समाज

गोसाइँकुण्ड मेला सञ्चालन नगर्ने निर्णय

धार्मिकस्थल गोसाइँकुण्ड । तस्बिरः हिमनाथ/नागरिक

जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला यो वर्ष सञ्चालन नहुने भएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई मध्यनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको हो ।

गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न सवारी पास लिनुपर्ने, आउँदो भदौ १ गतेबाट मात्र सार्वजनिक सवारी सञ्चालन हुने र सरकारले धार्मिक मेला सञ्चालन नगर्न आग्रह गरेकाले मेला स्थगित गरिएको जानकारी दिएको छ ।

समितिका अध्यक्ष सन्जिव डिएमले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मेला सञ्चालन नगर्ने निर्णय गरिएको बताए । ‘मेला सञ्चालन गरे तापनि तीर्थयात्रीलाई आउन समस्या छ’, उनले भने, ‘रुटमा थर्पुको व्यवस्थापन गर्नका लागि समय पनि छैन ।’ यसले आएका तीर्थयात्रीलाई पनि खान तथा बस्न समस्या हुने उनको भनाइ छ ।

जिल्ला भित्रकै कोही नागरिक गोसाइँकुण्ड मेला भर्न गएमा सामाजिक दूरी कायम गर्नका लागि समितिले आग्रह गरेको छ । जनैपूर्णिमाको दिन घट्टेखोलास्थित मिनिगोसाइँकुण्डमा पनि भीडभाड नगर्न आग्रह गरिएको समितिका अध्यक्ष सन्जिव डिएमले बताए ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ । काठमाडौ–धुन्चे–गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो ।

काठमाडौँबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ । त्यसपछि धुन्चे–चन्दनबारी, चन्दनबारी–लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ । त्यसपछि काठमाडौँ–सुन्दरीजल÷हेलम्बु–ठाडेपाटी मार्गबाट तीर्थयात्री जाने गरेका छन् । धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन् । तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड–गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन ।

कुण्डमा स्नान गरी गोसाइँवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आपूmले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ वर्षेनी हजारौैँ भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशुलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाईन्छ ।  

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् । मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौँ, काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन् । काठमाडौँ उपत्यका नेवार समुदायका धेरै युवायवती जाने गरेका पाइन्छ ।

प्रकाशित: ९ श्रावण २०७७ १३:०७ शुक्रबार

गोसाइँकुण्ड मेला जनैपूर्णिमा