समाज

न्यून चापीय रेखा केही टाढा भयो, आजदेखि वर्षा घट्ने

फाइल तस्बिर : काठमाडौं उपत्यकाको मौसम

मनसुनको न्यून चापीय रेखाको पश्चिमी भाग नेपालबाट दक्षिण सरेको मौसमविद्ले बताएका छन् । जसका कारण आज बुधबारदेखि वर्षाको मात्रा केही घट्ने देखिएको छ ।  

मौसमविद्का अनुसार उक्त रेखा नजिक हुँदा वर्षा हुने क्रम बढ्छ भने टाढा हुँदा घट्छ । आज बिहान काठमाडौं उपत्यकालगायत देशका कतिपय स्थानमा घाम लागेको छ ।  

तर न्यून चापीय रेखाको पूर्वीतर्फको भाग अझै नेपाल नजिकै छ । यसैले पश्चिमको तुलनामा पूर्वतर्फ अलि बढी वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् ।  

महाशाखाले बुधबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आगामी

तीन दिन पश्चिमका कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छैन ।  

तर पूर्वका प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशका एक वा दुई स्थानमा आज दिउँसो भारी वर्षा हुने सम्भावना छ । साथै देशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा हुने अनुमान गरिएको छ ।  

यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही  केही स्थानमा  हल्कादेखि मध्यमसम्म र वर्षा हुने मौसविद्ले अनुमान गरेका छन् । साथै प्रदेश १, बागमती,  गण्डकी  प्रदेशका थोरै  स्थानमा  भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । 

तर पहिलेकै वर्षाले जमिन गलिसकेकाले सामान्य वर्षा हुँदा पनि बाढी तथा पहिराेकाे जाेखिम हुने माैसमविद्ले बताएका छन्।  

प्रकाशित: ७ श्रावण २०७७ ०७:०८ बुधबार

न्यून चापीय रेखा वर्षा