समाज

मेलम्ची सुरुङ दुर्घटना : गेट डिजाइनमै त्रुटी

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा राखिएका गेटका डिजाइन नै त्रुटीपूर्ण रहेको पाइएको छ। मेलम्ची सुरुङ दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले मजबुत ढंगले गेटको डिजाइन नभएको अन्तिम निष्कर्ष निकालेको हो।  

‘गेटको डिजाइनमै त्रुटी भएको फेला पायौँ,’ छानविन प्राविधिक समितिका संयोजक रमाकान्त दुवाडीले आइतबार नागरिकसँग भने। समितिले छानविन प्रतिवेदनसमेत तयार पारिसकेको उनले जानकारी दिए। समितिले सोमबार खानेपानी मन्त्रालयलाई प्रतिवेदन बुझाउने भएको छ। दुवाडीका अनुसार समितिले आइतबारै मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो। तर ब्याण्डिङ लगायत साजसज्जाको काम साँझ मात्र सकिएकाले समितिले प्रतिवेदन बुझाउन भ्याएन।

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो। तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शब फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन्।  

घटनाकै दिन मन्त्रालयले आयोजनाका पूर्वकार्यकारी उपनिर्देशक रहेका सहसचिव दुवाडीको संयोजकत्वमा छानविन प्राविधिक समिति गठन गरेको थियो। विज्ञसम्मिलित ६ सदस्यीय टोलीले असार ३१ गते बाटै काम थालेको थियो। सुरुङमा बहने पानीको चाप धान्न सक्ने गरी गेटको डिजाइन नभएको प्रतिवेदनमा उल्लेख गरिएको संयोजक दुवाडीले जानकारी दिए।  

‘गेटको डिजाइन नै पुनरावलोकन गर्न मन्त्रालयलाई सुझाव दिएका छौँ,’ उनले भने। नटबोल्ट जडिट गेटले पानीको चाप धान्न सक्ने गरी डिजाइन गर्नुपर्नेमा त्यसो नभएको प्रतिवेदनमा औँल्याइएको छ। बलियो गरी नकस्सिएकाले नटबोल्ट पानीको चापले खुस्किँदा गेट एक्कासी खुलेको समितिको ठहर छ। ‘नटबोल्ट टाइट नगर्नु प्राविधिक कमजोरी भए पनि गेटको डिजाइनमै समस्या पाइयो,’ प्रतिवेदन उद्धृत गर्दै दुवाडीले दोहोर्याजए।

खुलेर दुर्घटना निम्तिएको १७ नम्बर गेटलाई केन्द्रमा राखेर समितिले अनुसन्धान र छानविन अघि बढाएको थियो। साढे २६ किलोमिटर लामो सुरुङमा चार अडिट टनेलमा यस्ता ६ वटा गेट छन्। अम्बाथनमा मात्र तीनवटा गेट छन्। यीमध्येका एक गेट खुलेको हो। बाँकी तीन गेट ग्याल्थुम, सिन्धु र सुन्दरीजल अडिटमा छन्। अडिटका यी गेट थुनेपछि मात्र सुरुङमा पानी बहन सम्भव छ। मर्मत र सरसफाई गर्नु पर्दा अडिटका गेट नै खोलेर मुख्य सुरुङमा प्रवेश गर्ने हो।  

संयोजक दुवाडीले खुलेर दुर्घटना भएको गेटको मात्र अध्ययन गरिएको बताए। उनका अनुसार बाँकी सबै गेटको डिजाइन एकै प्रकृतिको छ। बाँकी गेट र त्यसमा प्रयोग गरिएका नटबोल्टको पुनः प्राविधिक परीक्षण गरेपछि मात्र सुरुङमा पानी प्रवेश (पथान्तरण) गराउन पनि समितिले मन्त्रालयलाई सुझाव दिएको छ। ‘बिस्तृत जानकारी छानविन प्रतिवेदन बुझाएपछि सार्वजनिक हुन्छ,’ प्राविधि समिति संयोजक दुवाडीले भने।  

खुस्किएको अम्बाथानको गेट सबैभन्दा होचो स्थानमा छ। हेडवक्र्स (मुहान) देखि अम्बाथानसम्म सुरुङ ओरालो छ। त्यहाँबाट ग्याल्थुमसम्म उकालो छ। दुबैतिर उकालो भएपछि जमेको पानीको चाप यहीँ बढी थियो। चापले राम्ररी नकस्सिकएको नटबोल्ट स्लिप भएर खुस्केपछि गेट ह्वात्तै खुलेको समितिका सदस्य बताउँछन्।  

सुरुङमार्गको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले गरेको हो। उसले हेडवक्र्सको पनि काम गरिरहेको छ। डिजाइन, निर्माण, जडान कार्यको निगरानी तथा सुपरीवेक्षण इप्टिसा नामक परामर्शदाता कम्पनीले गरिरहेको छ। त्यस्तै गेट निर्माण र जडानको काम भने भारतीय प्रिसिजन इन्फाट्रिक कम्पनीले गरेको हो। परामर्शदाता इप्टिसाले दिएको डिजाइनअनुसार प्रिसिजन इन्फाट्रिकले गेट निर्माण गरेको थियो। निर्मित गेट इप्टिसाले स्वीकृत गरेपछि जडान गरिएको थियो।  

गत असार २१ गते सुरुङमार्गको परीक्षण गर्न पानी प्रवेश गराइएको थियो। परीक्षणको १० दिनमै गेट खुल्दा सबै काम व्यर्थ भयो। सुरुङ परीक्षण गर्न दुई महिना लाग्ने अनुमानसहित पानी पथान्तरण गरिएको थियो। सुरुङ भरिन २० दिन लाग्ने र भरिएको पानीलाई थप १० दिन भित्रै होल्ड गरेर फेरि दुई साता लगाएर सुरुङ खाली गराउँदै परीक्षण पूरा गर्ने आयोजनाको तयारी थियो।  

आयोजनाका अनुसार सुरुङमा प्रतिसेकेण्ड ६ हजार लिटर पानी पठाउन सकिने भए पनि पाँच प्रतिशत मात्र छिराइएको थियो। तर सुरुङको गेटले त्यति पाँच प्रतिशत पानीको चाप पनि थेग्न सकेन। आयोजनाका प्रवक्ता राजेन्द्र पन्त प्रतिवेदन प्राप्त भएपछि सिफारिसका आधारमा पहिला त्रुटी सच्चाउने काम हुने बताउँछन्। ‘प्रतिवेदनले कस्ता त्रुटी सच्याउँन भनेको छ। ती काम गरेपछि मात्र पुनः सुरुङ परीक्षण हुन्छ,’ उनले भने। त्रुटी सच्याउँन समय लागे परीक्षण पछाडि धकेलिने पन्तले बताए।  

 अब आयोजनाले सुरुङमा पानी छिराउने काम सुरुदेखि नै गर्नुपर्ने हुन्छ। यो दुर्घटनाले सुरुङ परीक्षण गर्ने अवधि र मेलम्ची पानी वितरण गर्ने लक्ष्य थप लम्बिएको छ। ढिलोमा असोजभित्र उपत्यकावासीलाई मेलम्ची पानी बितरण गर्ने सरकारको लक्ष्य अझै लम्बिने देखिएको छ।  

 

 

प्रकाशित: ११ श्रावण २०७७ १४:११ आइतबार

मेलम्ची