समाज

च्यासलको स्तरोन्नति मंसिरसम्म

बहुप्रतीक्षित ललितपुरको च्यासलस्थित एन्फा टेक्निकल सेन्टर स्तरोन्नति गर्ने काम यति बेला धमाधम भइरहेको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को लगानीमा निर्माण हुन लागेको मैदान जेठ मसान्तसम्म सक्ने लक्ष्य लिए पनि विश्वभर महामारीको रूपमा लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण आयोजना मंसिरसम्मका लागि लम्बिएको छ। 

उमेरसमूहका खेलदेखि दोस्रो डिभिजनका खेल आयोजना गर्ने लक्ष्यका साथ अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको करिब ४८ रोपनी जग्गाले रंगशालाको रूप फेरिँदै छ। ३० करोड लगानीमा मैदानलाई स्तरोन्नति गरेर अन्तर्राष्ट्रिय स्तरको रंशगाला बनाउने लक्ष्यका साथ अहिले ठेक्काको जिम्मा पाएका तीन कम्पनी डाँफे, प्रेरा र प्रतिष्ठा जेभीले कामलाई धमाधमअगाडि  बढारहेका छन्।

 मैदानलाई १३औं दक्षिण एसियाली खेलकुद (साग) सम्म तयार पार्ने गरी निर्माण थालिए पनि त्यो सम्भव हुन सकेन। असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य भए पनि कोरोनाका कारण सरकारले ६ महिनासम्म म्याद थपिदिने निर्णयसँगै आयोजना पछि धकेलिएको राखेपका इन्जिनियर अरुण उपाध्यायले जानकारी दिए।  

‘मसान्तसम्मको म्याद थियो, लकडाउनले काम हुन सकेन। धेरैजसो काम सकिएको छ,’ राखेपका इन्जिनियर उपाध्यायले भने, ‘फिनिसिङका काम भएकाले अहिले निर्माणको जिम्मा लिएका कम्पनीले निर्माण सम्पन्न गर्न तीव्रता दिएका छन्।’

२०७४ असारबाट सुरु भएको निर्माण कार्यको नयाँ योजनाअनुसार मैदानको पूर्व र दक्षिणतर्फ प्यारापिट बढाइएको छ । पश्चिमपट्टि नयाँ संरचना थपिएको छ भने उत्तरमा खाली छ। जालीको अग्लो पर्खाल  लगाइएको छ। तर त्यस क्षेत्रमा बागमती नदीको किनार भएकाले नदीले कटान गर्ने थालेको छ। नदी कटान रोक्नका लागि उक्त क्षेत्रमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिसँग २ करोड रुपैयाँको माग गरिएको राखेपको प्रशासन विभाग प्रमुख कुलबहादुर रानाभाटले जानकारी दिए।  

‘बर्खायाममा नदीको बहाव बढी हुने भएकाले पर्खाल लगाउन राष्ट्रिय विपत् व्यवस्थापन समितिसमक्ष माग गरिएको छ,’ प्रशासन प्रमुख रानाभाटले भने, ‘च्यासल मैदानको आर्थिक वर्षको काम सम्पन्न भइसकेको छ। करिबकरिब अन्तिम चरणसम्म पगेको छ। नदीको किनारमा पर्खाल सकिएपछि रंगशालाले पूर्णता पाउँछ।’

निर्माण सम्पन्न भएपछि राखेपले रंगशाला व्यवस्थापनका लागि फुटबलको निकाय एन्फालाई प्रदान गर्ने तयारी छ। त्यसपश्चात् एन्फाले एसियाली फुटबल महासंघ (एएफपसी) को आर्थिक सहयोगमा फ्लड लाइट राख्ने तयारी छ। १२ हजार दर्शक अटाउने लक्ष्य राखिएको मैदानमा अहिलेसम्म २७ करोड रुपैयाँ (करसहित) खर्च भइसकेको छ। आयोजना असार मसान्तसम्म सक्नुपर्ने म्याद भए पनि कोरोनाका कारण मंसिरसम्मका लागि सरेको तर भदौ अन्तिम साताभित्र तयारी हुने रंगशालाका प्रोजेक्ट म्यानेजर महेशमंगल जोशीले जानकारी दिए।  

‘९५ प्रतिशतभन्दा बढी काम भएको छ। नयाँ संरचनामा रंगरोगन भइरहेको छ। लक्ष्यभन्दा छिट्टै सक्ने लक्ष्यका साथ मैदानको काम भइरहेको छ,’ रंगशालाका प्रोजेक्ट म्यानेजर जोशीले भने, ‘भदौको अन्तिमतिर राखेपलाई हस्तान्तरण गर्ने लक्ष्य लिएका छौं र सोही अनुसार कामलाई तीव्रता दिएका छौं।’

ग्रासरुटबाट फुटबल विकासका सहयोग पु¥याउने लक्ष्यका साथ मैदान निर्माणका लागि तत्कालीन एन्फा अध्यक्ष गणेश थापाले प्रस्ताव अघि सारेका थिए । आयोजना सम्पन्न भए मैदानले दशरथ रंगशालामा निर्भर हुनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ। साथै घरेलु प्रतियोगिताका लागि एन्फा कम्लेक्स र रंगशालाको मात्र भर पर्नुपर्ने बाध्य पनि हट्नेछ।  १२ हजार दर्शक अटाउने लक्ष्य राखिएको मैदानमा अहिलेसम्म २७ करोड रुपैयाँ (करसहित) खर्च भइसकेको छ।

प्रकाशित: ११ श्रावण २०७७ ०४:३७ आइतबार

च्यासल