समाज

कोरोना संक्रमित बजारमा घुमेपछि सदरमुकाम पूर्णरुपमा बन्द गर्ने निर्णय

बिहिबार विराटनगरमा कोरोना पोजेटिभ पुष्टि भएका एक प्रहरी सुनसरी सदरमुकाम इनरुवा बजार क्षेत्रमा हिडडुल र धेरै मान्छेसँग भेटघाट गरेको खुलेपछि पूर्णरुपमा लकडाउन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय इनरुवामा शुक्रबार भएको सर्वपक्षीय बैठकले इनरुवा बजार क्षेत्रलाई पुर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले समुदायमा थप संक्रमण फैलन नदिन बजार, पसल पुर्णरुपमा बन्द गराउने निर्णय गरिएको बताए ।  

‘संक्रमण फैलिन नदिने यस्तो निर्णय भएको हो । निषेधाज्ञा नै त नभनौं, तर बजार पुर्णरुपमा बन्द हुन्छ,’ सिडिओ पोखरेलले भने, ‘संक्रमित व्यक्ति धेरै ठाउँमा गएको, भेटघाट गरेको पाइएकोले सम्भावित ठाउँहरु खोजी गर्दैछौ, भोलीसम्म के कतिको पिसिआर गर्ने भन्ने खुल्छ ।’

संक्रमित प्रहरी इनरुवा ३ महेन्द्र चोकका हुन् । उनी इनरुवाबाट नै विराटनगर दैनिकरुपमा जानेआउने गर्ने गरेका थिए । उनी इनरुवामा धेरै ठाउँ पुगेको र भेटघाट गरेको खुलेपछि इनरुवा पुर्णरुपमा बन्द गर्ने निर्णय भएको हो । इनरुवा नगरपालिकाका मेयर राजन मेहताले संक्रमित प्रहरीको परिवार र उनी पुगेको विभिन्न पसल, भेटघाट गरेको मानिसहरुसहित ६० जना जतिको पिसिआर टेष्ट गर्नुपर्ने खुलेको छ ।  

प्रहरी र नगर प्रहरीले बजार, पसल, कार्यालयहरु अर्को सुचना नभएसम्मलाई बन्द गराउन माइकिङ गरिरहेको पनि मेयर मेहताले जानकारी दिए । ‘हामी सबै थोक नै बन्द गराउछौं । बजार, पसल, कार्यालय, बैंक सबै नै बन्द हुन्छ,’मेयर मेहताले भने,‘भोली पिसिआर टेष्ट गछौं, र त्यसको रिपोर्ट नआएसम्म हिडडुल गर्न पनि बन्द गराउछौं ।’

प्रकाशित: ९ श्रावण २०७७ १३:३३ शुक्रबार

कोरोना संक्रमित पुर्णरुपमा