समाज

बाढीपहिरोले भत्काएको मौवाखोला पुल मर्मत सुरु

पृथ्वीराजमार्गको मौवाखोला स्थित पुल र सडक भत्किएको ठाउँमा मर्मत कार्य गरिदै । तस्बिर : सरिता /नागरिक

अविरल बर्षासँगै आएको बाढीपहिरोले भत्काएको पृथ्वीराजमार्गस्थित मौवाखोलाको पुलको मर्मत कार्य सुरु गरिएको छ। बाढीले सडक कटान गरेर क्षतिग्रस्त भएको पृथ्वीराजमार्ग अन्तरगत धादिङ र चितवनको सिमानामा रहेको मौवाखोला पुलको मर्मत बुधबारदेखि सुरु गरिएको हो। बर्षा हुन रोकिएसँगै मर्मतको कार्य गरिएको सडक विभागका महानिर्देशक केशव शर्माले बताए। ‘पानीको बहाव कम भएपछि बुधवार विहानबाट खोलाको पानीलाई डाइभर्सन बनाएर पुनः पुल मुनीबाटै बगाइ निर्माण कार्य सुरु गरिएको हो’ उनले भने, ‘पूर्ण रुपमा सवारी आवागमन हुन अझै तीन दिन लाग्न सक्छ।’  

अविरल वर्षापछि आएको बाढीले गत सोमबार पुलको धादिङतर्फको एप्रोच रोड (पुल र सडक जोड्ने भाग) करिव ५ मिटर भत्किएको थियो। पुल भत्किएपछि राजधानीबाट पृथ्वी राजमार्ग हुँदै पूर्वपश्चिम आवागमन ठप्प भएको छ  भने काठमाडौंतर्फ जाने सयौं सवारी साधन मौवाखोलाबाट नै फर्किएका छन्। बाढीपहिरोले पुलसँगै स्थानीयका घर, टहरा, अस्थायी प्रहरी चौकी र सवारीसाधनमा क्षति पु¥याएको छ।  

मौसमले साथ दिएको खण्डमा विहीबारदेखि काम तीव्र गतिमा अघि बढ्ने र शुक्रवार साँझसम्ममा सवारी साधनको आवागमन सुचारु गराउने योजनाका साथ काम सुरु गरिएको महानिर्देशक शर्माले बताए। ‘अहिले हाम्रो उद्देश्य छिटो भन्दा छिटो सवारी आवागमन सुचारु गराउनु रहेकाले तत्काल सवारी साधन गुड्न मिल्ने गरि काम गरिरहेको छौँ, उनले भने, ‘भविष्यमा पनि क्षति नपुगोस भन्नका लागि राजमार्ग सुचारु गराएपछि यसलाई दिगो ब्यवस्थापनका काम सुरु गर्नेछौँ।’

राजधानी भित्रिने नाका नै ठप्प हुने गरि पुल भत्काएपछि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको सचिव देवेन्द्र कार्की, प्रधानमन्त्रीका विकास ब्यवस्थापन विज्ञ गजेन्द्र थपिलया, सडक विभागका महानिर्देशक केशव कार्की र उक्त क्षेत्रका साँसद भुमी त्रिपाठी सहितको टोलीले पुलको स्थलगत निरिक्षण गरेका थिए। स्थलगत निरिक्षणपछि तत्कालको समस्या समाधानका लागि ग्याविन जाली भरेर मर्मतको कार्य सुरु गरिएको हो।  

यसैबीच पृथ्वीराजमार्गको गल्छी देखि मौवाखोला सम्म ५० भन्दा बढी ठाउँमा खसेको पहिरो पन्छाई राजमार्ग एकतर्फि रुपमा सुचाइ गराइएको छ। ७ भन्दा बढी ठाउँमा ठुला ठुला चट्टान सहितका पहिरो राजमार्गमा थुप्रिएका कारण डोजर लगाएर हटाउने काम सुरु भएको छ। बिहीबार साँझसम्ममा राजमार्ग दुइतर्फ संचालनमा ल्याइने जिल्ला ट्राफिक प्रहरी कार्यलय धादिङका प्रमुख नेत्र प्रसाद भट्टले बताए।

केही ठाउँको पहिरोका कारण वीच मै रोकिएका मालबाहक ठुला सवारी साधनहरु भने अलपत्र परेका छन्। मौवा खोलाबाट सवारी पार हुने बेलासम्ममा राजमार्ग दुइतर्फी नै संचालन गर्ने उद्देश्यका साथ पहिरो पन्छाउने काम भइरहेको प्रमुख भट्टले बताए। ठाउँठाउँमा ठुला ठुला चट्टान सहितका पहिरो राजमार्गमा थुप्रिएका छन्, उनले भने, ‘सबै ठाउँमा खसेको पहिरोमा सम्वन्धित स्थानीय तहको पहलमा निजी तथा सरकारी डोजरहरुको प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ।’

प्रकाशित: ७ श्रावण २०७७ १३:०३ बुधबार

बाढीपहिरो