समाज

प्रदेश २ मा कोरोनाले लियो सात जनाको ज्यान

समुदायमै संक्रमण फैलिएपछि अनिश्चितकालिन निषेधाज्ञा

लकडाउनका कारण बन्द राजविराजका बजार । तस्बिरःमिथिलेश/नागरिक

कोरोना भाइरस(कोभिड–१९) संक्रमणबाट महोत्तरी गाउँपालिका–३ मडही गाउँका ६४ वर्षीय पुरुषको मंगलबार राती उपचारको क्रममा मृत्यु भएको छ । रुघाखोकी र स्वासप्रश्वासमा समस्या भएपछि बिहीबार उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएका उनको प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको हो ।

रुघाखोकीले सताएपछि उनी असार २५ गते गाउँबाट टेम्पो चढेर जनकपुरस्थित डा. विजय सिंहसँग उपचार गराएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै महोत्तरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्रप्रसाद यादवले बताए । औषधि लिएर घर फर्केका उनी औषधि खाँदा पनि बिरामी बिसेक नभएपछि साउन १ गते धरान गएका थिए । छोरा र भतिजोसँग धारान पुगेका उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ पुष्टि भएको थियो । निमोनीयाका कारण स्वास फेर्न गाह्रो भएपछि उपचारमा संलग्न चिकित्सकहरुले उनको स्वब परीक्षण गरेका थिए ।

सोमबारदेखि कोभिड अस्पताल धरानको आइसियू वार्डमा उनको भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको कोभिड अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले बताए । डा. सिंहका अनुसार जनकपुरकै निजी क्लिनिकमा उपचार गराएर निको नभएपछि उनी धरान गएको बुझिएको छ । उनले भने,‘बिरामी हाम्रो सम्पर्कमा आउनु भएको थिएन ।’  

मृतकका छोराको भनाईमा उनी खेतमा काम गर्ने क्रममा झरीमा रुझेपछि रुघाखोकी सुरु भएको थियो । पहिला गाउँकै स्वास्थ्यकर्मीसँग औषधि लिएर खाए । निको नभएपछि जनकपुरमा औषधोपचार गराएका थिए । त्यहाँ पनि बिरामी बिसेक नभएपछि धरान लग्दा उपचारकै क्रममा मृत्यु भएको उनका छोराले बताए ।  

स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार मृतका श्रीमती र दुई जना छोरा, टेम्पो चालक, गाउँका औषधि पसलेसहित ३६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गरिँदै छ । मृतक गाउँबाहिर कतै नगएको परिवारजनको दाबी छ  । ‘गाउँलेहरुका अनुसार मृतक केहि दिनअघि मात्र भारत विहारमा आफन्तको बिवाह समारोहमा सहभागी भएर फर्केको बताउँछन’ यादवले भने,‘गाउँलेहरु एकस्वारले भनेको कुरा परिवारका सदस्य अस्विकार गर्दै आएका छन । यात्रा इतिहास कतै नभएर संक्रमित भएपछि त गाउँमा संक्रमण फैलिएको हुनुपर्छ उनले भने,‘गाउँका अरु कसैमा संक्रमण पुष्टि भएको छैन । मृतक परिवारले यात्रा इतिहास लुकाईरहेको प्रष्ट छ ।’  

बुधबार नेपाली सेनाले महोत्तरीको जलेश्वर–१ स्थित रातु खोलानजिक शव व्यवास्थापन गरेका छन । मृतकको परिवारलाई होम क्वारेन्टिन गरीसकिएको यादवले बताए । योसँगै प्रदेश २ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।  

अनिश्चितकालिन निषेधाज्ञा
सरकारले घोषणा गरेको लकडाउन सकिएपछि सप्तरीको राजविराजमा बुद्यबारबाट पूर्ण लकडाउन गरिएको छ । समुदायस्तरमै कोरोना संक्रमण पुष्टि भएपछि राजबिराज नगरपालिकामा पूर्ण लकडाउन गरिएको छ । शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएका राजबिराज ६ का व्यपारीको कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा परिवारका सदस्य तथा स्थानीयमा पनि संक्रमण देखिएको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले बताए । एक जनाको लापरबाहीका कारण समुदाय नै कोरोना संक्रमणको चपेटमा परेको छ उनले भने,‘पारिबाट संक्रमण बोकेर आएका क्वारेन्टिनमा नबस्दा परिवार र समुदायमा संक्रमण फैलाए ।’

यता, जिल्ला प्रशासन कार्यालय सप्तरीले बिहीबार बिहान ५ बजेदेखि अर्को आदेश नहुँदासम्मका लागि राजविराज नगरपालिका क्षेत्रभित्र निषेधाज्ञा आदेश जारी गरेको छ । नगरमा एक जनाको मृत्यु र चार सय ४ जनामा संक्रमण देखिएकोले संक्रमण अझ फैलिन नदिन संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी अतिआवश्वयक बाहेक अन्य सेवा स्थल हिँडडुल नगर्न नगराउन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यद्वारा जारी आदेशपत्रमा उल्लेख छ ।

व्यापारीको मृत्यु भएको भोलिपल्ट उनको परिवारका सबै ५ जना सदस्यमा कोरोना संक्रमण पुष्टि भएको थियो । पर्सिपल्ट उनको पसलमा काम गर्ने दुईजना कामदारमा पनि संक्रमण पुष्टि भएको थियो । बुद्यबार साँझसम्म मृतक पाँच जना मृतकका परिवार र १७ जना समुदायका मानिसमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख दुनीयालाल यादवले बताए ।  

अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मी, सफाईकर्मी, बैंककर्मीदेखि समुदायका अन्य धेरै मानिस संक्रमित भेटिएका छन । सनराइज बैंकको राजविराज शाखामा कार्यरत एक जना कर्मचारीमा समेत संक्रमण पुष्टि भएपछि बैंक सिल गरिएको उनले बताए । बुधबार गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका कर्मचारीसहित एक सय ७० जनाको स्वाब संकलन गरि परीक्षणका लागि पठाइएको छ ।

मृतकको सम्पर्कमा आएका तीन सय ६० जनाको स्वाब संकलन गरीसकिएको छ । समुदायमै संक्रमण फैलिसकेकोले चार जनाको कन्ट्याक्ट सर्बे टोली परिचालन गरी संक्रमितहरुको पहिचान कार्य तीब्र पारिएको स्वास्थ्य प्रमुख यादवले बताए ।

गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रण्जितकुमार झाकाअनुसार संक्रमण पुष्टि भएका अस्पताल कर्मचारीहरु अस्पतालको आकस्मिक कक्ष, जेनरल वार्ड र पोषण गृहमा काम गरेकाले ती स्थानहरुमा जानआउनमा रोक लगाइएको छ । ‘तत्काल नयाँ बिरामी भर्ना लिन सक्ने अवस्था रहेन,’ डा. झाले भने,‘पुराना भर्ना भएका बिरामीहरु निको भएपनि पीसीआर परीक्षण पछि मात्र डिस्चार्ज गरी घर पठाइने छ ।’

प्रकाशित: ७ श्रावण २०७७ १३:२६ बुधबार

कोरोनाभाइरस प्रदेश २ अनिश्चितकालिन निषेधाज्ञा