समाज

दुई दिन निकै ठूलो वर्षा हुने सम्भावना

वर्षाकाे प्रतिकात्मक तस्बिर

सोमबारदेखि सक्रिय भएको मनसुनका कारण क्रमशः वर्षाको मात्रा बढ्दै गएको छ । यस क्रममा आज मंगलबार सातै प्रदेशका विभिन्न स्थानमा सामान्यदेखि ठूलोसम्म वर्षा हुने अनुमान मौसमविद्ले गरेका छन् ।  

आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाले मंगलबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिअनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, बागमती, गण्डकी  र प्रदेश ५ का थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी (ठूलो) वर्षा हुने सम्भावना छ । यस्तै वर्षा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थान पनि हुने अनुमान गरिएको छ । 

यस्तै राति पनि देशका धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूरपश्चिमका थोरै स्थानमा तथा  कर्णाली प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ ।  

महाशाखाका अनुसार बुधबार र बिहीबार वर्षा अझ बढ्ने सम्भावना छ । ती दुई दिन ‘धेरै भारी’ वर्षासमेत हुने सम्भावना देखिएकाे हाे ।

महाशाखाका अनुसार बुधबार दिउँसो धेरै स्थानमा वर्षा हुने र त्यसमा प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना छ ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।  

बुलेटिनअनुसार बिहीबार दिउँसो पनि धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।  प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुने सम्भावना छ ।

यस्तै राति पनि केही स्थानमा हल्कादेखि मध्यमसम्म र गण्डकी, प्रदेश ५  र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आगामी २४ घण्टा (मंगलबार बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म) का लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ : 

‘देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, प्रदेश २,  बागमती, गण्डकी, प्रदेश ५ कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको  सम्भावना छ ।

ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’

प्रकाशित: १३ श्रावण २०७७ ०७:३५ मंगलबार

ठूलो वर्षा