समाज

प्रमुख आयुक्त घिमिरे भन्छन्, अख्तियारले कोही भ्रष्टाचारी छाड्दैन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले अख्तियारले भ्रष्टाचारको मुद्दामा कसैलाई पनि नछाड्ने बताएका छन्।राज्य व्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमाबोल्दै उनले भ्रष्टाचार सानो र ठूलो नहुने हुँदा सबै किसिमका भ्रष्टाचारमाथि अनुसन्धान हुने बताए।  

‘नियमविपरीत १ रुपैयाँ खाए पनि, करोड खाएपनि भ्रष्टाचार हुन्छ। आयोगले भ्रष्टाचारका विषयमा कसैलाई पनि छाड्दैन,’ उनले भने। पछिल्लो अवस्थामा भ्रष्टाचार बढिरहेका समाचार  आएको विषयलाईउनले अख्तियारको सक्रियता बढेको कारण यस्तो भएको बताए। निजी क्षेत्रको अनियमितता छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मातहत ल्याउन पनि समितिमा माग गरिएको छ। समितिमा उपस्थित अख्तियारका सचिव सुरेश अधिकारीलेजनताको लगानी र सरोकार हुने बैंक तथा वित्तिय संस्थाहरुको भ्रष्टाचार अख्तियारले हेर्न पाउनुपर्ने बताएका हुन्।संसदमा विचाराधीन विधेयकमा यस व्यवस्था राखेर पारित गर्न उनले आग्रह पनि गरेका छन्। ‘सबै निजी क्षेत्रको भनिएको पनि छैन, जनताको लगानी हुने संस्थामा हुन्छ। ती संस्था धरापमा जाँदा जनतालाई घाटा हुन्छ वा जनताको सरोकारको विषय हुन्छ। कुनै व्यक्तिगत कम्पनीमा भनिएको होइन,’ उनले भने। अख्तियार विधेयक राष्ट्रियसभाको विधायन समितिले नीजि क्षेत्रमाथि अख्तियार प्रवेश गर्न पाउने व्यवस्था राखेर पारित गरेपछि त्यो विषय विवादित बनेको छ।  

स्वास्थ्य सामग्री खरिदमा अख्तियारको छानबिन खोइ ?

समितिका सदस्यहरूले भने अख्तियारको कामकारबाही सन्तोषजनक नभएको टिप्पणी गरेका थिए। समिति सदस्य पम्फा भुसालले कोरोनाको उपचार तथा रोकथामका लागि सरकारले चीनबाट खरिद गरेको स्वास्थ्य  सामग्री खरिदमा भएको अनियमितताबारे छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव दिइन्। समिति सदस्य भुसालले कोरोनामहामारी रोकथाम गर्नेभन्दा पनि कताबाट कमिसन आउँछ भन्नेतर्फ ध्यानदिएर जनताको स्वास्थ्यमाथि खेलवाड गरिएको आरोप लगाइन्। ‘कात्रोमाथि कमिसन खाने,मास्क र स्यानिटाइजरमा कमिसन खाने?,’ उनले भनिन्।  

समिति सदस्य जनादर्न शर्माले राजनीतिक क्षेत्र मै भ्रष्टाचार बढी हुने गरेको बताए। ‘जहाँ शक्ति छ त्यहाँ भ्रष्टाचार छ, उनले भने। अख्तियारमा राजनीतिक भागबन्डाका आधारमा नियुक्त हुँदा अनुसन्धानमा समस्या भएको उनको भनाइ थियो। अख्तियारलाई बढीभन्दा बढी स्वतन्त्र निकाय बनाउनुपर्ने उनले बताए।  

समिति सदस्य अमरेशकुमार सिंहले स्थानीय तहमा हुने भ्रष्टाचारमा  अख्तियारलेअनुसन्धान गर्न नसकेको बताए।समिति सदस्य विजय सुब्बाले राजनीतिक दबाब र दलीय भागबण्डाले अख्तियारलाई कमजोर बनाएको बताए। समिति सदस्य यशोदा सुवेदीले नीतिगत रुपमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताइन्। समिति सदस्य प्रेम सुवालले भागबन्डनबाट नियुक्त हुने अख्तियारलाई के गुनासो गरौं भन्दै अख्तियारलाई स्वतन्त्र राख्ननियुक्तिमा राजनीतिक भागवण्डा नगर्न आग्रह गरे।

प्रकाशित: १२ श्रावण २०७७ ०२:०८ सोमबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग आयुक्त नवीन घिमिरे