समाज

बाढीपहिरोले यातायात ठप्प

पर्वत–बागलुङखण्डमा राजमार्गमा खसेको बढेमानको ढुंगा। तस्बिरः नागरिक

अविरल वर्षाका कारण गण्डकी प्रदेशभित्रका मुख्यसहितका राजमार्गमा व्यापक क्षति पुगेको छ। प्रदेश भित्रिने मुख्य पृथ्वी राजमार्गका ठाउँ–ठाउँमा पहिरो झरेर सडक अवरुद्ध भएको छ। कालोपत्रे गरिएको सडक समेत पहिरोले बगाएको छ। त्यसबाहेक विभिन्न जिल्लालाई स्थलमार्गले जोड्ने सडकमा पनि पहिरोले क्षति गरेको छ। मुख्य राजमार्ग अवरुद्ध हुँदा अत्यावश्यक कामले यात्रामा निस्केका यात्रु बीचबाटोमै अलपत्र परेका छन्।  

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउका कारण हवाइमार्ग रोकिएको बेला अत्यावश्यक कामले स्थलमार्ग प्रयोग गरेका यात्रु सडक अवरुद्ध हुँदा थप समस्यामा परेका छन्। पोखराबाट चितवन हिडेका पर्यटन व्यावसायी सुमन घिमिरेले पहिरोका कारण बीचबाटोमै रोकिनु परेको बताए। पहिरोले मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा बीच बाटोमा नै रोकिएको उनको भनाइ छ। लकडाउनका कारण सार्वजनिक गाडी सञ्चालन भएका छैनन। तर अत्यावश्यक कामले सर्वसाधारण विशेष अनुमति लिएर हिडडुल गर्न पाएपनि सडकमा पहिरो आउँदा गन्तव्यमा पुग्न पाएका छैनन्।  

हवाइमार्ग सुचारु नहुनु र स्थलमार्गमा ठाउँठाउँमा पहिरो झर्दा सबैभन्दा बढी अप्ठेरो बिरामीलाई परेको छ। सडक खुलाउने प्रयास भइरहेपनि निरन्तर वर्षाका कारण असहज भएको स्थानीय प्रशासनले बताएको छ। पहिरोकै कारण कतिपय जिल्लासँगको सडक सम्पर्क टुटेको छ। गण्डकी प्रदेशलाई राजधानी जोड्ने एकमात्र पृथ्वी राजमार्गको तनहुँ खण्डमा मात्र ४ ठाउँमा पहिरो गएको प्रहरीले बताएको छ। पृथ्वी राजमार्गको तनहुँस्थित आँबुखैरनी गाउँपालिका र बन्दीपुर गाउँपालिकाका दुई–दुई ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेको तनहुँका डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिए। अन्य स्थानको पहिरो पन्छाउने काम भएपनि नहालामा सडक भासिएको कारण तत्कालै बनाउन असहज छ उनको भनाइ छ। नाहालामा १० मिटर कालोपत्रे सडक नै पहिरोले बगाएको डिएसपी तिमिल्सिनाले जनाए।  

त्यसठाउँमा डाइभर्सन बनाएर सडक खुलाउने प्रयास भइरहेको छ। त्यस्तै डुम्रेबाट लम्जुङको बेसीसहर जाने सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। डुम्रे–बेसीसहर सडक खुलाउन समय लाग्ने उनले बताए। तनहुँको आँबुखैरेनीबाट गोरखा जाने सडक पनि ठाउँठाउँमा अवरुद्ध छ।  

आँबुखैरेनी–गोरखा २४ किलोमिटर छ। ११ किलोमा सडक नै भासिएकोले तत्काल बन्ने अवस्था नरहेको प्रहरीले बताएको छ। मझुवा र सातकिलोमा एकतर्फी सडक खुलाइएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बासुदेव खतिवडाका अनुसार पहिरो पन्छाउने तयारी भइरहेको छ। पहिरोले पोखरा–बागलुङ सडक पनि अवरुद्ध भएको छ। पर्वतका प्रहरी प्रमुख डिएसपी विश्वराज अधिकारीकाअनुसार पर्वतको नयाँपुलमा बढेमानको ढुंगा सडकमा खसेको छ। ढुंगा खसेपनि सडक एकतर्फी संचालन भएको डिएसपी अधिकारीले बताए।  

मुस्ताङ जाने एकमात्र सडक पनि अवरुद्ध छ। मुस्ताङका ४८ घर परिवार विस्थापित भएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश अर्यालकाअनुसार थासाङ गाउँपालिका–२ कोवाङका १० परिवार विस्थापित भएका छन्। त्यसतै थासाङ –४ घाँसामा पनि ३८ घर विस्थापित भएका छन्। विस्थापित सबै ४८ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उनले बताए। त्यस्तै बेनी–जोमसोम सडकको विभिन्न ठाउँमा पहिरो झरेको छ। पहिरोले सडक अवरुद्ध हुँदा तत्काल सडक सुचारु हुने अवस्था नरहेको उनले बताए। प्रजिअ अधिकारीकाअनुसार बेनी–जोमसोमको कोवाङ र बोक्सेखोलामा पहिरो झरेको छ।  

उत्तरी म्याग्दीमा विद्युत् सेवा बन्द
लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहावले विद्युत् सेवामा क्षती पुगेको छ। बेनी नगरपालिका–९ गलेश्वर सहित रघुगंगा, अन्नपूर्ण गाउँपालिकामा विद्युत् सेवा बन्द भएको विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रले जनाएको छ। सोमबार कालिगण्डकीमा पानीको बाहब बढेपछि पर्वतको जलजला गाउँपालिका–२ राम मन्दिरका साथै उत्तरी क्षेत्रका विभिन्न स्थानमा असर गरेको छ।  

यसैबीच तातोपानी जलविद्युत् केन्द्रको टेलरेसलगायत एक सय केभीको ट्रान्सर्फमर बगाएको छ। बिजुली वितरणको पोल बगाएसँगै विद्युत् उत्पादन र वितरण बन्द भएको छ। पानी बस्तीमा समेत पस्न थालेपछि स्थानीयहरु घर छाडेर सुरक्षित स्थानतर्फ लागेका छन्। अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नम्बर ४ नारच्याङको गार्डपाक जोड्ने झोलुंगे पुल, सुकेबगर र घराप जोड्ने अर्को पुल, दानाको लाटाखोलामा स्थानीय रमेश बुढाथोकीको एक तले घर बगाएको छ।

प्रकाशित: ७ श्रावण २०७७ ०२:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App