समाज

प्रदेश १ मा २१ संक्रमित थपिए

प्रदेश १ मा २१ जनाकोरोना संक्रमित थपिएका छन् । प्रदेश सामाजिक विकास मन्त्रालयकाअनुसार  मंगलबार प्रदेश १ मा २१ जना कोरोना संक्रमित थपिएका हुन् ।  

जसमा १७ जना मोरङका छन् । प्रदेश १ को राजाधानी विराटनगरमा कोरोना संक्रमण समुदाय स्तरमै फैलिएका कारण विराटनगरमा संक्रमितको संख्या बढ्दो छ । मंगलबार मात्रै विराटनगरका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य ११ जना पुरुष छन् भने ५ जना महिला छन् । 

यस्तै विराटनगर महानगरपालिकासंगै सिमाना जोडिएको कटहरी गाउँपालिकाकी एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै झापाको झाप गाउँपालिकाका २ र विर्तामोड नगरपालिकाका १ जनामा पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । मंगलबार नै ओखलढुंगाको सिद्धिचरण नगरपालिकाका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।  

विराटनगरमा अस्पताल र प्रहरी कार्यालयहरूमा कोरोनाको संक्रमण तिब्र रुपमा फैलिंदै गएको छ । विराटनगरको विराटनगर अपतालका डाक्टरमा कोरोना पुष्टि भएसंगै विराटनगर अस्पताल र कोसी अञ्चल अस्पतालमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण फैलिएको पत्ता लागेको थियो । विराटनगर अस्पतालमा कामगर्ने स्वास्थ्यकर्मीहरू नै कोसी अञ्चल अस्पतालमा पनि काम गर्ने भएकाले दुवै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको संक्रमण फैलिएको हो । 

अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीहरूमा कोरोना संक्रमण फैलिएपछि उपचारका लागि आएका विरामीहरू पनि जोखिममा परेका छन् । अस्पतालमा उपचारका लागि आएका विरामीहरूका कारण कोरोनाको संक्रमण गाउँगाउँमा पुगेको आँकलन हुन थालेको छ । तर, समुदाय स्तरमै कोरोनाको परीक्षण गर्ने व्यवस्था भने अझै सम्म हुन सकेको छैन ।

यसैबीच विराटनगर महानगरपालिका–३ का एक संक्रमित कोरोनाको रिपोर्ट लिन विराटनगर महानगरपालिका पुगेका छन् । मंगलबार दिउँसो कोरोना परीक्षणको रिपोर्ट लिन उनी विराटनगर महानगनरपालिकाको स्वास्थ्य महाशाखामा पुगेका थिए । कोरोनाको रिपोर्ट लिन कार्यालयमा आएका व्यक्तिको रिपोर्ट हेर्दा कोरोना पोजेटिभ देखिएको महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक हैदर अलिले बताए । 

उनका अनुसार संक्रमणको आशंका पछि स्वाव संकलन गर्दा नै अनिवार्य १४ दिनहोम क्वारेन्टाइनमा बस्न भनिएको थियो । तर, रिपोर्ट लिन महानगरपालिका आएपछि महानगरपालिकाका कर्मचारीलगायत सर्वसाधारणलाई समेत कोरोना संक्रमणको जोखिममा परेका छन् । अलिले भने, ‘संक्रमित व्यक्ति खुल्ला रुपमा हिडडुल गरेको पाइएपछि कोरोना संक्रमणको जोखिम बढेको छ ।’ कोरोना संक्रमित व्यक्तिलाई तत्कालै एम्बुलेन्स बोलाएर कोसी अञ्चल अस्पताल स्थित कोरोना उपचार केन्द्रमा पठाइएको अलिले जानकारी दिए ।

प्रकाशित: १३ श्रावण २०७७ १०:५४ मंगलबार

कोरोना संक्रमित