समाज

मुलकभर बाढीपहिरो: १४ जनाको मृत्यु, ७ बेपत्ता

मंगलबारदेखिको अबिरल वर्षाका कारण विभिन्न नदीमा आएको बाढीपहिरोमा परी मुलुकभरमा १४ जनाको मृत्यु भएको छ भने ७ जना हराइरहेका छन्। बाढीपहिरोमा परी कालिकोटमा १०, दाङमा २, उदयपुरमा १ र धनगढीमा १ जनाको ज्यान गएको छ भने धनगढीमा ४ तथा कालिकोट, सुर्खेतमा र धनगढीमा १÷१ जना गरी ७ जना हराइरहेका छन्।  

कालिकोटको नरहरिनाथ गाउँपालिका र महावै गाउँपालिकामा पहिरोले घर बगाउँदा १० जनाको मृत्यु भएको छ। पहिरोमा परेका १ जना बेपत्ता भएका छन् भने चारजना घाइते छन्। नरहरिनाथ गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा पहिरोले घर बगाउँदा ९ जना र महावैमा १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार मंगलबार राति साढे दुई बजेतिर आएको पहिरोले नरहरिनाथ गाउँपालिका–७ बाँगाका गंगे बुढा र वडा नं. ४ को माझगोठीका बाले बुढाको घर बगाएको हो। डिएसपी श्यामबाबु ओलियाले बाँगाका नरहरिनाथ गाउँपालिका–७ बाँगाका ६५ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैना बुढा, २४ वर्षीया बुहारी कुशा बुढा, १६ वर्षीया छोरी विमला बुढा, १० वर्षीया नातिनी चन्द्रीका बुढा, सात वर्षीय नाति राम बुढा, डेढ वर्षीय नाति चरित्र बुढाको मृत्यु भएको जानकारी दिए। विमलालाई बुधबार बिहान स्थानीयले उद्धार गरेर कुमालगाउँ स्थास्थ्य चौकी पु¥याएकोमा  उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

‘गंगे बुढाको ११ जनाको परिवारमध्ये घर बगाउने समयमा चारजना भाग्न सफल भए,’ डिएसपी ओलियाले भने, ‘बाँकी छ जनाको घटनास्थलमै र एकको उपचारको क्रममा मृत्यु भयो।’  

नरहरिनाथ गाउँपालिका–४ कै माझगोठीमा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ। डिएसपी ओलियाका अनुसार ६५ वर्षीय बाले बुढा र उनकी श्रीमती ६३ वर्षीया मन बुढाको मृत्यु भएको छ। यस्तै, कालिकोटकै महावै गाउँपालिका–७ कोटवाडा बुधबार दिउँसो माथिबाट आएको ढुंगाले घर भत्काउँदा ७ वर्षीया संगीता भण्डारीको मृत्यु भएको छ। प्रहरीका अनुसार तुल महताराको घरमा खेल्दै गरेका गाउँका ६ जना बालबालिकामध्ये भण्डारीको मृत्यु भएको हो। चारजनाको उद्धारपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। पहिरोमा १२ वर्षीय बालक गणेश महतारा बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यस्तै, सुदूरपश्चिममा बाढीपहिरोमा परेर १ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कैलाली भजनी–८ का ४० वर्षीय ईश्वर शाह, ३३ वर्षीय चक्र विक र ११ वर्षीइ स्केल चौधरी रहेका छन्। घर डुबानमा परेपछि सुरक्षितस्थान खोज्दै कालिका मन्दिर जाने क्रममा घरनजिकैको कुलोमा डुबेर ती बालक बेपत्ता भएका हुन्।

बगेर बेपत्ता भएका ४० वर्षीय बलराम चौधरी भने घाइते अवस्थामा फेला परेका छन्। वडा नम्बर ८ कै हेमन्ती शाही र विक्की शाही पनि बगेर बेपत्ता भएकोमा उद्धार गरिएको छ।

यसैगरी, बाजुरा बुढीगंगा नगरपालिका–१ अम्कोटमा गोरु चराउन गएका बेला जंगलमा माथिबाट आएको पहिरोमा परेर २२ वर्षीय धर्मराज तिमिल्सेना बेपत्ता भएको प्रहरीले जनाएको छ। पहिरोमा परेर दुईजना घाइते भएका छन्। १७ वर्षीय ज्ञानुप्रसाद उपाध्याय र हरेन्द्र उपाध्याय घाइते छन्।

कैलालीको भजनी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिकालगायत गरेर बाढीले ६ हजार २ सय ७० घर डुबानमा परेको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए। डुबानमा परेकामध्ये २ हजार परिवार विस्थापित भएर हुलाकी सडक, विद्यालयलगायतका ठाउँमा आश्रय लिइरहेको उनले बताए। बाढी पसेका भजनीका १८ सय ८० परिवार पूरै विस्थापित भएको उनले बताए।

विस्थापितहरू उँचो स्थानमा पाल टाँगेर, विद्यालय, सामुदायिक भवनलगायतका ठाउँमा  आश्रय लिएका छन्। नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाले उद्धार गरेका थिए।

भजनी–८ मा मात्र १ हजार घर डुबानमा परेको वडाध्यक्ष पंकज चौधरीले बताए। पथरैया नदीले तटबन्द भत्काएर गाउँमा पसेको थियो।  दैलेखी टोल, कुसमघाट, कृष्णनगर, गोरचौडा, खैरा, जनकपुर, बहादुरपुर, काडाढिक र सोनाहफाँटा गाउँ डुबानमा परेका छन। घर डुबानमा परेपछि सबैजना विद्यालयमा गएर आश्रय लिएको उनले बताए।  

यसैगरी, वडा नम्वर ३ का काडाँ नदीले ढुसीमा तटबन्द भत्काएर नदी बस्तीमा पसेको छ। पकरिया डाँडा, ढुसी गाउँ, कन्हैयापुर गाउँ डुबानमा छन्।

भजनी– २, ३, ५ र ८ वडामा बाढी पसेर घर डुबानमा परेका छन्। पुरै बस्ती जलमग्न भएका छन्। यसैगरी, बर्दगोरिया–२ र ५, जानकी गाउँपालिका–१, बर्दगोरिया–२ र ५, कैलाली गाउँपालिका, जोशीपुर गाउँपालिका  र टीकापुर नगरपालिकामा बाढीले सयौ घर डुवानमा परेका छन्।  

कैलारी गाउँपालिका–७ का ३२ वर्षीय बलराम चौधरीको कच्ची घरमा सालको रूख ढलेर घर पूर्णरूपमा क्षति भएको छ। घरमा उनीसहित श्रीमती र छोरा सामान्य घाइते भएका छन्।  

वर्षाका कारण टीकापुर नगरपालिकाका ९ वटै वडा डुबानमा परेको टीकापुर नगरपालिकाकी विपद् सम्पर्क व्यक्ति निर्मला चौधरीले बताइन्।

टीकापुर–१ स्थित जमरा नदीमा पानीको सतह बढेर बजार क्षेत्र पूरै डुबान भएको छ। त्यस्तै शिवनगर, चमेलीपुर, विजयनगर शिविरमा बाढी बस्ती पसेपछि ५० घर भत्किएका छन्। यस्तै वडा नम्बर २ १२, र ६ मा ३ घर भत्किएको नगरपालिकाले जनाएको छ।  

कैलालीको चिसापानीमा नदीले सर्तकता तह पार गरेको छ। बढी वर्षासँगै नदीको सतह १० दशमलव ४ मिटर पुगेको छ। कर्णाली नदीको सतह १० दशमलव ४ मिटर पुगेको छ। कर्णालीको सतह १० मिटर पुगे सर्तकता तह र १० दशमलव ८ मिटरलाई खतरा मानिएको छ।

महाकाली नदीमा पानीको बहाव बढेको छ। चुरेलगायत कञ्चनपुरमा भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको हो।

यसैगरी, अछाम, बाजुरा, दार्चुला, डोटी, बझाङ र डडेल्धुरामा वर्षा तथा पहिरोका कारण १ दर्जनभन्दा बढी घर भत्केका छन्। बुधबार दिउ“सो २ः३० बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव २ लाख २८ हजार क्यूसेक पुगेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र कञ्चनपुरले जनाएको छ।

दाङमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ। बुधबार बिहान ३ बजेतिर दाङको बंगलाचुली गाउँपालिका– ५ को साकिने भन्ने स्थानमा एक घर पहिरोले पुरिँदा आमाछोरीको मृत्यु भएको हो। स्थानीय देविराम नेपालीको घर पहिरोले पुरिँदा उनकी बुहारी २४ वर्षीया बाटुली र बाटुलीकी दुई वर्षीया छोरी आयुष्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिए। केही दिनदेखि लगातारको वर्षाका कारण घरमाथिको पहिरो खसेको थियो।  

यसैबीच, बिरामी लिएर नारायणपुरबाट तुलसीपुर जाँदै गरेको एम्बुलेन्स खोलाले बगाएको छ। बुधवार बिहान ३ बजेतिर रा१च ८९२ नम्बरको एम्बुलेन्स घोराही तुलसीपुर सडकखण्डको हापुर खोलाले बगाएको हो। उक्त खोलामा पुल छैन। कचवे रहेको उक्त खोलामा बढेको भेलले एम्बुलेन्स बगाएको प्रहरीले जनाएको छ।  

यस्तै,निरन्तर वर्षाका कारण कल्भर्टमा आएको बाढीले बगाएर उदयुरमा एकजनाको निधन भएको छ। सुनसरीको धरान उपमहानगरपालिका ५ धरान घर भई उदयपुरको बेलका नगरपालिक ३ सिसोली टप्पु बस्दै आएका ३५ वर्षीय कर्णबहादुर राईको बेलका ३ को भोटेपुल नजिकको कल्भर्टमा आएको बाढीले बगाउँदा मृत्यु भएको हो।  

इलाका प्रहरी कार्यालय रामपुरका अनुसार बेलकामा तरकारी खेती गर्दै आएका राई अघिल्लो दिन कल्भर्टमा आएको बाढीले बगाएर बेपत्ता भएका थिए। प्रदेश १–०२–००२ न ४००५ नं. को जीपमा धरान फर्कदै गरेका राई मंगलबार राति ९ः०० बजे कल्भर्टको बाढी नियाल्न पस्दा बगाएर बेपत्ता भएका थिए। चालकलाई गाडी रोक्न लगाई जिप तर्नसक्ने÷नसक्ने जाँच गर्न कल्भर्ट पसेका राई बाढीमा फसेर बेपत्ता भएकोमा बुधबार बिहान १०ः०० बजे मृत भेटिएको प्रहरीले जनाएको छ।  

उनी सोमबार मात्र सिसौली टप्पुमा सब्जी खेती लगाउन धरानबाट आएको र भोलिपल्ट राति फर्कदै गर्दा बाढीमा फसेको प्रहरी भनाइ छ। चालकले राई बेपत्ता भएको खबर गरेपछि  बेलकास्थित इलाका प्रहरी कार्यालय रामपुरबाट खटेको टोलीले खोजतलास गर्ने क्रममा बेपत्ता भएको ठाउँभन्दा ५ सय मिटर तल मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ भने घटनाबारे अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ।  

 (नगेन्द्र उपाध्याय÷सुर्खेत, दिल बहादुर छत्याल÷धनगढी, देवेन्द्र बस्नेत÷दाङ, महेश्वर चाम्लिङ राई उदयपुर )

प्रकाशित: १५ श्रावण २०७७ ०३:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App