समाज

सिँचाइ डिभिजन कार्यालय खोटाङका प्रमुखविरुद्ध भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर

अख्तियारको नियन्त्रणमा परेका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेलका प्रमुख नारायणकाजी श्रेष्ठ । तस्बिर : दमन/नागरिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका जलश्रोत तथा सिँचाइ डिभिजन कार्यालय दिक्तेल खोटाङका प्रमुख नारायणकाजी श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरेको छ । जिल्लाकै एक निर्माणाधिन सिँचाइ परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना एवं उजुरीको आधारमा गत असार ३० गते मंगलबार डिभिजन प्रमुख श्रेष्ठलाई नियन्त्रणमा लिएको अख्तियारले बुधबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरेको हो ।

ठेक्काको दोश्रो रनिङ बिल भुक्तानीका लागि रकमको अभाव भएको र भुक्तानी अंकको १० प्रतिशतले हुने रकम दिए मात्र छिटो निकासा दिन सकिने भन्दै सेवाग्राहीबाट रिसवत मागेर लिएको पुष्टि भएकाले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले विज्ञाप्तिमार्फत जानकारी दिएका छन् । डिभिजन प्रमुख श्रेष्ठलाई सेवाग्राहीबाट ९ लाख ३४ हजार रुपैयाँ घुस लिएको अवस्थामा काठमाडौंबाट आएको अख्तियारको टोलीले ‘स्टीङ अपरेसन’ गरेर नियन्त्रणमा लिएको थियो । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर भएको देखिएकाले डिभिजन प्रमुख श्रेष्ठलाई ९ लाख ३४ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुने मागदाबी लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

डिभिजन प्रमुख श्रेष्ठले सिँचाइ योजनाको रकम प्रदेशबाट निकासा हुन ढिलाइ भइरहेको अवस्थामा ‘छिटो निकासाका लागि माथि रकम दिनुपर्ने’ भन्दै पटक–पटक बार्गेनिङ गर्दै आएको सेवाग्राहीको गुनासो छ । श्रेष्ठले अधिकांश योजनामा घुस माग्ने गरेका कारण सेवाग्राही अख्तियारमै उजुरी दिन पुगेको जनाइएको छ ।

प्रकाशित: १५ श्रावण २०७७ ०७:२८ बिहीबार

भ्रष्टाचार सम्बन्धी आरोप–पत्र