समाज

ताप्लेजुङमा बाढीपहिरोले ८६ लाख बढीको क्षति, २ जना बेपत्ता

ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका वडा नं ८ खोदम्बु क्षेत्रमा झरेको पहिरो । सदरमुकामसहित यहाँको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ । तस्बिर : खगेन्द्र/नागरिक

असार १ गतेदेखि साउन पहिलो सातासम्मको अवधिमा ताप्लेजुङमा बाढी र पहिरोका कारण साढे ८६ लाख बढी मूल्य बराबरको धनमाल नष्ट भएको छ । बाढी र पहिरोमा परी अझै २ जना बेपत्ता छन् भने १२ घर परिवार बिस्थापित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) महेन्द्रकुमार श्रेष्ठका अनुसार सक्रिय मनसुन सुरु भएको अवधि असार १ देखि साउन पहिलो सातासम्ममा ८६ लाख ६३ हजार मूल्य बराबरको धनमाल नष्ट भएको छ । प्रहरीका अनुसार उत्तरी ताप्लेजुङको देउमाटार, मौवाटार टिपताला भञ्ज्याङतर्फ घुम्न जाने क्रममा सिंजेमा खोला तर्ने क्रममा फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ का कालुमान ताप्मादेन र सञ्जबहादुर केदेम लिम्बू बेपत्ता भएका छन् । फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ स्थित इखाबुस्थित रानी आधारभूत विद्यालयको ५ कोठे भवन र फर्निचरसहितका सामान बगाउँदा २८ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।  

यस्तै वर्षासंगै आएको बाढीले फक्ताङ्लुङ गाउँपालिका वडा नं २ स्थित मेथेमखोला जलविद्युत पाईप राख्ने पिलर र ट्याङ्की बगाउँदा ९ लाख ६० हजार रुपैयाँ मूल्य बराबरको क्षति भएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ स्थित इखाबुस्थित भक्तबहादुर लिम्बूको घर र गोठमा पहिरोले ३ लाख मूल्य बराबर क्षति भएको छ । पहिरोले मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका कूलबहादुर लिम्बूको घरमा क्षति गर्दा ७ लाख मूल्य बराबर क्षति भएको बिवरण प्रहरीले संकलन गरेको छ । मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङको लुते खोलामा आएको बाढीले त्यहाँ रहेको पक्की पुल बगाउँदा ८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ लेलेपका लक्ष्मण लिम्बूको घर पहिरोले पुर्दा करिव १२ लाख मूल्य बराबर क्षति भएको प्रहरीले जनाएको छ ।  

यता मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङस्थित हुक्तालुङ खोला माथिको पक्की पुल बाढीले बगाउँदा १२ लाख मूल्य बराबर फक्तालुङ वडा नं ७ ओलाङ्चुङगोलास्थित तमोर नदीमा लगाएको फड्के पुल बगाउँदा ५ लाख मूल्य बराबर क्षति भएको छ । ओलाङ्चुङगोला बस्तीबाट मानिसले जंगल आवतजावत गर्न प्रयोग गर्ने पक्की पूल बगाएपनि प्रहरीले अहिले सम्म त्यसको क्षतिको बिवरण प्राप्त नभएको बताएको छ । पहिरोले मेरिङ्देन गाउँपालिका वडा नं २ का असारसिंह लिम्बूको घर तथा बाख गोठमा भएको क्षति गरेर ५३ हजार र फुङ्लिङ नगरपालिका वडा नं ६ सुकेटार बस्ने छोवाङ्नुपु शेर्पाको घर तथा शौचालयमा पहिरोले क्षति पुर्‍याउँदा ५० हजार मूल्य बराबर क्षति भएको प्रहरीले जानकारी दिएको छ । 

बाढी तथा पहिरोका कारण फक्ताङ्लुङ गाउँपालिका वडा नं ४ ईखाबुका २ घर,मेरिङ्देन वडा नं ६ नाल्बु र वडा नं २ सान्थाक्रामा २–२ र आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका १ घर परिवार बिस्थापित भएका छन् । सिरिजङ्घा गाउँपालिका वडा नं ५ पेदाङका पहिरोको अति जोखिम क्षेत्रमा रहेका ५ घर परिवारलाई भने सुरक्षित स्थानमा सारिएको समेत जिल्ला प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिए ।

प्रकाशित: १० श्रावण २०७७ ०७:२४ शनिबार

बाढीपहिरो सक्रिय मनसुन