समाज

कोरोनाबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४५ पुग्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बारा स्थायी घर भएकी १७ वर्षीया किशोरीको कोरोनाका कारण मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाराको परवानीपुर ८ की १७ वर्षीया किशोरीको साउन ९ गते शुक्रबार गण्डक कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

बुधबार स्वास्थ्यमा समस्या आएपछि विरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका लागि भर्ना भएकी ती किशोरीको आरडिटी पोेजेटिभ देखिएको थियो । त्यस लगत्तै उनलाई कोभिड अस्पताल रिफर गरिएको थियो । ८ गते स्वाब संकलन गरिएकोमा ९ गते कोरोना पुष्टि भएको थियो । किशोरीमा अक्सिजनको मात्रा कम हुनुका साथै पाखाला लाग्ने, जिउ काप्ने र स्वासप्रश्वासमा समेत समस्या देखिएको प्रवक्ता डा. गौतमले बताए । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।

शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।

आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रकाशित: १० श्रावण २०७७ १०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App