर्षेनी ठूलो संख्यामा आत्महत्याका घटना बढ्दै जादा मानसिक स्वास्थ्यका बारेमा छलफल समेत हुने गर्दैन ।

बिगतको ५ वर्षमा रोल्पामा घटेका घटनाहरुको संख्या उस्तै उस्तै भए पनि प्रकृती भने फरक फरक छ । २०७६/०७७ मा जम्मा १ सय ६० उजुरी दर्ता भएको रोल्पा प्रहरीमा २०७५/०७६ मा १ सय ५९, २०७४/०७५ मा १ सय ५०, २०७३/०७४ मा १ सय ६० र २०७२/०७३ मा १ सय ३९ उजुरी दर्ता रहेको छ ।  

गएको ५ वर्षमा कर्तब्य ज्यानका ३१ उजुरी आएको देखिन्छ । भबितब्यबाट ज्यान गुमाउनेको संख्या १ सय ५५ रहेको छ । त्यसैगरि जवरजस्ती करणीका ३७ उजुरी छ । त्यसैगरि बितेका तीन वर्षमा रोल्पाबाट महिला र बालबालिका गरी १ सय १० जना हराएका छन् । हराउनेमा ३५ बालबालिका र ७५ महिला छन् । यसरी हराएकामध्ये बिभिन्न माध्यमबाट ६५ महिला र ३३ बालबालिका फेला परेका थिए भने अझै १२ जना भेटिएका छैनन् ।

रोल्पा प्रहरीमा गत आर्थिक वर्ष २०७६/०७७ मा घरेलु हिंसाका ८८ र लैंगिक हिंसाका १० वटा गरि ९८ उजुरी परेका छन् । ति मध्य ५८ मिलापत्र गरिएको थियो भने २० वटा सम्बन्ध बिच्छेदका लागि अदालत गएको जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रले जनाएको छ ।

आर्थिक वर्ष २०७५/०७६ मा घरेलु हिंसामा ९१ र लैंगिक हिंसामा २२ गरि जम्मा ११३ उजुरी परेको प्रहरीको तथ्यांकमा देखिन्छ । यो वर्ष १२ जना सम्बन्ध बिच्छेदका लागि अदालत गएका थिए । त्यसैगरि आर्थिक वर्ष २०७४/०७५ मा घरेलु हिंसामा ११७ र लैंगिक हिंसामा १५ गरि जम्मा १३२ उजुरी परेको थियो । यो वर्ष ३१ जना सम्बन्ध बिच्छेदका लागि अदालत गएका थिए ।

आर्थिक वर्ष २०७३/०७४ मा जम्मा १ सय २४ उजुरी दर्ता भएकोमा घरेलु हिंसाका ८८ र लैंगिक हिंसाका ३६ थिए । १ सय १३ मिलापत्र गरिएकोमा ९ उजुरी सम्बन्ध बिच्छेदका लागि अदालत गएको प्रहरीको तथ्यांकमा छ ।

प्रकाशित: १५ श्रावण २०७७ ०७:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App