समाज

कोरोना संक्रमितको संख्या साढे १८ हजार पुग्यो

शनिबार देशभरका प्रयोगशालामा ४ हजार ७५ नमुना परीक्षण गर्दा एक सय ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ। मन्त्रालयका अनुसार डोटीमा १३, सुर्खेत र सप्तरीमा ११÷११ जना, पर्सामा आठ, कपिलवस्तु र जाजरकोटमा ६÷६ जना र दाङमा पाँचजना, रौतहट, नवलपुर, पाल्पा र डडेलधुरामा ४÷४ जना, बारा, गुल्मी, कालीकोट, दैलेख र बैतडीमा ३÷३ जनामा कोरोना पुष्टि भएको हो।

त्यस्तै काठमाडौं, बाँके, बर्दिया, अछाम र मुगुमा २÷२ जना तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, अछाम, तनहुँ र हुम्लामा १÷१ जना कोरोना संक्रमित थपिएका छन्। त्यस्तै, शनिबार एक सय ६ जना निको भएर डिस्चार्ज भएका छन्। हालसम्म कोरोनामुक्त भएर फर्कनेको संख्या एक हजार तीन सय ५३ रहेको छ। प्रादेशिक तथ्यांकअनुसार प्रदेश नम्बर १ मा सात सय ७५, प्रदेश २ मा दुई हजार आठ सय ९८, वाग्मतीमा चार सय ६८ र गण्डकी प्रदेशमा एक हजार एक सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन्। यस्तै, प्रदेश ५ मा तीन हजार ९ सय, कर्णाली प्रदेशमा एक हजार पाँच सय ८५ जना र सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय दुई जना निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए।

रौतहट, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी संक्रमित उपचाररत छन्। त्यस्तै पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङमा संक्रमित शून्य छन्। शनिबार देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा पाँच हजार तीन सय ८५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। प्रवक्ता डा. गौतमका अनुसार प्रदेश १ मा एक सय ४५, प्रदेश २ मा एक हजार ९ सय ९ र वाग्मती प्रदेशमा चार सय ३४ जना संक्रमित उपचाररत रहेका छन्। यस्तै, गण्डकी प्रदेशमा तीन सय १३, प्रदेश ५ मा तीन सय ४६, कर्णाली प्रदेशमा तीन सय ३८ र सुदूरपश्चिम प्रदेशमा एक हजार ९ सय जना संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित: ११ श्रावण २०७७ ०३:१४ आइतबार

कोरोना संक्रमित