समाज

चार दिनभित्र वीरगन्जमा कोरोनाबाट दोस्रो मृत्यु

कोरोना संक्रमणका कारण चार दिनभित्र वीरगन्जमा दुई जना व्यक्तिको मृत्यु भएको छ । शुक्रबार एक जना ८५ वर्षीय बृद्धाको मृत्यु भएको छ भने यसअघि गत मंगलबार एक जना ६० वर्षीय पुरुषको मृत्यु भएको थियो । 

गण्डकस्थित नारायणी अस्थायी कोरोना अस्पतालमा भर्ना रहेकी वीरगन्ज महानगरपालिका– ११ श्रीपुर घर भएकी ८५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको छ । पहिलेदेखि मुटु रोगी रहेकी वृद्ध महिलालाई निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो । शुक्रबार कोरोना अस्पतालमा मृत्यु भएकी बृद्ध महिला वीरगन्जकै एडभान्स मेडिकेयर हस्पिटलबाट बिहीबार रिफर भएर कोरोना अस्पताल आएको कोरोना अस्पतालका डा. निरज सिंहले बताएका छन् ।  

‘मंगलबार एडभान्स मेडिकेयर हस्पिटलमा निमोनिया जाँच गराउन आएकी महिलालाई पहिलेदेखि मुटु रोग पनि थियो,’ डा. सिंहले भने, ‘निमोनिया भएपछि अस्पताल ल्याइएकी ति बृद्ध महिलामा कोरोनाको लक्षण देखिएपछि कोरोना अस्पताल रिफर गरिएको थियो र बुधबार उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।’ कोरोना अस्पतालको सघन कक्षमा उनको उपचार भइरहेको थियो । सोही क्रममा शुक्रबार बिहान पौने ७ बजे उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।  

यसअघि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका लागि भर्ना रहेका वीरगन्ज– ६ माईस्थानका ७० वर्षीय वृद्धको गत मंगलबार मृत्यु भएको थियो । अर्को दिन बुधबार आएको पिसिआर परीक्षण रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएपछि ७० वर्षीय वृद्धको बिहीबार नेपाली सेनाले सदगति गरेको थियो ।

प्रकाशित: ९ श्रावण २०७७ १३:२८ शुक्रबार

कोरोनाबाट मृत्यु