समाज

'हचुवामै लकडाउन हटाइयो'

फाइल तस्बीर

सरकारले मंगलबार राति एक्कासि लकडाउन खोल्ने कदमलाई विज्ञहरूले हचुवाको निर्णय भएको प्रतिक्रिया दिएका छन्। स्वास्थ्य मन्त्रालयले आफैंले पनि उच्च जोखिमकैबीचमा लडकडाउन खोलिएको बुधबारको नियमित बैठकमा संकेत गरेको छ।  

नियमित पे्रस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘जोखिम अझै धेरै छ, विश्वका धेरै देशहरूले यस्तै अवस्थामा  त्रुटि गर्नाले धेरै जनधनको क्षति बेहोर्नुपरेको हामीले देखेका, पढेका र सुनेका छौं। हाम्रो व्यवहार समुचित हुन सकेन भने खुला स्थितिले हामीकहाँ थप जोखिम निम्ताउन सक्छ,’ गौतमले भने।  

राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले सरकारको उच्च तहले लकडाउन खोलेको र यसमा महाशाखाको सुझाव नभएको बताए। मन्त्रालयकै एक अधिकारीले लकडाउन खोल्नेबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा छलफल नभएको जानकारी दिए। ‘यो मन्त्रीस्तरीय निर्णय हो, तर भारतमा कोरोना संक्रमणमा वृद्धि भइरहेका बेला हामी उच्च  जोखिममे छौं,ं’ महाशाखाका प्रमुख डा. वासुदेव पाण्डेले भने।  

लामो समयको लकडाउनले जनजीविकामा परेको असर सामान्य गर्न  लकडाउन खोले पनि यसबाट बच्ने उपाय पालना गरेमा ठूलो बिपत्तिबाट बचिने डा.पाण्डेको सुझाव छ। ‘लकडाउन खुलिसक्यो अबको जिम्मेवारी भनेको हरेक व्यक्ति आफैंको हो, जनस्वास्थ्य नियम पालना गर्नुप¥यो’ उनले भने।  

लकडाउनको मोडेल मात्र परिवर्तन गरेको कोभिड–१९ संकट व्यवस्थापन शाखाका प्रमुख महेन्द्र श्रेष्ठले औंल्याए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गुणस्तर तथा अनुगमन शाखाका प्रम्ुख डा. विकास देवकोटाले सरकारले खोलेको लकडाउनलाई पुरानै अवस्थामा फर्केको भनेर नबुझ्न आग्रह गरे। ‘मैले केही ठाउँमा नजिकै जमघट भएर मास्क खुलै गरेर गफ गरेको देखेँ, यस्तै हो भने महामारीको रूप लिन सक्छ,’ उनले भने। अबका दिनमा भौतिक दूरी कामय गर्न, माक्स लगाउन र भीडमा नबस्ने बानीकै अभ्यासमै रहन आग्रह गरे। यो अवधिमा गृह मन्त्रालयका निकाय र स्थानीय निकायको भूमिका नियम पालना गराउनमा बढी हुने कोभिडमेैत्री उपचारमा अस्पताल केन्द्रित हुनुपर्ने डा. देवकोटाको सुझाव छ।  

राष्ट्रिय इपिडिमालोजी तथा रोग नियन्त्रण महाशाखाका एक अधिकारीले सरकारले व्यवसायीको दबाबमा हचुवाकै भरमा लकडाउन खोलेको आरोप लगाए। सरकारमा भएको ध्रुवीकरणको असर लकडाउन खोल्ने निर्णयमा पनि पुगेको उनले बताए। ‘केपी सरकार अल्पमत परेका कारण व्यवसायीको दबाबमै यो निर्णय भएको देखिन्छ, तर जुन निर्णय भयो, हचुवाको भरमा भयो,’ उनले भने। लकडाउन खुल्नुअघि हुनुपर्ने तयारी अपुग रहेको उनको भनाइ छ।  

ह्याम्स अस्पतालका भाइरोलोजिष्ट डा. अनुप सुवेदीले बिनागृहकार्य खुकुलो लकडाउनमै सबैजसो व्यवसाय खुलेका बेला संक्रमितको छिटो पहिचान गर्ने, छिटो कन्ट्याक्ट टे«सिङको तयारी पूरा नगरी लकडाउन खोलेकोमा आलोचना गरे। ‘युरोपमा जर्मनीले छिटो पहिचान र कन्ट्याक्ट टे«सिङको तयारी पूरा गरेर मात्र लकडाउन खोल्दा सफल भयो,’ उनले भने, ‘यो तयारीबिना लकडाउन खोल्दा पछुताउनुपर्ने हुनसक्छ।’

राष्ट्रिय इपिडिमोलोली तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले पनि भारतमा संक्रमण बढेर लकडाउन कायमै रहेका बेला त्यसको असर नेपालका ठूला  सहरमा पर्नसक्ने भन्दै जोखिम कायमै रहेको अवस्थामा सरकारी तहबाट ठूलो तयारी आवश्यक रहेको बताए। ‘लकडाउन हटाउने क्रममै पालना गर्नुपर्ने अनिवार्य नियम बाध्यकारी बनाएर मात्र हटाउनुपथ्र्यो।  रेष्टुराँमा जाँदा भौतिक दूरीको व्यवस्था व्यवसायीले गर्नुपर्ने, स्थानीय निकाय, सेवा प्रदायक तथा व्यवसायीले अनिवार्य स्यानिटाइजर, साबुनपानीको व्यवस्था गर्नैपर्ने, काठमाडांैजत्तिकै दू्रत गतिमा उपत्यकाबाहिरका दूरदराजमा परीक्षणको पहुँच हुनुपर्ने मरासिनीको सुझाव छ।  

चिनियाँ महिलासहित कोरानाबाट मृत्यु हुने ४२ पुगे        

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारर्थ कोरोना संक्रमित चिनियाँ महिलाको मृत्यु भएको छ। उनको उपचारका क्रममा बुधवार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पोखरामा बस्दै आएकी उनलाई श्वासप्रस्वासमा गाह्रो भएपछि थप उपचारका लागि शुक्रबार ग्राण्डी इन्टरनेसनल अस्पताल काठमाडौंमा ल्याइएको थियो।  

भेन्टिलेटरमा राखेर उपचार गरिएकी उनमा मंगलबार कोरोना पोजिटिभ देखिएपछि देखिएपछि साँझ त्रिवि शिक्षण अस्पताल सारिएको थियो। उपचारका क्रममा मुटुमा समस्या देखिएको जानकारी दिँदै टिचिङ अस्पताल कोभिड–१९ संयोजक डा. सन्तकुमार दासले भने, ‘उहाँमा मुटुको पुरानो समस्या देखिएको थिएन, कोभिड–१९ को असर मुटुमा परेको देखिन्छ।’ चिनियाँ महिलाको निधनसँगै नेपालमा पहिलोपटक विदेशी नागरिकको संक्रमणका कारण निधन भएको छ।  

त्यस्तै, मंगलबार धनुषा जिल्ला जनकपुर नगरपालिकाका ६० वर्षीय एक पुरुषको मृत्यु भएको छ। उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो। उनमा श्वास फेर्न गाह्रो हुने, उच्च ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि साउन २ मा प्रतिष्ठानमा भर्ना  गरिएको थियो। परीक्षण्को क्रममा उनमा कोरोाना पुष्टि भएको थियो। अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममै मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी दुईसहित नेपालमा मृत्यु हुनेको संख्या ४२ पुगेको छ।  

बुधबार थप सय जनामा संक्रमण पुष्टि  

गत चौबिस घण्टामा परिक्षण भएका ३ हजार ७ सय ७०९ जना मध्येमा  १ सय जनामा कोरोना पुष्टि भएको छ। यो सहित नेपालमा कुल संक्रमित संख्या १८ हजार ९४ जना पुगेको छ। तीमध्ये ४२ जनाको मृृत्यु भएको हो। गत चौबिस घण्टामा २ सय ७ जना निको भएका छन्। यीसहित नेपालमा निको हुनेको संख्या १२ हजार ६ सय ८४ अर्थात् ७०.१० प्रतिशत पुगेको छ  भने मृत्यु हुनेको दर  ०.२३ प्रतिशत हो। 

प्रकाशित: ८ श्रावण २०७७ ०४:३० बिहीबार

लकडाउन