समाज

पहिरोमा परि रुकुमपश्चिम दुईजनाको मृत्यु

सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९, का हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार र १६ वर्षीय बलहादुर सुनारको मृत्यु भएको हो ।

नवीन हस्तका भाई हुन भने बलबहादुर छिमेकी हुन् । प्रहरीका अनुसार हस्तबहादुरकी आमा घाइते भएकी छिन् । उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ । हस्तको घर करिब २५ मिटर तल पहिरोले बगाएको छ । त्यस्तै सोमबार राति आएको वर्षाका कारण बाँफिकोट गाउँपालिका–४, स्थित स्यार्पू दह जाने सडक खण्डमा भएका पाँचवटा घुम्तीहरू पहिरोले बगाएको छ ।

४ नम्बर वडाका सौगात विक, डिलबहादुर परियार, विनोद शाही, शेरबहादुर विक र दलबहादुर विकको घुम्ती पहिरोले बगाएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार सौगातको तीन लाख ५० हजार, डिलबहादुरको दुई लाख, विनोदको ३० हजार, शेरबहादुरको तीन लाख र दलबहादुर एक लाख रूपैयाँ बराबरका सामान पहिरोले बगाएको छ ।

डिलबहादुर परियार, वुद्धि केसी र जनक विकको घर उक्त पहिरोको कारण उच्च जोखिममा रहेको छ । उनीहरुलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ ।

प्रकाशित: १३ श्रावण २०७७ ११:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App