समाज

प्रदेश १ : समुदायमा कोरोना, प्रदेश र स्थानीयतह आरोप प्रत्यारोपमै मग्न

प्रदेश १ को राजधानी सहर विराटनगरमा केही दिनयता ‘ट्राभल हिस्ट्री’ नै नभएकाहरुलाई पनि धमाधम संक्रमण पुष्टि भइरहेको छ। प्रदेश १ का अन्य जिल्लाहरुमा पनि संक्रमित संख्या लगातार बढिरहेको छ। केही समय मत्थर जस्तै भएको कोरोना संक्रमणको दर एक्कासी कसरी बढ्यो ?

समुदायस्तरमै कोरोना फैलिनुमा प्रदेश सरकार जिम्मेवार रहेको विराटनगर महानगरपालिकाको आरोप छ। प्रदेश सरकार र स्थानीय तहबीच समन्वय अभावले विराटनगरमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको महानगरको ठहर छ।

प्रदेश १ मा हालसम्म ९४५ जना संक्रमित फेला परिसकेका छन्। जसमध्ये ७ सय ४७ जना उपचारपछि निको भइसकेका छन्। सोमबार एकैदिन ३३ जनामा संक्रमण देखिएको प्रदेशमा राजधानी विराटनगर सबैभन्दा प्रभावित देखिएको छ। तर, यहीबेला स्थानीय र प्रदेश सरकार भने आरोप प्रत्यारोप गरेर बसेका छन्।

 विराटनगरमा समुदाय तहमै संक्रमण देखापरेपछि मंगलबार आयोजित सर्वदलीय बैठकमा  महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रदेश सरकारले स्थानीय तहसँग समन्वय नगरी आफूखुशी काम गर्दा यस्तो अवस्था आएको बताए। ‘प्रदेश सरकारले शुल्क लिएर कोशी अस्पतालबाट पनि पिसिआर परीक्षणको अनुमति दिएपछि त्यहाँ धमाधम जाँच भइरहेको छ’, प्रदेशको तालुकदार  सामाजिक विकास मन्त्री जीवन घिमिरेकै सामुन्ने उनले भने ‘तर, त्यसरी जाँच गराउनेहरु एक्लै जाने, सबैतिर डुलघुम गर्ने, रिपोर्ट पोजिटिभ आए बल्ल अस्पताल जाने गरिरहेका छन्। न क्वारेन्टाएनमा छन्, न स्थानीय तहसँगको सम्पर्कमै छन्। समुदायमा कोरोना यसैले फैलिरहेको छ।’ कसैको सम्पर्कमा नरही सोझै जाँच गराउने अनि घरतिर लाग्ने छुट प्रदेशले दिएकोमा महानगरको आपत्ति रहेको कार्कीले बताए।

सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य महाशाखा प्रमुख डा. सुरेश मेहताले प्रदेश १ को तीन ठाउँबाट निशुल्क पिसिआर जाँच भइरहेको र कोशीबाट इच्छा हुनेले शुल्क तिरेर जाँच गराउन सक्ने प्रबन्ध गरिएको बताए। उनका अनुसार प्रदेश १ मा जोखिमको तह झनै बढेको जानकारी पनि दिए। झापा, इलाम, मोरङ, सुनसरी र उदयपुरमा जोखिम उच्च रहेको जानकारी दिँदै उनले सीमा क्षेत्रमा झनै जोखिम बढेको पनि बताए। यद्यपि स्थानीय सरकारसँगको समन्वय अभावबारे भने उनले केही पनि बताएनन्। सामाजिक विकास मन्त्री जीवन घिमिरेले सबै स्थानीय तहसँग समन्वय जारी रहेको बताउँदै आएका छन्। मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ४० हजार १८ जनाको पिसिआर परीक्षण भइसकेको छ।  

 

 

 

प्रकाशित: १३ श्रावण २०७७ ०७:४८ मंगलबार

प्रदेश १ कोरोनाभाइरस